समाचार कक्षमा प्रहरी हस्तक्षेप बन्द गर : कांग्रेस

हिमाल प्रेस १३ कार्तिक २०८३ २१:१३ | Friday, October 30, 2026
4
SHARES
समाचार कक्षमा प्रहरी हस्तक्षेप बन्द गर : कांग्रेस कांग्रेस सभापति गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसले समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै सञ्चारगृहमा हुने प्रहरी हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र ‘ह्यारेसमेन्ट’ गर्ने कार्य बन्द गर्न सरकारलाई चेतावनी दिएको हो।

‘जनदबाबपछि रिहाइ गर्ने होइन, कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार!’ विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्ति गम्भीर आपत्तिको विषय हो।’

समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको कांग्रेसको टिप्पणी छ। विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै कांग्रेसले त्यस्तै प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ।

‘आज पुनः तिनै विगतका निरङ्कुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखद् र चिन्ताजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा आफू स्थापनाकालदेखि नै संघर्षरत रहेको उल्लेख गर्दै कांग्रेसले सञ्चारमाध्यम र पत्रकारमाथि हुने निरङ्कुश तथा स्वेच्छाचारी कदमको प्रतिवाद गर्ने जनाएको छ।

कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत संयन्त्र हुँदाहुँदै ती प्रक्रियालाई बेवास्ता गरेर सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मान्यताविपरीत भएको कांग्रेसको ठहर छ।

‘यो कानुनको शासन (रुल अफ ल) लाई लत्याएर कानुनलाई नै शासनको औजार बनाउने प्रवृत्ति (रुल बाई ल) तर्फ उन्मुख हुनु हो,’ कांग्रेसले भनेको छ।

कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ २१:१३ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast