‘सत्तागठबन्धनले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजेको छैन’

हिमाल प्रेस २९ चैत २०७९ १९:११
12
SHARES
‘सत्तागठबन्धनले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजेको छैन’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ३ वर्ष चल्ने बताएका छन्। बुधबार नयाँ वनेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्ड नेतृत्वको सरकार ३ वर्षसम्म चल्ने बताउँदै उनले वर्तमान सत्तागठबन्धन निर्माण गर्दा नै प्रचण्ड नेतृत्वमा ३ वर्ष सरकार चलाउने सहमति भएको उनको भनाइ छ। सत्तागठबन्धनका दलहरूबीच अविश्वास नरहेको स्पष्ट पार्दै पूर्वसमझदारीअनुसार नै सरकार अगाडि बढीरहको उनले उल्लेख गरे।

‘शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्छ। आलोपालो सरकार भनेका छौं। हामीले घोषित रूपमै कुरा गरेका छौं। त्यसैले पहिलो चरणको सरकारको नेतृत्व प्रचण्डले गर्नुहुन्छ, गरिरहनुभएकै छ। त्यसपछाडि देउवा नेतृत्वमा सरकार बन्छ। अविश्वास पनि छैन। नेपाली कांग्रेस आफैंभित्र सरकार निर्माण, मन्त्रिपरिषद् विस्तारबारे आफ्ना विभिन्न मतहरू छ। न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ,’ उनले भने।

टिआरसी विधेयक पारित गर्न प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार प्रमुख दल कांग्रेस सभापति देउवा स्वयंले सभामुख र प्रमुख प्रतिपक्षसँग संयुक्त रूपमा संवाद गरिरहेको पनि उनले जनाए।

यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो पार्टीले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको टिप्पणी गरे। अहिले कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको उनको भनाइ छ। कांग्रेसका शीर्ष नेताहरू गठबन्धनलाई दह्रो बनाउन लागिपरिरहेको उनले बताए।

‘हामी हिजो जे कुरामा प्रतिबद्ध थियौं। आज पनि त्यही कुरामा प्रतिबद्ध छौं। कसैकव कुरा नसुन्नु होला। सभापतिजीले पनि त्यसो भन्नुभएको होइन, कांग्रेस फेरि नेतृत्वमा आउने अवसर प्राप्त गर्‍यो। राष्ट्रपति पायो। गठबन्धनबाट गुमेको थियो। अरू पदहरू पनि पाएको छ। यो हाम्रो लागि सुखद् विषय हो,’ उनले भने।

अहिले गठबन्धनको विकल्पमा, माओवादीको विकल्पमा कांग्रेसले सत्ता लिइहाल्ने अवस्था नरहेको खतिवडाले दोहोर्‍याए। सरकारले जनअपेक्षाअनुसार कार्यक्रमहरू ल्याओस् भन्ने कांग्रेस सांसदहरूको चाहना रहेकाले कहिलेकाहीँ सरकारलाई आलोचनात्मक सुझाव दिने गरिएको उनको भनाइ छ।

प्रकाशित: २९ चैत २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =