काठमाडौँ– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत आपत्कालीन सञ्चार सेवा निरन्तर राख्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटलाइटमा आधारित उपकरण जडान गर्न थालेको हो।
एनसेलले उद्धार, राहत तथा पुनर्स्थापनामा संलग्न सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका आवश्यक तथा महत्त्वपूर्ण स्थानमा उपकरण जडान गरिरहेको जनाएको छ।
बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर तथा राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्य भइरहेका स्थानमा उक्त प्रविधिमार्फत हाल निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। बाढी प्रभावित अन्य स्थानमा समेत उपकरण जडान गर्ने काम जारी रहेको एनसेलले जनाएको छ।
स्याटलाइट प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ। त्यसपछि उक्त उपकरणमार्फत वरपरका क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराइन्छ। सामान्य इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध भएको अवस्थामा समेत यस प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ।
एनसेलका अनुसार स्याटलाइटमार्फत उपलब्ध हुने इन्टरनेट उच्च गति तथा कम विलम्बता (लो लेटेन्सी) को हुने भएकाले सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, महत्त्वपूर्ण सूचना प्राप्त गर्न, ब्राउजिङ तथा राहत तथा उद्धार कार्यको समन्वयमा प्रयोग गर्न सकिनेछ।
यस सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको एनसेलले जनाएको छ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक तथा सञ्चार पूर्वाधारमा गम्भीर क्षति पुगेका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए।
‘यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई कठिन अवस्थामा पनि सम्पर्कमा रहन मद्दत गर्नेछ,’ श्रेष्ठले भने।
यसअघि बाढी प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकलाई एनसेलले पहिलो दिनदेखि नै दैनिक निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको कम्पनीले जनाएको छ।
सडक अवरुद्ध तथा फाइबरलगायत सञ्चार पूर्वाधारमा क्षति पुग्दा प्रभावित क्षेत्रमा सम्पर्क तथा सूचनाको आदानप्रदान कठिन हुने भएकाले आपत्कालीन अवस्थामा स्याटलाइटमार्फत उपलब्ध गराइएको इन्टरनेट सेवा उद्धार, राहत र प्रभावित समुदायबीच सम्पर्क कायम राख्न उपयोगी हुने देखिएको छ।


