बालकक्षाका शिक्षक/कर्मचारीको तलबसुविधा बढाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न माग

हिमाल प्रेस २३ वैशाख २०८० २३:१५
4.2k
SHARES
बालकक्षाका शिक्षक/कर्मचारीको तलबसुविधा बढाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न माग फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्न माग गरेको छ।
संगठनले राहत शिक्षक, अस्थायी करार शिक्षक, विशेष शिक्षा, प्राविधिक धारका शिक्षक, सिकाइ अनुदानमा कार्यरत शिक्षक, नर्स लगायतलाई पनि उक्त प्रणालीमा समेट्न आग्रह गरेको छ।

अहिलेसम्म विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकलाई यस प्रणालीमा समेटिए पनि शिक्षक र कर्मचारीलाई नसमेटिएको भन्दै संगठनले सरकारको ध्यानाकर्षण गराएको हो।

संगठनका महासचिव हंसबहादुर शाहीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नीति कार्यक्रम तथा बजेटमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई अनिवार्य रूपमा सहभागी गराउन नेपाल राष्ट्रिय शिक्षक संगठन सरकारसँग जोडदार माग गर्दछ।’

यसैगरी संगठनले बालकक्षा, सबै प्रकारका विद्यालय कर्मचारी तथा नर्स कर्मचारीहरूको पारिश्रमिक पुनरवलोकन गरी साविकको शिक्षक/निजामती कर्मचारीको प्रारम्भिक तलब स्केलसरह कायम गर्न माग गरेको छ।

संगठनले निवृत्तिभरण कोष ऐन २०७५ लागू हुनुअघि/पछि विज्ञापन भई पदस्थापना भएका स्थायी शिक्षकहरूका सवालमा संघीय शिक्षा ऐन जारी नभएकाले अन्य राष्ट्रसेवकहरूलाई भए सरको व्यवस्था तत्काल हुनुपर्ने माग गरेको छ।

सरकार आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमको तयारीमा जुटेपछि संगठनले शिक्षक र विद्यालय कर्मचारीसँग सम्बन्धित माग अघि सारेको हो। आइतबारदेखि संसद्को बर्खे अधिवेशन हुँदैछ। सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकमा सरकारको नीति तथा कार्यक्रम र प्राथमिकताबारे संसद्‌मा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको हो।

विद्यालयका कर्मचारीद्वारा आन्दोलन घोषणा

शिक्षकका माग र मुद्दा तत्काल सम्बोधन गर्न शिक्षक संघको माग

शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने

शिक्षामा २० प्रतिशत बजेट छुट्याउन शिक्षक संगठनहरूको माग

प्रकाशित: २३ वैशाख २०८० २३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =