ह्यारी केन : इंग्ल्यान्डका ‘गोल किङ’

हिमाल प्रेस १० चैत २०७९ ९:४९
16
SHARES
ह्यारी केन : इंग्ल्यान्डका ‘गोल किङ’ इटालीविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इंग्ल्यान्डका ह्यारी केन।

काठमाडौँ- ह्यारी केनले कीर्तिमान कायम गर्दा इंग्ल्यान्डले बिहीबार राति इटालीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको छ। केनले युरो २०२४ छनोटमा इंग्ल्यान्डलाई विजयी सुरुवात दिलाउन ४४ औँ मिनेटमा पेनाल्टी गोल गरे। जुन उनले इंग्ल्यान्डका लागि गरेको ५४ औँ गोल थियो। अब उनी इंग्ल्यान्डका लागि उच्च गोलकर्ता बनेका छन्।

यसअघि यो कीर्तिमान वायन रुनीको नाममा थियो। उसो त केनले रुनीको कीर्तिमान गत विश्वकपमा भंग गर्न सक्थे। तर क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि केनले केही महिना पर्खनु परेको हो। यसपालि भने उनी पेनाल्टीमा असफल भएनन्। घरेलु टिमका फुलब्याक जियोभानी डे लोरेन्जोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भीएआरले इंग्ल्यान्डलाई पेनाल्टीको अवसर दिएको थियो।

नेपल्सको डिएगो म्याराडोना रंगशालामा इंग्ल्यान्डको अर्को गोल डेक्लान राइसले गरे। उनले पहिलो हाफको १३ औँ मिनेटमा पाहुना टिमको गोलको खाता खोलेका थिए। इटालीले दोस्रो हाफमा गोल फर्कायो। तर माटियो रेटेगुइले गरेको त्यो गोल हाल टार्न पर्याप्त रहेन।

रेटेगुइले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्। अर्जेन्टिनामा जन्मिए पनि रेटेगुइले इटाली रोजेका हुन्। मावली हजुरबुवा इटालेली भएकाले रेटेगुइले इटालीको नागरिकता लिन पाएका हुन्। हाल टिग्रेबाट अर्जेन्टिनाको शीर्ष श्रेणीको लिग खेलिरहेका रेटेगुइले इटालीमा देखिएको स्ट्राइकरको खडेरी तोड्ने विश्वास गरिएको छ।

झन्डै ६ दशकयता कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नजितेको इंग्ल्यान्ड युरो २०२० को फाइनलमा पुगेको थियो। वेम्बलीमा भएको त्यो फाइनलमा बाजी भने इटालीले मारेको थियो। नयाँ संस्करणको युरो छनोटमा इटालीलाई इटालेली मैदानमा पन्छाउँदा इंग्ल्यान्डले फाइनलमा भोगेको हारको बदला भन्न मिल्दैन।

यद्यपि यो जित इंग्ल्यान्डका लागि खुसीयाली मनाउने बलियो बहाना भने हो। किनभने इंग्ल्यान्डले इटालीमाथि उसको मैदानमा सन् १९६१ यता जित दर्ता गर्न सकेको थिएन।

यो खेलअघि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्ना टिमले उपाधिको सपना देख्ने हो भने इटाली जस्ता टिमलाई हराउनु पर्ने बताएका थिए। खेलाडीले साउथगेटको कुरा सुने र मैदानमा प्रतिक्रिया दिए।

लगातार दुई विश्वकप गुमाएको इटालीले युरो उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ। तर आउँदो युरोको छनोटको पहिलो खेलमै अपेक्षाकृत प्रदर्शन गर्न सकेन। विशेषगरी पहिलो हाफमा रोबर्टो मान्सिनी नेतृत्वको टिमले खराब खेल्यो। दोस्रो हाफमा रेटेगुइ मैदान प्रवेश गरेसँगै इटालीको खेल सुध्रियो। तर अंक खोस्न सकेन। र, सन् १९९९ यता युरो छनोटको सुरुवाती ‘होम म्याच’ मा पहिलो पटक पराजय भोग्यो।

‘दोस्रो हाफमा मेरो टिमले राम्रो खेल्यो। त्यो प्रदर्शनले म उत्साहित छु। आजको खेलमा हामीले अंक बटुल्न नसके पनि आगामी खेलका लागि जग बसालेका छौँ जस्तो लाग्छ,’ मान्सिनीले भने।

सहायक प्रशिक्षक जियानलुका भियाल्लीको निधनपछि इटाली पहिलो पटक मैदानमा उत्रिएको हो। मान्सिनीका सहकर्मी भियाल्लीको गत जनवरीमा क्यान्सरका कारण निधन भएको थियो। सन् १९८० र ९० को दशकमा मान्सिनी र भियाल्ली साम्पडोरियामा सँगै थिए। अग्रपंक्तिमा खेल्ने यी दुईलाई मिल्ने साथी मानिन्थ्यो।

युभेन्टस र चेल्सीबाट समेत खेलेका भियाल्लीको सम्झना र सम्मानमा भियाल्लीका तस्बिर डिएगो म्याराडोना रंगशालाका ठूला स्क्रिनमा देखाइएको थियो। युरो जितेपछि मान्सिनी र भियाल्लीले सँगै खुसीयाली मनाइरहेको तस्बिर देखाइँदा इटालेली समर्थक भावुक बनेका थिए।

गोलका राजा
इंग्लिस प्रिमियर लिगमा टोटनहमबाट खेल्ने केनले अब देश र क्लबबाट सर्वाधिक गोल गरेको कीर्तिमान आफ्नो भागमा पारेका छन्। २९ वर्षीय स्ट्राइकर केन गत फेब्रुअरी टोटनहमका उच्च गोलकर्ता बनेका थिए। सन् २०१० यता लन्डनको यो क्लबबाट खेलिरहेका उनले ४२५ खेलमा २७१ गोल गरेका छन्।

केनअघि टोटनहमका लागि सर्वाधिक गोल गरेको कीर्तिमान जिम्मी ग्रिभ्सको नाममा थियो। सन् १९६१ देखि १९७० को बीचमा ग्रिभ्सले ३७९ खेलमा २०८ गोल गरेका थिए।

गोल गर्ने मामलामा दुई कीर्तिमान राखे पनि केनले क्लब र देशबाट उपाधि जित्न सकेका छैनन्। च्याम्पियन्स लिग र लिग कपमा उपविजेता बन्नु नै उनले क्लब फुटबलमा हासिल गरेको ठूला सफलता हुन्। इंग्ल्यान्डबाट गत वर्ष युरो उपाधिनजिक पुगेका थिए।

तर उपाधि नजित्दैमा उनको योगदान भने खतरामा पर्नेछैन। इंग्ल्यान्ड पछिल्ला दुई विश्वकपको उपाधि दाबेदार मानिनु र युरोको फाइनलमा पुग्नुमा केनको सबैभन्दा ठूलो देन छ। युवा खेलाडीले भरिएको इंग्ल्यान्ड अन्तर्राष्ट्रिय फुटबलमा जाग्दा केन टिमको केन्द्रीय भूमिकामा छन्।

रुनी, ग्यारी लिनेकेर र बबी चाल्टर्न जस्ता खेलाडीलाई गोल संख्यामा पछि पार्नु केनका लागि चानचुने सफलता होइन। करियरको उत्तराद्र्धतिर अघि बढ्दै गरेका केनले केही जितेका छैनन् भन्ने आलोचनालाई उनले गरेका गोलले झापड हान्ने विश्लेषकहरूको भनाइ छ।

केन सन् २००९ मा टोटनहमको एकेडेमीसँग जोडिएका थिए। कुनै समय आर्सनलको एकेडेमीमा पनि रहेका केनलाई टोटनहमले अनुबन्ध गर्दा धेरैको अनुमान थियो, यी किशोरले प्रिमियर लिग खेल्न पाउने छैनन्।

केनले टोटनहमका लागि पहिलो गोल सन् २०११ मा गरेका थिए। युरोपा लिगमा शामरक रोभर्सविरुद्धको खेलमा गोलको खाता खोलेपछि केनलाई दोस्रो गोल गर्न करिब दुई वर्ष लाग्यो।

टोटनहमको सिनियर टिममा स्थान बनाउन संघर्ष गरेका केनलाई ऋण सम्झौता अन्तर्गत लेयटोन ओरियन्ट र मिलवालमा पठाइएको थियो। दुई क्लबमा गरि १४ गोल गरेका केन प्रिमियर लिग खेलिरहेको नर्विच सिटी र त्यसबेला दोस्रो श्रेणीमा रहेको लेस्टर सिटीको जर्सीमा पनि देखिए। नर्विचमा उनले गोलको खाता खोल्न सकेनन् भने लेस्टरमा दुई गोल गरे।

‘त्यो मेरो करियरकै सबैभन्दा न्यून बिन्दू थियो। त्यसबेला १९ वर्ष पुगेको मलाई आफ्नो क्षमतामाथि नै शंका लाग्न थालेको थियो। यदि यी साना क्लबमै खेल्न पाउँदिन भने टोटनहमबाट खेल्न पाउँला त? मलाई सधैँ यही प्रश्नले सताउँथ्यो,’ केनले भनेका छन्।

च्याम्पियनसिपमा खेलेको अनुभव केनका लागि कालान्तरमा महत्त्वपूर्ण साबित भयो। इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग बढी ‘फिजिकल’ हुने भएकाले केन पनि बलिया स्ट्राइकरमा रुपान्तरित भए।

‘लोनमा च्याम्पियनसिपका क्लबबाट खेल्दा मलाई भएको फाइदा चाहिँ भयो। म शारीरिक रुपमा बलियो भए,’ केनले कुनै बेला बेलायती अखबार डेलीमेलसँगको अन्तरवार्तामा भनेका थिए, ‘एक रक्षकसँगको सम्वाद मलाई अझै याद छ। उनले त्यसबेला भनेका थिए, मैले कहिल्यै पहेलो कार्ड पाएको छैन, अब तिमीविरुद्ध डिफेन्ड गर्दा पाउँछु,’

‘तिनले त्यसो भनेको दुई मिनेटपछि हेडरका लागि सँगै उफ्रियौँ, उनी भुइँमा लडे। त्यो दृश्य म आज पनि सम्झिन्छुँ,’ केनले भनेका छन्।

टोटनहममा केनले विश्वस्तरीय प्रदर्शन गर्न थालेको माउरिसियो पोचेटिनो प्रशिक्षक भएपछि हो। सन् २०१४÷१५ सिजन केनका लागि ‘ब्रेकथ्रु’ थियो। उनले त्यो सिजन ३४ खेलमा २१ गोल गरेका थिए। घरेलु लिगको सफलताका कारण केनको अब अन्तर्राष्ट्रिय फुटबलमा पनि चर्चा हुन थाल्यो।

रोय हड्सनले केनलाई सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यर गराए। लिथुआनियासँगको खेलमा रुनीको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेको उनले केही सेकेन्डभित्रै गोल गरेका थिए। डेब्यु सम्झनलायकको भए पनि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने बिर्सनलायकको रह्यो।

युरो २०१६ का चार खेलमा केनले एक गोल पनि गर्न सकेनन्। फलतः इंग्ल्यान्ड अन्तिम १६ बाट घर फर्कियो। त्यो पनि आइसल्यान्डसँग पराजित भएर।

रुस विश्वकपले भने केनलाई ‘ग्लोबल स्टार’ बनायो। यसको मुख्य कारण उनले इंग्ल्यान्डका लागि गरेको नेतृत्वदायी प्रदर्शन थियो। इंग्ल्यान्डलाई सेमिफाइनलसम्म डो¥याउन उनले ६ गोल गरे। ग्यारेथ साउथगेटले कप्तानीको जिम्मेवारी दिएको विश्वकपमा उनले गोल्डन बुट जिते। उनको यो व्यक्तिगत सफलतासँगै इंग्ल्यान्डले हासिल गरेको सफलता थियो, २८ वर्षपछि विश्वकपको अन्तिम चारमा पुग्नु।

‘मलाई लाग्छ मसँग गोल गर्ने प्राकृतिक क्षमता छ। जब म भए ठाउँमा बल आइपुग्छ, मेरो दिमाग चल्दैन, बस शरीर हाबी हुनपुग्छ,’ केनले आफ्नो गोल गर्ने क्षमताबारे भनेका छन्।

विश्वकपको सेमिफाइनलमा पुगेको दुई वर्षपछि इंग्ल्यान्ड महादेसीय प्रतियोगिताको फाइनलमा पुग्यो। तर इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो उपाधि जित्ने अवसरबाट विमुख भयो। त्यसपछि कतार विश्वकपमा त इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलबाट अघि बढ्नै सकेन। युरोमा चार गोल गरेका उनले कतारी भूमिमा दुई गोल र तीन असिस्ट गरे।

धेरै अर्थमा कतार विश्वकप केनका लागि सम्झनलायकको रहेन। विश्वसनीय पेनाल्टीकर्ताको परिचय बनाएका उनी फ्रान्सविरुद्ध चुके। तर यो एक असफल पेनाल्टीले उनको ‘गोल किङ’ को छविलाई धरापमा पार्न सक्दैन। दोहामा गरेको गल्तीलाई केनले नेपल्समा संशोधन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =