गाउँदेखि सहरसम्म बाँदर आतंक

विनोद परियार ९ कार्तिक २०८० ७:५७
8
SHARES
गाउँदेखि सहरसम्म बाँदर आतंक अर्घाखाँचीका मालारानीमा बाँदरले नष्ट गरेको मकै बाली देखाउँदै किसान।

लुम्बिनी– अचेल बाँदरको नाम सुन्नेबित्तिकै किसान आक्रोशित हुन्छन्। बाँदरले पहाडमा बालीनाली नष्ट गरेर किसान हैरान भएका छन् भने सहरी क्षेत्रमा पनि उपद्रो मच्चाएको छ। लुम्बिनी प्रदेशका पहाडदेखि तराईसम्मका जिल्लामा बाँदरको आतंक बढेपछि किसान आजित भएका हुन्।

अर्घाखाँची मालारानी–५ भण्डाराका जुद्धकुमार केसीले यस वर्ष निकै मुस्किलले मकैखेती स्याहारेको सुनाए। ‘जेनतेन मकै त स्याहारियो, बाँदर, बँदेल र दुम्सीले बाँकी राखेको मात्रै भित्र्याइयो’, केसीले दुःखेसो पोखे। उनले पाँच वर्षयता प्रत्येक वर्ष बाँदर, दुम्सी र बँदेलका कारण मकैखेती आधाभन्दा बढी नष्ट हुने गरेको बताए। केसीले बाँगी भण्डारामा खाद्यान्न पसल खोलेका छन्। तर उनी असार र साउनमा बाँदरको हेरालु बस्न बाध्य भए।

मालारानीमा बाँदरकै कारण खेती गर्न नसक्ने अवस्था आएको बागी भण्डारा सुकापोखराका पीताम्वर कुवँरले बताए। उनी १३ मुरी उब्जनी हुने मकैबारी बाँदर, बँदेल र दुम्सीले सखाप बनाइदिएपछि अब खेती गर्ने कि नगर्ने दोधारमा छन्। ‘उत्पादन राम्रो भएको थियो। बाँदर, बँदेल र दुम्सीले सखाप बनायो। अब खेती नगर्ने सोचमा पुगेको छु’, उनले भने।

अर्घाखाँची मालारानीमा मात्रै होइन, लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, प्यूठान, पाल्पा, रुकुम, रोल्पासम्म बाँदरसहित जंगली जनावरले खेतीपाती नष्ट गर्ने क्रम बढेपछि किसान आजित छन्। स्थानीय पालिकामा बाँदरका कारण किसान हैरान भएको गुनासोको ओइरो लाग्छ।

बाँदर, बँदेल, दुम्सीले मालारानी गाउँपालिकाभित्रका सबै वडामा समस्या पारेको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताए। बाँदर, बँदेल, दुम्सी आतंक बढदै गइरहेकाले गाउँपालिकाभित्र समस्या परेको उनको भनाइ छ। बाँदर, बँदेल र दुम्सीको आतंक रोक्नका लागि गाउँपालिकालाई गाह्रोे परेको उनी बताउँछन्। यो समस्या समाधानका लागि संघीय सरकारले नै कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

‘बाँदर, दुम्सी, बँदेलजस्ता जनावरका कारण खेती गर्न नसक्ने अवस्था आएको छ। यो समस्या हामीले मात्रै समाधान गर्न सक्ने अवस्था छैन’, अध्यक्ष भट्टराईले भने, ‘तैपनि हामीले समाधानको कोसिस गरेका छौँ।’

बुटवलका घरघरमै छिर्न थाले बाँदर

ग्रामीण भेगमा बाँदरको आतंक सुनिए पनि पछिल्लो समय भने सहरमा पनि बढ्न थालेको छ। विगत ५ वर्षयता सहरका गल्लीगल्लीमा बाँदरको उप्रदो बढ्दो छ। पहाडको फेदीमा रहेको बुटवलमा जंगल बढ्दै गएपछि बाँदर आतंक बढ्न थालेको छ।

बुटवलको पुरानो बटौली बजारमा बाँदरका कारण पसल र घरमा राखेका सामान नष्ट हुने गरेको स्थानीयले बताएका छन्। बाँदरकै कारण मानिससमेत घाइते हुने क्रम बढ्दै गएको छ। जंगल नजिकै रहेका बुटवलको वडा न. १, २, ३, ४ र ६ नम्बरका पुरानो बुटवल, मैनाबगर, फूलबारी, गोलपार्क, चिडियाखोला, ज्योतिनगर हुँदै अमरपथसम्म बाँदर आतंक मच्चिएको हो।

बुटवलस्थित घरमा पस्दै गरेका बाँदर।

बुटवलको वडा न. १ देखि ६ नम्बरसम्मका वडाअध्यक्ष बाँदर आतंकको गुनासो सुनेर हैरानमा परेको बताउँछन्। ‘पहिला बाँदर बस्तीमा आउँदैनथ्यो, तर अहिले बाँदर घरघरमा छिर्न थालेपछि साह्रै समस्या भएको छ’, बुटवल वडा न. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले भने, ‘व्यवस्थापन कसरी गर्ने हामी हैरान छौँ।’

बाँदरले टोकेर घाइते भएको गुनासो लिएर आउनेहरू बढ्दै गएको तर, बाँदर नियन्त्रण गर्ने उपाय नपाउँदा समस्या भोग्नुपरेको उनले बताए। बुटवल उपमहानगर–५ का वडाअध्यक्ष हरि श्रेष्ठले बाँदर नियन्त्रण कसरी गर्ने भन्ने विषयमा अध्ययन थालिएको बताए।

वडाअध्यक्ष श्रेष्ठले बाँदर मानव पुर्खा भएको वैज्ञानिकहरुले समेत दाबी गरेकाले यसको वैज्ञानिक नियन्त्रण गर्ने गरी उपायको खोजी गरिएको बताए। बुटवल उपमहानगरले वडाबाट बजेट माग भएकाले छुट्याउने गरेको छ। बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले बाँदर आतंकका विषयमा पटकपटक गुनासो आएकाले समाधानतर्फ आफूहरूले पहल गरिरहेको बताए।

प्रकाशित: ९ कार्तिक २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =