लुम्बिनी प्रदेश : एमालेकाे अवराेधकै बीच बजेटमाथिकाे छलफल प्रस्ताव पेस

विनोद परियार १७ असार २०८० १७:३३
6
SHARES
लुम्बिनी प्रदेश : एमालेकाे अवराेधकै बीच बजेटमाथिकाे छलफल प्रस्ताव पेस

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल प्रस्ताव विपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रदेशसभामा पेस भएको छ।

आइतबार बसेकाे प्रदेश सभाको बैठकमा सभामुखको अनुमतिले अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरेका हुन्।।

अर्थमन्त्री मास्की बोल्दै गर्दा एमालेका प्रदेश सभा सदस्यहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए। प्रस्तावपछि अहिले बैठक स्थगित गरिएको छ।

एमालेकाे अवरोधका कारण सभामुख तुलाराम घर्तीले बैठक साेमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। यसअघि आज दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक एमालेकै कारण छलफलका लागि भन्दै ढिला बसेकाे थियाे।

विपक्षी एमालेले प्रदेश सरकारले मन्त्रालय मातहतमा रहेका निर्देशनालयहरू खारेज गरेर मन्त्रालयमा केन्द्रिकृत गर्ने निर्णय सच्चाउनुपर्ने, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौतीबारे स्पष्ट जानकारी दिनुपर्ने, मुख्यमन्त्री कार्यालयमा राखिएको २ अर्ब बजेटको स्पष्टीकण दिनुपर्ने माग राखेको छ।

अर्थमन्त्री धनबहादुर मास्केले आर्थिक वर्ष ०८०/०८१का लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए। बजेट ल्याएको दुई साता नाघिसक्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन।

असार १३ गतेका लागि बाेलाइएकाे बैठक पनि एमालेकाे अवरोधका कारण स्थगित भएको थियो। बजेटको विषयमा असहमति जनाउँदै एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: १७ असार २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =