आधारभूत अस्पताल

कर्णाली : दुई वर्षसम्म एउटै भवनले पनि पाएन पूर्णता

रमा केसी १३ चैत २०७९ १३:२३
100
SHARES
कर्णाली : दुई वर्षसम्म एउटै भवनले पनि पाएन पूर्णता सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा निर्माणाधीन आधारभूत अस्पताल भवन। तस्बिर : रमा केसी

जग्गा प्राप्ति, निर्माणस्थल विवादका कारण भवन निर्माण हुन नसक्नु त छँदैछ सम्झौता भएका भवन निर्माण पनि सुस्त गतिमा भइरहेका छन्।

सुर्खेत- भनिन्छ, कर्णाली पूर्वाधारमा अन्य प्रदेशभन्दा पछाडि छ। प्रदेश अविकसित हुनुका अनेक कारण होलान्। संघीयता लागू भएपछि कर्णालीको विकासले मुहार फेर्ला भन्ने धेरैको आशा देखिन्छ। आधारभूत अस्पताल भवन निर्माणमा भएको ढिलाइले भने कर्णालीका नागरिकको त्यो अपेक्षा पूरा हुने संकेत देखिँदैन।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा ३९६ आधारभूत अस्पताल शिलान्यास गरेका थिए। तीमध्ये कर्णालीमा ५३ अस्पतालको भवन निर्माण प्रक्रिया अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।

संघीय सरकारले हरेक स्थानीय तहमा अस्पताल भवन निर्माणका लागि बजेट छुट्याएको थियो। कतिपय पालिकामा ठेक्का सम्झौता भएको छैन। जग्गा प्राप्ति, निर्माणस्थल विवादका कारण भवन निर्माण हुन नसक्नु त छँदैछ सम्झौता भएका भवन निर्माण पनि सुस्त गतिमा भइरहेका छन्। त्यसैले दुई वर्ष बित्दासम्म एउटै भवनले पूर्णता पाउन सकेको छैन।

सुर्खेतको लेकबेसी नगरपालिकाले नगर अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाएको दुई वर्ष हुन लागेको छ। तर नगरपालिकाले अस्पतालका लागि आवश्यक जग्गा नपाउँदा निर्माण सुरु भएको छैन। स्थानीय तहका अघिल्ला जनप्रतिनिधिले सुरु गरेको अस्पताल कहिले बन्ने टुंगो छैन।

‘अस्पताल निर्माणका लागि पहिले जग्गा चाहिन्छ,’ लेकबेसीका नगर प्रमुख उमेश पौडेलले भने, ‘अहिलेसम्म जग्गाको टुंगो लगाउन सकेका छैनौँ।’  लेकबेसीले अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन गरेर संघीय सरकारसँग स्वीकृतिका लागि फाइल पठाएकै एक वर्ष भयो।

‘वनको जग्गा दिने अधिकार मन्त्रिपरिषद्लाई मात्रै हुन्छ, अहिलेसम्म जग्गा प्राप्तिका लागि निर्णय गरिसकेको छैन,’ पौडेलले भने, ‘अझै कति समय लाग्ने हो टुंगो छैन।’  सुर्खेतको भेरीगंगा नगरपालिकाको अवस्था पनि त्यस्तै छ। भेरीगंगाले पनि जग्गा प्राप्तिकै काम सकेको छैन। व्यक्तिको जग्गा किन्ने अधिकार स्थानीय तहलाई छैन।

सार्वजनिक जमिन नहुँदा सुर्खेतमा निर्माण हुने सार्वजनिक संरचनाका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने बाध्यता छ। वनको जग्गा प्राप्ति सहज नभएकाले सरकारले घोषणा गरेअनुसार सुर्खेतमा अस्पताल बनाउन समस्या भइरहेको छ।

‘हामीले पनि जग्गा प्राप्तिको काम अघि बढाएका छौँ,’ भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भने, ‘जग्गा प्राप्तिपछि निर्माण कार्य अघि बढाउँछौँ।’  कर्णालीका अधिकांश पालिकाको अवस्था यस्तै देखिन्छ। केही स्थानमा स्वास्थ्य भइरहे पनि प्रगति उत्साहजनक छैन।

सुर्खेतको पञ्चपुरी नगरपालिकाले यसअघिको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल भवन निर्माण गरिरहेको छ। नगर प्रमुख लालवीर भण्डारी सम्झौताअनुसार अस्पताल निर्माण भइरहेको बताउँछन्। उनले अस्पतालको भौतिक प्रगति ६० प्रतिशत रहेको जानकारी दिए।

पञ्चपुरीमा निर्माण भइरहेको भवनका लागि १२ करोड रुपैयाँ छुट्याइएको छ। कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरले लाटीकोइलीमा अस्पताल निर्माण गरिरहेको छ। वीरेन्द्रनगरभित्रै कर्णाली प्रदेश अस्पताल र नगर अस्पताल सञ्चालनमा छन्।

संघीय सरकारले घोषणा गरेको १५ शय्याको अस्पताल लाटीकोइलीमा निर्माण भइरहेको वडाध्यक्ष ऋषि गिरीले जानकारी दिए। वडाध्यक्ष गिरीका अनुसार १५ बेडको स्वास्थ्य चौकी निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको छ।

लाटीकोइलीमा निर्माण भइरहेको आधारभूत स्वास्थ्य अस्पताल अक्सिजन प्लान्टसहितको सुविधा हुनेछ। सुर्खेत उपत्यकाको तल्लो क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले लाटीकोइलीमा अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

अस्पतालमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहनेछन्। यस्तै स्वास्थ्य केन्द्रको जनशक्ति तथा थप पूर्वाधार व्यवस्थापन वीरेन्द्रनगर नगरपालिकाले गर्नेछ।

भवनका लागि पाँच करोड रकम विनियोजन गरिएको छ। २०७८ पुस ५ गते सम्झौता भएर २० महिनामा काम सक्ने लक्ष्यका साथ निर्माण सुरु भए पनि कामको गति सुस्त रहेको वीरेन्द्रनगर नगरपालिकाका साइट इन्चार्ज इन्जिनियर निराजन अधिकारीले बताए।

लाटीकोइली स्वास्थ्य चौकीमा वडा २, ३, ९ र १० का वडावासी जनरल सेवा लिँदै आएको डा. शुभ श्रेष्ठले जानकारी दिए। वीरेन्द्रनगरमा नगर अस्पताल भवन बनाउन ३ करोड ३२ लाख ९५ हजार ९ सय रुपैयाँमा ठेक्का दिइएको छ। विपद्, महामारी र मुख्य गरी महिला तथा बालबालिकाको उपचार गर्ने गरी नगर अस्पताल निर्माण थालिएको पूर्व नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए।

पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र लेकबेसी नगरपालिकामा आधारभूत अस्पताल बनाउने सरकारको लक्ष्यअनुरूप अस्पतालको शिलान्यास गरिएको थियो।

पञ्चपुरी नगरपालिकामा पाँच बेडदेखि सुरु भएको आधारभूत स्वास्थ्यचौकीले अहिले २५ बेडको सेवा दिँदै आएको छ। अन्य चार पालिकामा ५ बेडको आधारभूत अस्पताल सञ्चालन हुँदै आएको थियो।

ठेकेदारले आगामी मसान्तभित्रै निर्माण सम्पन्न गर्ने जनाएको सामाजिक विकास मन्त्रालयका प्रशासकीय उपसचिव एवम् प्रवक्ता विनोद आचार्यले बताए।

शिलान्यास भएका ४२ वटा आधारभूत अस्पताल निर्माण प्रक्रिया सुस्त गतिमा रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए। उनका अनुसार जुन गतिमा शिलान्यास भएको थियो, त्यसअनुरूप काम हुन सकेको छैन।

‘अधिकांश पालिकामा भवन बनाउने काम सुरु भएको छ। तर धेरै काम बाँकी छन्,’ निमित्त निर्देशक खड्काले भने, ‘सुस्त गतिमा काम हुँदा सेवा प्रवाह गर्न निकै समस्या छ।’

ठेक्का सम्झौताको १३ वर्षमा ७० प्रतिशत काम!

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ठेक्कामा रहेका डोल्पा, सल्यान, रुकुम, हुम्ला, कालीकोट, सुर्खेत, दैलेख र जाजरकोट जिल्लाका अस्पताल भवन निर्माणमा पनि ढिलाइ भइरहेको छ।

सल्यान, रुकुम, हुम्ला, डोल्पा र दैलेखमा प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत भवन निर्माण भइरहेको छ। यस्तै सुर्खेत, जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्ला र संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले भवन निर्माण गर्दै आएको छ।

संघीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर कमल दर्लामी अस्पताल भवन निर्माणको गति निकै सुस्त रहेको बताउँछन्। ‘ठेकेदारले जुन गतिमा काम गर्नुपर्थ्यो त्यो काम हुन सकेको छैन। हामीले बारम्बार भनिरहेका छौँ,’ उनले भने।

निर्माण सम्पन्न हुँदै गरेको गुर्भाकोट नगरपालिकाको आधारभूत अस्पताल भवन।

साइट इन्चार्ज इन्जिनियर निराजन अधिकारीका अनुसार सुर्खेतको निर्माणाधीन अस्पताल भवन २०७८ मै सम्पन्न हुनुपर्ने थियो। काम सम्पन्न हुन नसक्दा २०८० भदौमा सक्ने गरी म्याद थप गरिएको उनले बताए।

सम्झौता भएको १३ वर्ष हुन लाग्दा पनि जाजरकोटको सिमाराक्मा हेल्थपोस्ट भवन निर्माण सम्पन्न हुन सकेको छैन। २०६७ असार १ गते भएको सम्झौताअनुसार २०७० चैत ३० गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। हालसम्म ७० प्रतिशत काम भएको आचार्यले जानकारी दिए।

जाजरकोटकै मझकोट बढकुले स्वास्थ्य चौकी भवनको निर्माणमा ३० प्रतिशत काम भएको छ। उक्त भवनको ठेक्का सम्झौता २०६९ वैशाख २१ गते भएको थियो। उक्त योजना २०७० कात्तिक ६ गते निर्माण कार्य सकेर हस्तान्तरण गर्नुपर्ने थियो। अहिले निर्माण कार्य स्थगन भएपछि ठेक्का तोड्ने प्रक्रियामा छ।

सुर्खेतको १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माणमा २० प्रतिशत मात्रै काम भएको छ। २०७८ साल असार ३ गते सम्झौता भएको उक्त योजना २०७९ चैत ३ गते सम्पन्न गरिसक्नुपर्ने थियो।

सुर्खेतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको काम पनि सुस्त छ। यो योजना २०७८ असार २९ गते सम्झौता भएको थियो। २०७९ पुस २८ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने उक्त योजनाको २५ प्रतिशत मात्रै काम भएको छ।

५० शय्या क्षमताको जाजरकोट जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। १२ करोड ६ लाख ८० हजार रुपैयाँ बजेटको उक्त योजनामा २०७७ असार २६ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ पुस २५ गते निर्माण सम्पन्न हुनुपर्ने थियो।

निर्माण कम्पनीको लापरबाहीले भवनहरू अधुरो रहेको सामाजिक विकास मन्त्रालयका प्रशासकीय उपसचिव एवम् प्रवक्ता विनोद आचार्यले जानकारी दिए।

आचार्यका अनुसार निर्माण सम्पन्न हुन लागेका अस्पतालमा स्वास्थ्यकर्मी नियुक्ति प्रक्रिया लोकसेवा आयोगले गर्नेछ। आयोगले स्वास्थ्य कर्मचारी नियुक्ति नगर्दासम्म सामाजिक विकास मन्त्रालयले आफ्नो स्रोतबाट करारमा स्वास्थ्यकर्मी पठाउने गरिएको आचार्यले बताए।

आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै बाधक

सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी

लुम्बिनीमा अस्पताल निर्माण : कतै सुस्त, कतै अधुरै

अस्पताल निर्माणमा ठेकेदारको लापरबाही : दुई वर्षमा १० प्रतिशत काम

गण्डकी : दुई वर्षमै ठडियो भवन

प्रकाशित: १३ चैत २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =