सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

हिमाल प्रेस २६ भदौ २०८३ १०:२४ | Friday, September 11, 2026
सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो।

गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घटनास्थलको अवस्था निरीक्षण गर्नुका साथै नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा जलविद्युत् आयोजनालाई सम्भावित जोखिमबारे जानकारी गराएको छ।

प्रहरीले हुङ्गा खोलामा रहेका गौरीशंकर हाइड्रोपावर, दूधकोशी-२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा जलविद्युत् आयोजनामा रहेका कामदार र सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको जनाएको छ।

हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका-२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ।

त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रहरीका अनुसार बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्याममा पानी भरिएपछि पानी निकास हुन सुरु भएको छ। ड्यामबाट पानी निकास हुन थाले पनि घटनाको थप अवस्था र सम्भावित जोखिमबारे अनुगमन तथा जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रकाशित: २६ भदौ २०८३ १०:२४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast