पालिका स्वास्थ्य पूर्वाधार

सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी

पदमराज भट्ट १२ चैत २०७९ १९:२५
334
SHARES
सुदूरपश्चिम : कतै सम्झौताअघि नै भवन तयार, कतै जग्गामा खिचातानी कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन। तस्बिर : पदमराज भट्ट

धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिकामा तोकिएको समयअघि नै १५ शय्याको अस्पताल भवन निर्माण गरिएको छ। दोदोधारा स्वास्थ्य चौकी स्तरोन्नति गरी निर्माण गरिएको आधारभूत अस्पताल भवन हस्तान्रण प्रक्रियामा रहेको गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले जानकारी दिए। उनले भने, ‘भवन निर्माण गरी सकिएको छ। अब ठेकेदारबाट चाँडै हस्तान्तरण हुने प्रक्रियामा छ।’

भवन निर्माण कार्यका २०७८ असार २० मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभीसँग १३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो।  सम्झौताअनुसार ठेकेदार कम्पनीले आगामी असार २० गते हस्तान्तरण गर्नुपर्ने थियो। तोकिएको भन्दा चार महिनाअघि नै सबै काम सम्पन्न गरी हस्तान्तरण गर्न लागिएको लुम्बनी/थोदुङ/शिव खिम्ती जेभीका प्रतिनिधि एकेन्द्र मल्लले जानकारी दिए।

उनका अनुसार भवन, खानेपानीका लागि बोरिङ, ट्रान्सफर्मर खरिद तथा जडान, ल्याडस्केपिङ, भवनको सेनटरी र इलेक्ट्रिकल कार्य सबै पूरा भइसकेको छ। भवन निर्माण भएपछि गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ। ‘१७ जना स्वास्थ्य जनशक्तिका लागि विज्ञापन खुलाएका छौँ। चाँडै पदपूर्ति भएर स्वास्थ्य सेवा प्रवाह हुनेछ’, उपाध्यक्ष गिरीले भने। उनका अनुसार अस्पताल सञ्चालनका लागि अन्य मापदण्ड भने गाउँपालिकाले चाँडै तयार पार्ने भएको छ।

जनप्रतिनिधिको निरन्तर अनुगमन, स्थानीय बासिन्दाको खबरदारी र ठेकेदार कम्पनीको निरन्तर सक्रियताले तोकिएको समयभन्दा चाँडै भवन निर्माण सम्पन्न भएको गिरीले बताए। उनले भने, ‘बिरामी भएमा धनगढी, महेन्द्र नगर, नेपालगन्ज र भारतको लखनउसम्म जानुपर्ने बाध्यता छ। सोही कारण सबैतिरबाट पहल भएपछि अस्पताल भवन चाँडै तयार भयो।’

तत्कालीन केपी ओली सरकारले १७ मंसिरमा देशैभर अस्पताल शिलान्यास गरिएपछि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ५२ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइएको थियो। ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ५२ स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट भएका थिए।

कञ्चपुरको बेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि निर्माण व्यवसायी पेस्की रकम लिए पनि काम अगाडि बढेको छैन। नगरपालिकाले २०७७ माघ १९ मा टेन्डर आह्वान गरी राजेन्द्र निर्माण सेवासँग २०८० वैशाख २५ मा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा ९ करोड ७५ लाखमा सम्झौता गरेको थियो।

बेदकोट नगरपालिकाका- ३ मा रहेको दैजी स्वास्थ्य चौकीलाई १५ शय्याको बनाउने निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले ८५ लाख पेस्की लिएर काम सुरु नगरेको भन्दै स्थानीय आन्दोलित भएका थिए।

बेदकोट नगरपालिकाका प्रमुख भोज बोहराले अस्पतालको भवन निर्माण हुने क्षेत्रमा विद्यालयको जमिन रहेकाले निर्माण कार्यमा ढिलाइ भएको दाबी गरे। विद्यालयसँग जग्गा प्राप्ति गरेपछि काम अघि बढाइने उनको भनाइ छ।  संरचना निर्माण स्थलको जग्गाको सुनिश्चित नभईकन निर्माण व्यवसायीसँग सम्झौता गर्दा काम सुरु हुन सकेको छैन।

निर्माण स्थलमा लागत अनुमानअनुसारको संरचना बनाउन आवश्यक जमिन नहुँदा २० महिनापछि मात्रै जग्गा प्राप्त भएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले बताए। कञ्चनपुरको कृष्णपुर नगरपालिकाकाले वडा नं ५ र ८ गरी २ ठाउँमा अस्पताल निर्माण गर्ने निर्णय गरी टेन्डर आह्वान गरी राजेन्द्र निर्माण सेवासँग सम्झौता गरेको थियो।

निर्माण स्थलमा संरचना बनाउन आवश्यक जमिन नभएकाले काम सुरु नभएको निर्माण कम्पनीले जनाएको छ।  कृष्णपुर नगरपालिकाका-५ गुलरियास्थित साबिकको गुलरिया स्वास्थ्य चौकी र वडा नं ८ मा रहेको साबिकको रैकबार बिचुवा स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्ने निर्णय भएको थियो।

नगरपालिकाका दुई ठाउँमा अस्पताल बनाउने निर्णय भएपछि विवाद बढेको छ। स्वास्थ्य मन्त्रालयले एक स्थानीय तहमा एक अस्पताल बनाउने मापदण्ड बनाए पनि गाउँपालिकामा विवाद भएकाले  निर्माण अगाडि नबढेको ठेकेदारा कम्पनीले जनाएको छ।

‘निर्माण स्थलमा आवश्यक निर्माण सामग्री पुर्‍याउँदासमेत आवश्यक जग्गा नभएपछि हामीले कसरी बनाउने?’ निर्माण कम्पनी प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘हामीले आवश्यक जमिन उपलब्ध गराउन भनेर पटकपटक पत्राचार गरेका छौँ। फिल्डमा गएर संरचनाको लागि जमिन नाप्दा पुग्दैन भने संरचना कसरी बन्छ?’ कृष्णपुर नगरपालिको गुलरियामा १५ शय्याको अस्पताल निर्माण र रैकबार बिचुवा स्वास्थ्य चौकीमा अस्पताल निर्माणका लागि एकै पटक टेन्डर गरी २०७८ जेठ ६ मा सम्झौता गरेको थियो।

प्रदेशका अन्य पालिकामा पनि धमाधम अस्पताल निर्माण भइरहेको छ। अस्पताल निर्माण भइरहेकामा बैतडीका ७, बाजुराका ७, डोटीका ७ , कञ्चनपुरका ६, अछामका ६, कैलालीका ५, दार्चुलाका ५, बझाङका ५ र डडेल्धुराका ३ स्थानीय तह छन्।

प्रकाशित: १२ चैत २०७९ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =