सुनचाँदीका गरगहना चोरी गर्ने ४ भारतीय पक्राउ

हिमाल प्रेस १० कार्तिक २०८३ २१:४१ | Tuesday, October 27, 2026
सुनचाँदीका गरगहना चोरी गर्ने ४ भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न ठाउँमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौँ महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, २३ वर्षीय राजेन्द्र कुमार र ४६ वर्षीया वीणा देवी रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले कात्तिक ७ गते काठमाडौँको कलङ्कीस्थित तासिङडोल मार्गमा बस्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको हो।

उनले भने, “घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरीमा संलग्न रहेको आरोपमा चारजना भारतीय नागरिकलाई पक्राउ गरेका छौँ।” प्रहरीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ६ गते बिहान कलङ्कीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको छ।

लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारैजनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरीवृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ २१:४१ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast