पालिका स्वास्थ्य पूर्वाधार

गण्डकी : दुई वर्षमै ठडियो भवन

गाउँपालिका अध्यक्ष भन्छन्- देशमै हामी पहिलो

विजय नेपाल १२ चैत २०७९ १०:५५
8
SHARES
गण्डकी : दुई वर्षमै ठडियो भवन

पोखरा- कास्की ढिकुरपोखरीका हरिराम भण्डारी आफ्नै घरअगाडि अस्पताल भवन बनेपछि दंग छन्। हेर्दाहेर्दै २ वर्षमै १५ शय्याको अस्पतालको तीनतले भवन ठडिएपछि अब सामान्य रोगको उपचारका लागि पोखरा धाउनु नपर्नेमा उनी विश्वस्त भएका हुन्।

आगामी आर्थिक वर्षको सुरुदेखि अस्पताल सञ्चालन गर्ने तयारीका लागि तीव्र गतिमा काम भइरहेको छ। उनी मात्रै होइन गाउँमै अस्पताल बनेपछि सिंगो अन्नपूर्ण गाउँपालिकाका बासिन्दामा उत्साह थपिएको छ।

भण्डारी भन्छन्, ‘कम खर्चमै आफ्नै गाउँठाउँमा उपचार सेवा पाइने भयो। भैपरी हुने घटना दुर्घटनामा तत्काल उपचार पाउने भएपछि घाइतेको अकालमा मृत्यु हुनबाट पनि जोगिने भयो।’

‘एक स्थानीय तह, एक अस्पताल’ निर्माण गर्ने नेपाल सरकारको नीतिअन्तर्गत कास्कीको उत्तरी गाउँपालिका अन्नपूर्णको पालिका अस्पताल निर्माणको आखिरी चरणमा छ।

गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटा भन्छन्, ‘नेपालमै गाउँपालिका स्तरमा द्रुतगतिमा यत्तिको गज्जबको भवन निर्माण गर्ने हामी पहिलो हुनुपर्छ।’ अस्पताल निर्माणमा संघ सरकारले करिब १३ करोड उपलब्ध गराएको छ।

निर्माणाधीन अस्पतालको २०७७ मंसिर १५ मा शिलान्यास गरिएको थियो। अस्पतालको करिब ९५ प्रतिशत निर्माण पूरा भइसकेको इन्जिनियर शैलेन्द्र क्षत्रीले बताए। उनले भने, ‘अब रंगरोगन गर्ने, सोलार र झ्यालढोकामा आल्मुनियम हाल्ने, सेटिनरीको काम मात्र बाँकी छ। रकम निकासा भए एक महिनामै निर्माण पूरा गरिसक्छौँ।’

गाउँपालिकाको वडा नम्बर २ मा पर्ने ढिकुरपोखरीस्थित पुरानो नाउडाँडा स्वास्थ्यचौकी स्तरोन्नति गरी १० हजार स्क्वायर फिटमा बनिरहेको अस्पतालमा ५८ कोठा छन्।

भवन निर्माणका लागि शिवशक्ति सिम्रन जेभीले ११ करोड ८३ लाखमा ठेक्का पाएको थियो। निर्माण लागत १२ करोड ८५ लाख पुग्ने कम्पनीका प्रतिनिधि भेषराज पौडेल बताउँछन्।

बहुवर्षीय ठेक्कामा लगाइएको अस्पताल भवन निर्माणमा आफूहरूले कोरोना प्रभावका बेला पनि काम गरेको उनी स्मरण गर्छन्। गाउँपालिकाको समन्वयमा कोरोनाका समयमा दिनमा करिब ६० जना मजदुर कार्यरत हुन्थे।

भवन निर्माण आचारसंहिताअनुरूप सोही प्रकृतिको रंगरोगन लगाउने काम भइरहेको छ। यस्तै सेनिटरी तथा झ्यालढोकामा आल्मुनियम हाल्ने काममा ४० जना मजदुर दैनिक खटिने गरेको पौडेलले बताए।

निर्माणले लय लिनुमा गाउँपालिकासँगै स्थानीयवासीको सहयोग महत्त्वपूर्ण रहेको उनी बताउँछन्। ‘जग्गा प्राप्ति सहज भयो। जग्गा विवाद रहेन। त्यस कारण शिलान्यासलगत्तै धमाधम काम भयो। गाउँपालिका, स्थानीयवासी तथा मजदुर कर्मचारीलाई पनि धन्यवाद दिन्छु,’ उनी प्रशंसा गर्न पछि परेनन्।

भौतिक प्रगति प्रशंसायोग्य भए पनि स्वास्थ्य उपकरणसहित इन्टेरियर डिजाइनका लागि स्रोत व्यवस्थापन सुनिश्चित छैन। गाउँपालिकाको स्वास्थ्य महाशाखा प्रमुख ऋषिराम पौडेल चिकित्सकसहित ३० जना कर्मचारीको दरबन्दी रहने भनी स्वास्थ्य मन्त्रालयबाट पत्र आए पनि स्वास्थ्य उपकरणको कुनै ग्यारेन्टी नभएको बताउँछन्। कसले दिने भन्ने निश्चित नहुँदा अन्योलमा रहेको उनको गुनासो छ।

रूपाले चलाउँछ आफ्नै अस्पताल

कास्कीको रूपा गाउँपालिकाले अस्पताल चलाइरहेको छ। गण्डकी प्रदेशमा गाउँपालिकाले चलाएको एकमात्र अस्पताल आफ्नोमात्र भएको गाउँपालिका अध्यक्ष नवराज ओझाको दाबी छ।

केपी ओली सरकारको पालिकास्तरमा जुन दिन अस्पताल शिलान्यास भयो, त्यस दिनदेखि यहाँ अस्पताल सञ्चालन भएको हो। साविकको स्वास्थ्य चौकी स्तरोन्नति गरी विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा दिइएको हो।

नेपाल सरकार र गाउँपालिकाको सहयोगमा निर्मित २५ शय्याको यो अस्पतालले स्थानीय तहमै विशिषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा दिइरहेको छ।

अस्पतालमा इमर्जेन्सी, बहिरंग, ल्याब, भिडियो एक्सरे, एक्सरे, फार्मेसी सुविधा छ। अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. ऋतुराज अधिकारी, अर्का मेडिकल अधिकृत आयुषमोहन भट्टराईसहित २ स्टाफ नर्स, ६ अनमी, ४ प्यारामेडिसे, १ रेडियोग्राफर, २ ल्याब टेक्नियिसन, १ फार्मेसिस्ट, ३ कार्यालय सहयोगी कार्यरत छन्।

बिरामी ओसार्न गाउँपालिकाले दुई वटा एम्बुलेन्स चलाएको छ। गाउँपालिकाका बिरामीलाई एम्बुलेन्स सुविधा निःशुल्क छ। दैनिक ५०/६० जना बिरामी उपचारार्थ आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. अधिकारीले जानकारी दिए।

उनका अनुसार जटिल खालका बिरामीलाई भर्ना गरेर पनि राखिन्छ। कोरोना महामारीले आक्रान्त भएको बेला पोखरासम्म बिरामी धाउनुपर्ने बाध्यताले गाउँकै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिको दबाब बढेको अध्यक्ष ओझा बताउँछन्। अस्पतालमा सबैखालका स्वास्थ्य उपकरण भए पनि भवन साँघुरो छ।

अब अस्पताल निर्माणका लागि ९० रोपनी जग्गा प्राप्ति भइसकेको छ। नयाँ भवन बनाउन टेन्डर प्रक्रियामा गइसकेको उनी बताउँछन्। अस्पताल बनेपछि पोखरा, काठमाडौँ धाउनुपर्ने बाध्यता टर्नेछ। यहाँबाट कास्कीसहित छिमेकी लमजुङ र तनहुँका बिरामीले स्वास्थ्य लाभ लिन सक्नेछन्।

गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्षसमेत रहेका ओझाले अस्पताल निर्माणमा सबैभन्दा कठिनाइ जग्गा प्राप्ति रहेको बताए। उनले भने, ‘नेपाल सरकारले ल्याएको यो एकदमै राम्रो काम भए पनि जग्गा प्राप्ति ठूलो समस्या हो।’

गण्डकी प्रदेशका ८५ पालिकामध्ये तनहुँको घिरिङ गाउँपालिकाले अस्तताल निर्माण प्रक्रिया थालेको छ। गाउँपालिका वडा ३, सुन्धारामा ६ रोपनीमा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको सूचना अधिकारी ध्रुवराज लामिछानेले जानकारी दिए। अन्य केही पालिकामा अस्तपाल निर्माण प्रक्रिया सुरु भए पनि सुस्त रहेको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरू बताउँछन्।

स्वास्थ्य निर्देशनालयसँग छैन तथ्यांक

पालिकाले आफैँ निर्माण गर्ने भएपछि प्रदेशस्तरमा भने यसको रेकर्ड छैन। पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयका प्रशासन प्रमुख नगेन्द्र पौडेल स्थानीय तहले १५ शय्यासम्मको अस्पताल आफैँ बनाउने भनेपछि गण्डकीमा पालिकाले केकति बनाए भन्ने आफूहरूसँग तथ्यांक नहुने बताउँछन्। उनी भन्छन्, ‘यो संघ सरकारले हेर्छ। हामीलाई थाहा हुन्न।’

कास्कीका पोखरा महानगरसहित अन्य ४ गाउँपालिका छन्। रूपा र अन्नपूर्णमा पालिकास्तरको अस्पताल प्रशंसायोग्य रहे पनि मादी र माछापुच्छ्रे जग्गा र डीपीआरमै अल्झिएका छन्।

मादी गाउँपालिकाले अस्पताल निर्माणका लागि ठेक्का लगाइसकेको छ। गाउँपालिकाको छाचोकमा करिब सात रोपनीमा बन्न लागेको अस्पतालमा डीपीआरमा उल्झन आएपछि भने संशोधनका लागि मन्त्रालय पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए। निर्माणका लागि ११ करोडको ठेक्का दिइएको हो। अस्पताल निर्माणका लागि कास्कीकै माछापुच्छ्रे गाउँपालिकामा जग्गा विवाद छ।

आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै बाधक

प्रकाशित: १२ चैत २०७९ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =