लक्ष्यअनुसार राजस्व नउठेपछि कर्मचारीहरूसँग अर्थमन्त्रीको छलफल

हिमाल प्रेस २० असार २०८० १६:४७
4
SHARES
लक्ष्यअनुसार राजस्व नउठेपछि कर्मचारीहरूसँग अर्थमन्त्रीको छलफल

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभागअन्तर्गत कार्यालयका कर्मचारीहरूलाई मन्त्री महतले उक्त निर्देशन दिएका हुन्। ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला,’ मन्त्री महतले भने, ‘यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ।’

सेवाग्राहीमाझ सहज रूपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न मन्त्री महतले निर्देशन दिए। ‘व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्,’ मन्त्री महतले भने, ‘राम्रो काम गर्ने साथीहरूलाई धन्यवाद दिन चाहन्छु।’

अर्थ मन्त्रालयको ठूलो काम नै स्रोत जुटाउने रहेको भन्दै अर्थमन्त्री महतले राज्यको सम्पूर्ण आवश्यकता सम्बोधन गर्ने जिम्मेवारी आफूहरू सबैका रहेको बताए।

अहिले लक्ष्यअनुसार राजस्व नउठेको भन्दै मन्त्री महतले राजस्वको हिस्सा बढाउनुपर्ने बताए। ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकता राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ,’ मन्त्री महतले भने, ‘यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ।’

भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा अर्थ मन्त्रालयले गम्भीर ध्यान दिनुपरेको मन्त्री महतको भनाइ थियो। सेवाग्राहीले राज्यलाई तिर्नुपर्ने रकम दुरुपयोग भइरहेको भन्दै मन्त्री महतले यो विषय गम्भीर रहेको बताए।

चालु आवमा अझै पाँच खर्ब राजस्व अपुग

प्रकाशित: २० असार २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =