इटहरीमा अवैध संरचना भत्काउन थालियो [फोटो फिचर]

विवेक विवश रेग्मी १३ चैत २०८० १२:०३
506
SHARES
इटहरीमा अवैध संरचना भत्काउन थालियो [फोटो फिचर]

इटहरी-  इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन सुरु गरेको छ। बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाउन सुरु गरेको हो। मंगलबार (आज)बाट इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजरसहित खोला पैनी पुगेका थिए। पटकपटक सूचना जारी गर्दा पनि नभत्काएपछि अवैध संरचना भत्काउन सुरु गरेको पौडेलले बताए।

अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको जिकिर छ। टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको दुवै किनारबाट ६(६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६र६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको हो।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको पौडेलले बताए।

खासगरी इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरेको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाँगो माटोले पुरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरू खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गर्थ्यो। जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सधैँका लागि तटबन्ध नलगाउनुजस्ता कारणले पनि इटहरीबासी बाढीबाट प्रताडित बन्दै आएका छन्।

प्रकाशित: १३ चैत २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =