‘गाउँ आएको बाटो’ टिजर : माेटर आएपछि फेरिएकाे माइला र माइलीकाे जीवन

हिमाल प्रेस २४ वैशाख २०८१ १७:०६
86
SHARES
‘गाउँ आएको बाटो’ टिजर : माेटर आएपछि फेरिएकाे माइला र माइलीकाे जीवन

काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक भएको छ। काठमाडौँको बिग मुभिजमा कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो।

दुई मिनेट दुई सेकेन्डको टिजरमा परम्परागत मानवीय जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्षको कथा देखाइएको छ। आगामी जेठ २५ गते प्रदर्शन हुने फिल्मका निर्देशक नवीन सुब्बा हुन्। फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई मुख्य भूमिकामा छन्।

फिल्ममा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोका, डालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनकाे कथा भन्न खाेजिएकाे छ। फिल्ममा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएकाे छ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्मले गाडीसँगै गाउँमा धेरै कुरा आएको र त्यसैले गाउँबाट धेरै कुरा लगेको बताए । ‘गाउँमा बाटो आयो, बाटोसँगै गाडी आयो। त्यसले गाउँबाट धेरै कुरा लग्यो होला भन्ने लाग्छ,’ उनले भने, ‘यही कुरा नै यो फिल्मको कथाले भन्ने प्रयास गरेको छ। गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन फिल्मले भन्नेछ।’

उनले विश्वका धेरै महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको फिल्मले अब स्वदेशी दर्शकको पनि माया पाउनेमा अपेक्षा र विश्वास रहेको बताए। ‘हामीले विश्वभरका दर्शकको माया पाइसकेका छौँ। अब हाम्रा नेपाली दर्शकको पनि त्यस्तै माया पाउने आशा छ,’ उनले भने।

निर्देशक नवीन सुब्बाले दयाहाङले भनेजस्तै फिल्मले गाउँमा सडक पुगेपछिको कथा भन्ने बताए। उनले बाउ र छोराको आत्मीय सम्बन्धको कथा भन्ने बताए। ‘यो कथा मलाई सुनाउन बित्तिकै मैले मेरो बुवालाई सम्झिएँ। त्यसपछि यो फिल्म निर्माण प्रक्रिया अगाडि बड्यो,’ उनले भने, ‘छोरोछोरी हुर्काउन बा ले गरेको संघर्ष नै फिल्मको कथा हो। कति दुःख कष्ट गरेर बुवाआमाले सन्तान हुर्काएका हुन्छन् भन्ने फिल्मले देखाउने प्रयास गरेको छ।’

निर्माता आमोद राईले इन्टरनेसनल फेस्टिभलमा जस्तै नेपालमा पनि माया पाउनेमा ढुक्क रहेको बताए। ‘हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ। हामीले यो फिल्म मार्फत् नेपालको कथा विश्वभर सुनायौँ, दर्शकले पनि मन पराइदिनुभयो,’ उनले भने, ‘यसैगरी हाम्रा दर्शकले पनि मन पराइदिनुहुन्छ भन्ने आशा राखेका छौँ।’

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन्। फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको छ। फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।

फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन्।

यस्ताे छ टिजर

प्रकाशित: २४ वैशाख २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =