मानव-वन्यजन्तु द्वन्द्व

बाँदरले बाली खान्छ, चितुवाले मानिस

विजय नेपाल २६ चैत २०७९ १०:३६
70
SHARES
बाँदरले बाली खान्छ, चितुवाले मानिस कास्कीको घलेल गाउँ।

पोखरा- ‘वर्षभरि खेती लगायो, भित्र्याउन केही पाइँदैन। बालीमा फूल लागेदेखि नभित्र्याउन्जेलसम्म खेतबारीमा बास हुन्छ। आँखा झिमिक्क गर्‍यो भने बगाल छिरेर एकैछिनमा सखाप पारिहाल्छ।’

कास्कीको पर्यटकीय गाउँ घलेलका सुकलाल परियार गुनासो गर्दै थिए, ‘आलु लगायो, आलु खोस्रिन्छ। मकै लगायो, मकै खान्छ। केही गरी नसकिने यो बाँदरलाई।’

अर्का स्थानीय सुवास परियारको दुःखेसो पनि उस्तै छ। ‘खाना खान त जानुपर्‍यो, त्यसबेला बाँदरले दाउ पारिहाल्छ। हेदौहेर्दै बगाल छिरेर एकैछिनमा सबै फसल खाइसक्छन्।’ सुवासका अनुसार बाँदर एउटादुइटा मात्रै होइन, बगाल एकैपटक पाँच सयको संख्यामा पनि आउँछन्।  फलफूल, तरकारी र अन्नबालीमा बाँदरको समस्या कास्कीको यो गाउँमा मात्रै हैन, राष्ट्रिय समस्या बन्दै गएको छ।

‘म अहिले ६२ वर्षको भएँ। २०/२५ को हुँदाखेरि बाँदरले यति दुःख दिएको थाहा थिएन। कहिलेकाहीँ मात्र बाँदर आउँथ्यो। धपाउँदा भाग्थ्यो। खेतीपाती गरेरै खाइन्थ्यो। तर पछिपछि बाँदर जंगलमा मात्र अडिएन,’ सुकलालले सुनाए, ‘खेतबारी र घरभित्रै छिर्न थालेको छ।’

बाँदर धेरै लागेपछि अब वैकल्पिक खेती नगर्ने त? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘बाँदरले नखाने खेती के छ र? मकैमा घोगा लायो भन्ने जानेपछि बाँदर आइहाल्छ। खै कसरी जान्दो रैछ कुन्नि!’

बस्ती पातलिँदाको असर

माछापुच्छ्रे हिमालको काखमा रहेको सुन्दर पर्यटकीय गाउँ घलेलमा कुनै बेला बस्ती बाक्लो थियो। बस्ती पातलिँदै गएपछि खेतपाती कम हुन थाल्यो। त्यस्ता जमिन बिस्तारै जंगलमा परिणत भए। अनि वन्यजन्तु बस्तीमा छिर्न सजिलो हुन थाल्यो।

अचेल गाउँलेहरू फूल फक्रेर अनाज लाग्न थालेदखि पाकेर स्याहार्दासम्म बिहानैदेखि बेलुकीसम्म खेतबारीमै बस्न बाध्य छन्। गाउँका प्रत्येक घरबाट एक सदस्य बिहान ७ बजेदेखि बाँदर धपाउन खेतबारीमा जान्छन्। सबै घरबाट पालो लगाइन्छ।

‘तर कसोकसो बाँदर आइहाल्छ। तलबाट धपायो, माथि जान्छ। माथिबाट धपायो, तल जान्छ। खेती स्याहार्न मुस्किल छ,’ स्थानीय शान्ति गुरुङले भनिन्।

पहिले मानिससँग डराउने बाँदर अचेल टेर्न छाडेको छ। जति धपायो, त्यत्ति नजिकनजिक आएर बाँदरले उल्टै जिस्क्याउने गरेको सुकलाल सुनाउँछन्। यतिसम्म कि भान्छामा खाना खाँदै गरेको थालसमेत उठाएर बाँदरले लगेको उनले बताए। उनले भने, ‘बुइँगलमा राखेको अन्न पनि भन्न पाइँदैन।’

बाँदर नियन्त्रणको उपाय धपाउनु मात्रै हो। एकपटक जंगलतिर धपायो, फेरि कताकताबाट अन्नबाली खान आइहाल्छ। घलेलका तिमी गाउँ, तौली गाउँ, तग्रा र खोर गाउँमा बाँदरको समस्या छ।

राष्ट्रिय समस्या बनेको बाँदरको हैरानीबाट कसरी छुटकारा मिल्ला त? गाउँले बताउन सक्दैनन्। सोही कारण कतिपयले खेतबारी बाँझै छाडेका छन्। यस्तै कतिपय मानिस बसाइँ सरेका छन्।

गाउँले गास बाँदरले नष्ट गरिदिएपछि विभिन्न इलम, व्यवसाय, नोकरी गर्न सहर छिर्नेको संख्या बढेको छ। त्यसैले बाँदर कसरी व्यवस्थापन गर्ने भन्ने समस्यामा परेको बताउँछन् माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि केकस्तो योजना ल्याएको छ भन्ने जिज्ञासामा अध्यक्ष गुरुङले बाँदर नियन्त्रणकै लागि भनेर कुनै कार्यक्रम नल्याइएको प्रस्ट पारे।

‘यो राष्ट्रिय समस्या हो, खै हामीले के गर्न सक्नु र?’ अध्यक्ष गुरुङ भन्छन्। कास्कीको पूर्वीउत्तर भेगको रुपा गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बजेट छुट्टाउँदै आएको छ। तर कार्यक्रम प्रभावकारी हुन सकेन। पालिकाले आर्थिक वर्ष २०७४/७५ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर समाउने योजना ल्याएको थियो। तर खर्च भए पनि बाँदर धपाउन नसकिएको गाउँपालिका अध्यक्ष अध्यक्ष नवराज ओझा बताउँछन्।

तनहुँमा चितुवा आतंक

तनहुँमा चितवाको आक्रमण शृंखला रोकिएको छैन। ४ कात्तिकमा बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवा आक्रमणबाट एक बालिकाको मृत्यु भयो। सानीआमाको घर जान निस्किएका ११ वर्षीया बिना चेपाङको चितुवा आक्रमणबाट मृत्यु भएको थियो।

स्थानीय जनता प्रावि कक्षा ५ की छात्रा बिनाको घाँटीमा चितुवाले आक्रमण गरेको थियो। यस्तै पछिल्लोपटक बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगाले मगरको चितुवा आक्रमणमै मृत्यु भयो। आक्रमणमा ८ वर्षीया रियाना थापा र ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका थिए।

जिल्लामा पाँच वर्षयता १४ जना बालबालिकाको चितुवा आक्रमणबाट मृत्यु भएको तथ्यांक छ। १९ जना घाइते भएका छन्।

२०७४ फागुनदेखि हालसम्म चितुवा आक्रमणमा परी १० बालक र ४ बालिकाको मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

चालु आर्थिक वर्षमा ४ घटनामा २ बालबालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएको उनले बताए। चितुवाले विशेषगरी १२ वर्ष कम उमेरका बालबालिकालाई निशाना बनाउँदै आएको छ। चितुवा नियन्त्रणका अनेक प्रयास भए पनि रोक्न सकिएको छैन।

चालु आवमा तनहँुमा वन्यजन्तुबाट ४२ घटनामा करिब ८० पशुधन क्षति भएका छन्। यस क्रममा ६९ बाख्रा, पाँच बंगुर, एउटा गाई, एउटा पाडो र एउटा सुँगुर मरेका छन्। त्यसैगरी चारवटा रतुवा मृग, एउटा अजिंगरको उद्धार गरिएको छ। तीन चितुवा र एक निरबिरालो मृत फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

तनहुँमा चितुवाबाट मानवीय क्षति रोक्न वनमा विभिन्न खालका केज (खोर) निर्माण गरिएको छ भने ठाउँठाउँमा पानीको पोखरी बनाइएको छ। यसबाट विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको वन कार्यालय प्रमुख काफ्लेको दाबी छ।

खोलाखोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पसेकोले उनीहरुको निम्ति पोखरी निर्माणलाई तीव्र पारिएको उनी बताउँछन्।

छिमेकी जिल्ला गोरखामा बाख्रामाथि चितुवा आक्रमण दिनहुँ हुन्छ। वन कार्यालयको तथ्यांकअनुसार गोरखामा पछिल्लो ६ महिनामा ६ सय ३१ वटा बाख्रा चितुवाको सिकार भएका छन्। यसरी हेर्दा गोरखामा एकै दिनमा सरदर ४ वटा बाख्रा चितुवाको सिकार हुने गरेका छन्।

वन्यवन्तुबाट भएको क्षतिपूर्तिका लागि सरकारी अवधारणा नरहेको होइन। तर त्यसलाई पालिकास्तरसम्म लैजान नसक्दा कार्यान्वयन हुन सकेको छैन। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ मा जंगली जनावरको आक्रमणबाट मानवीय क्षति भए १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ। यस्तै आक्रमणबाट चौपाया मरे वा घाइते भए सोहीअनुरुप क्षतिपूर्ति दिने व्यवस्था निर्दिष्ट गरिएको छ। गण्डकी प्रदेश सरकारले भने वन्यजन्तुको आक्रमण रोक्न, क्षतिपूर्ति उपलब्ध गराउन कुनै निर्देशिका बनाउन सकेको छैन।

वन बढ्यो, कृषि घट्यो

वन्यजन्तु आतंक नियन्त्रण गर्न रुख फँडानी अभियान

पर्वतमा बाँदर आतंक : बालीनाली जोगाउन सकस परेपछि बाँझै हुन थाले खेतबारी

प्रकाशित: २६ चैत २०७९ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =