बाँदरले सताएपछि खेती नगर्ने अवस्थामा पुगे सोलुका किसान

हिमाल प्रेस २६ मंसिर २०७९ १९:५५
8
SHARES
बाँदरले सताएपछि खेती नगर्ने अवस्थामा पुगे सोलुका किसान फाइल तस्बिर।

सोलुखुम्बु– बाँदर आतंकले सताएपछि सोलुखुम्बुका किसान खेतीबाली नगर्ने अवस्थामा पुगेका छन्। थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक हैरान बनेका छन्।

घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेपछि किसान हैरान बनेका हुन्। उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको किसान नीरकुमार राईको गुनासो छ।

जंगलबाट हुल बाँधेर आउने बाँदरले खेतबारीमा फलेको अन्नबाली सखाप पारेको दिप्लीका किसान रत्नकुविर राईको दुःखेसो छ।

इंखु खोलामा पुल बनेपछि वाकु जंगलका बाँदर दिप्ली क्षेत्रमा प्रवेश गरेको कृषकको भनाइ छ। वर्षभरि दुःख गरेर लगाएको बालीनालीमा बाँदर आतंक बढ्न थालेपछि किसान खेतीयोग्य जमिन बाँझै राख्ने मनस्थितिमा पुगेका छन्।

बाँदर धपाउनका लागि डिभिजन वन कार्यालय सोलुखुम्बुबाट उपकरण वितरण गरिए पनि सो उपकरण प्रभावकारी नभएको किसानहरूको भनाइ छ। कृषकको समस्या समाधानका लागि गाउँपालिकाको कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत गर्ने र बाँदर आतंकबाट कृषकलाई छुटकारा दिलाउने थुलुङ दुधकोशी गाउँपालिका ८ का वडाध्यक्ष राजेश राईले बताए।

प्रकाशित: २६ मंसिर २०७९ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =