काठमाडौँ– प्रतिष्ठित सञ्चार गृहभित्र छिरेर प्रहरीले पत्रकार पक्राउ गरेको कार्यलाई प्रतिपक्षी दल नेकपा एमालेले अत्यन्तै निन्दनीय र लोकतान्त्रिक मान्यताविपरीत भएको बताएको छ।
नेकपा एमालेले सञ्चारकर्मीहरूमाथिको धरपकड निन्दनीय कार्य भएको बताएको छ ।
शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको र लिने प्रयास गरेको सन्दर्भमा एमालेले यस्तो जनाएको हो ।
“सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो,” एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको एमालेले जनाएको छ । स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको एमालेले जनाएको छ ।
“राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो,” एमालेले भनेको छ, “कानुनको शासनको नाममा कानुनको उल्लंघन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन ।”



