स्याङ्जाको याे गाउँ : जहाँ पिउने पानी खोज्दै हिँड्नुपर्छ

हिमाल प्रेस २७ जेठ २०८० १४:५२
2
SHARE
स्याङ्जाको याे गाउँ : जहाँ पिउने पानी खोज्दै हिँड्नुपर्छ फाइल तस्बिर।

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका-३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दैनिक दुई घण्टा बिताउने गरेका छन्। गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्छ।

यहाँका अधिकांश स्थानीयले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन्। भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानी भर्ने चाँजोपाँचजोमै बित्छ। बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दिनदिनै दुईदेखि साढे दुई घण्टा पिउने पानीको खोजीमा बिताउँछन्। ‘बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुख छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ,’ स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भने।

स्थानीयले पानीको व्यवस्था गरिदिन स्थानीय सरकारलाई खुब गुहारेको पनि उनले बताए। ‘पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्‍यौँ,’ उनले भने, ‘तर व्यवस्था गरिदिएन। अहिले पिउने पानी डोकोमा नबोकी पिउनै पाइँदैन।’

उनले हिउँदको समय पानी खोज्न दुईदेखि अढाई घण्टासम्म लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाए। ‘स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्,’ उनले भने।

स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो गरिन्। ‘पानी बोकेरै जीवन बिताउनुपर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला?’ उनले प्रश्न गरिन्। खानेपानीमा सधैँ सास्ती खेप्नुपरेको उनको भनाइ छ।

स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले जनावरलाई खुवाउन सहज बनाए पनि मानिसका लागि पिउनयोग्य नरहेको बताए। ‘मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, ९ घरको एकमात्रै धारा छ,’ उनले भने, ‘वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ।’

मान्केखोलाको पानी आएको प्रशस्त नभएको र कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनइाएका उनले जानकारी दिए। कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने उनले आशा गरे। तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लिलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पाली डाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको बताए। अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उनले दाबी गरे।

गल्याङ-३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भए कोसेढुंगाको पानी लिफ्टिङ गरेर पाल्पाली डाँडामा ल्याउने योजना रहेको बताए। केही महिनाभित्रै गाउँमा खानेपानीको समस्या अन्त्य हुने उनको भनाइ थियो। रासस

प्रकाशित: २७ जेठ २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =