वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री

हिमाल प्रेस २१ फागुन २०७९ १५:४४
6
SHARES
वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा सरोकारवालासँग छलफल गरेका छन्। आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिवसँगै व्यवसायीका छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा गभर्नर, अर्थसचिव, निजीक्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गरेका हुन्।

पछिल्लो समय लघुवित्त, सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहलस्वरूप प्रधानमन्त्री प्रचण्डले छलफल थालेको रूपमा हेरिएकाे छ।

बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न नसक्ने र मिनाहाको माग गर्दै सडक आन्दोलन समेत भइरहेको छ।

बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरू समेत सडक आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले यिनै विषयमा छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताए। बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको उनकाे भनाइ थियाे।

वित्तीय क्षेत्रका समस्या समाधानका लागि आवश्यक परेमा उच्चस्तरीय आयोग नै बनाउन पनि सरकार तयार रहेको उनको भनाइ थियो।

छलफलमा मुख्य सचिव शंकरदास बैरागी, गभर्नर अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको उपस्थिति थियो।

प्रकाशित: २१ फागुन २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =