पालिका स्वास्थ्य पूर्वाधार

अस्पताल निर्माणमा ठेकेदारको लापरबाही : दुई वर्षमा १० प्रतिशत काम

विवेक विवश रेग्मी १२ चैत २०७९ १८:३६
98
SHARES
अस्पताल निर्माणमा ठेकेदारको लापरबाही : दुई वर्षमा १० प्रतिशत काम

इटहरी- कोशी प्रदेशका दुई ठूला सहर विराटनगर र धरानबीचमा पर्ने इटहरी चौरास्तको सहर हो। यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा दैनिक धरान, विराटनगर धाउनुपर्ने बाध्यता छ। पछिल्लो समय इटहरी अस्पतालले काम गर्ने शैलीमा परिवर्तन गरेपछि सेवाग्राहीमा झिनो आशा पलाएको छ।

एक वर्षअघिसम्म अस्पतालमा पर्याप्त डाक्टर नभएर बिरामी उपचार नगराई फर्कनुपर्ने बाध्यता थियो। अहिले भने उपचारमा सुधार ल्याएको अस्पताल प्रशासनले दाबी गरेको छ।

इटहरी अस्पतालका निरीक्षक दामोदर गौतम अस्पतालमा बिरामीलाई रेफर दिँदै पठाउनुपर्ने बाध्यता हटेको बताउँछन्। अस्पतालमा हाल पाँच जना डाक्टरले दैनिक ओपीडी सेवा दिँदै आएको उनले बताए। अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा पनि उपलब्ध हुन थालेको छ।

‘हामीले अहिले ६ बेडबाट इमर्जेन्सी सेवा दिदैँ आएका छौँ। पाँच जना एमबीबीएस डाक्टर, तीनजना विशेषज्ञसहित सेवा प्रदान भइरहेको छ,’ गौतमले भने, ‘अहिले दैनिक तीन सय पचासदेखि चार सयसम्म बिरामी आउने गरेका छन्।’ मौसमी बिरामी, स्त्री रोग, बिरामी बालबालिका धेरै आउने उनले बताए।

इटहरी उपमहानगरपालिका स्वास्थ्य महाखाशाका प्रमुख दिनेश चौधरी प्रस्तावित १५ बेडबाट इमर्जेन्सी सेवा बढाइने बताउँछन्। निर्माणाधीन भवन तयार भएपछि थप बिरामीको उपचार हुने चौधरीको दाबी छ।
०७७ मंसिर १५ गते देशैभर एकैपटक ३९६ वटा आधारभूत अस्पताल भवनको शिलान्यास हुँदा कोशी प्रदेशको सुनसरीका पाँच स्थानीय तहमा पनि निर्माण प्रक्रिया अघि बढेको थियो। आधारभूत अस्पतालमध्ये इटहरीबाहेकका अन्य पालिकामा काम सुस्त गतिमा छ।

इटहरीमा करिब ६० प्रतिशतभन्दा बढी काम सकिएको उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए। तर म्याद सकिएकाले काम रोकिएको छ। ‘१५ शय्याको अस्पताल बनाउने भनेर दुई वर्षअघि ठेक्का लागेको थियो,’ घिमिरेले भने, ‘ मंसिरदेखि म्याद सकिएसँगै काम रोकिएको छ।’ उनका अनुसार प्रतिष्ठा गिरीदेवी कम्पनीले १२ करोड ९४ लाख रुपैयाँमा ठेक्का लिएको छ।

‘२०७८ असार ३ गते सम्झौता भइकन काम सुरु भएको थियो,’ घिमिरेले भने, ‘अब बाँकी काम यही असारसम्म सक्नेगरी हामीले निर्माण कम्पनीलाई भनेका छौँ।’ केन्द्रीय सरकारकै बजेटमा ठेक्का लागेको हो। उनका अनुसार अस्पताल निर्माण भइसकेपछि भने शल्यक्रिया पनि सोही अस्पतालमा हुनेगरी प्रबन्ध मिलाइएको छ।

अस्पताल निर्माण व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका इटहरीका नगर प्रमुख हेमकर्ण पौडेल चाँडै काम सम्पन्न हुनेमा आशावादी छन्। बजेट आएपछि बाँकी काम सम्पन्न हुने उनको दाबी छ।
अन्य ठाउँमा भने कतै बजेट अभाव र कतै ठेकेदार कम्पनीको लापरबाहीले ३० प्रतिशत पनि काम सकिएको छैन।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा आधारभूत अस्पताल बनाउने सरकारको लक्ष्यअनुरुप अस्पतालको शिलान्यास गरिएको थियो। देवानगन्ज गाउँपालिका १० बेड र अन्य चार पालिकामा १५ बेडको अस्पताल बनाउने तयारी छ।
सुनसरीको रामधुनी ६ स्थित बक्लौरी स्वास्थ्य चौकीमा पाँच प्रतिशत मात्र काम सम्पन्न भएको छ। शिलान्यास भएको दुई वर्षसम्म निर्माण सुरु नभएको सो अस्पताल केही महिनाअघि मात्र निर्माणको प्रक्रिया सुरु भएको हो।
ठेकेदार कम्पनीको लापरबाहीले यतिका समयसम्म काम हुन नसकेको रामधुनी नगरपालिकास्थित योजना शाखा प्रमुख सुबोध निरौलाले बताए।  ‘ठेकेदार कम्पनीले समयमा काम सुरु गरेन। अग्रीम भुक्तानी सुनिश्चिततासमेत जफत गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘त्यसपछि हामीले काम सुरु नगर्नुको कारण पटकपटक सोध्यौँ र उहाँहरूले काम गर्ने प्रतिवद्धता जनाएपछि केही समयअघिदेखि निर्माण सुरु भएको छ।’

उनका अनुसार यो अस्पताल निर्माण सक्न करिब आठ करोड रुपैयाँ लागत लाग्नेछ।  बराहक्षेत्र–१ चतरामा शिलान्यास भएको अस्पतालमा हालसम्म १० प्रतिशत मात्रै काम सकिएको छ। वडाध्यक्ष होमप्रसाद गौतमले ठेकेदार कम्पनीको लापरबाहीका कारण काम सुस्त गतिमा रहेको जानकारी दिए। उनले ठेकेदार कम्पनीले काम गर्दै छोड्दै गर्दा हालसम्म भुइँतलाको केही काम मात्रै सकिएको बताए। ‘ठेकेदार कम्पनीले समयमा र गुणस्तरीय काम गर्न सकेन,’ उनले भने, ‘गुणस्तरहीन इँटा लगाएकाले सबै भत्काएर गुणस्तरीय सामान लगाउन भनेका छौँ।’

दक्षिणी क्षेत्रमा पर्ने हरिनगर र देवानगन्जमा भने ३० प्रतिशत काम सकिएको बताइएको छ। हरिनगर गाउँपालिकाका ओभरसियर विकेश मेहताका अनुसार बजेट अभावका कारण काम गर्न समस्या भएको छ।
‘बजेट अभावले काम गर्न निकै समस्या छ। ठेकेदार कम्पनीले समेत पर्खिन नसक्ने, भएको कामको भुक्तानी चाँडै दिनुपर्ने माग गरिरहेका छन्,’ उनले भने, ‘यही हिसाबले निर्माण कार्य हुने हो भने अझै दुई वर्ष लाग्न सक्छ।’

देवानगन्ज स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बजेट कम र ढिलो आएकाले काम गर्न नसकिएको बताए। धनकुटाको साँगुरीगढी गाउँपालिका ९ मा आधारभूत अस्पताल भनव शिलान्यास मात्रै भएको छ। आधारभूत अस्पतालका स्वास्थ्य संयोजक गणेश यादवले करिब दुई महिनाअघि शिलान्यास भएको उक्त अस्पतालको काम सुरु भइनसकेको बताए। ‘१५ बेडको अस्पताल बन्नेगरी ठेक्का लागेको छ, कामचाहिँ सुरु हुन बाँकी छ,’ यादवले भने, ‘अब काम हुने प्रक्रियामा छ।’

विराटनगर महानगरपालिकामा आधारभूत अस्पताल बनिसकेको छ। महानगरका स्वास्थ्य प्रमुख हैदर अलीले दुई वटा वडामा स्थानीय सरकारले नै आधारभूत अस्पताल बनाएको जानकारी दिए। उनका अनुसार ती अस्पतालका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छैन।

विराटनगर १५ मा १५ बेडको र १९ मा ५ बेडको आधारभूत अस्पताल निर्माण गरिएको हो। अलीले भने, ‘संघीय सरकारले बजेट नदिए पनि स्थानीय सरकारले आवश्यकताअनुरुप निर्णय गर्न सक्छ। हामीले सोहीअनुसार यी दुई वटा वडामा आधारभूत अस्पताल निर्माण गरेका हौँ।’

प्रकाशित: १२ चैत २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 10 =