युरो २०२४ छनोट : इटालीमा ११ वर्षपछि विजय हासिल गर्ने इंग्ल्यान्डको चाहना

हिमाल प्रेस ९ चैत २०७९ ९:१५
8
SHARES
युरो २०२४ छनोट : इटालीमा ११ वर्षपछि विजय हासिल गर्ने इंग्ल्यान्डको चाहना युराे छनाेटमा इटालीसँग भिड्नुअघि अभ्यासमा इंग्ल्यान्डका खेलाडी।

काठमाडौँ- इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्ना खेलाडीलाई विश्वकपको निराशा भुलेर युरो २०२४ को छनोट अभियानमा सहभागी हुन आह्वान् गरेका छन्। कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्ड युरो छनोटको आफ्नो पहिलो खेलमा इटालीसँग खेल्दैछ।

इटालीको नेपल्सस्थित अर्मान्डो म्याराडोना रंगशालामा हुने खेलमा जित दर्ता गर्न पनि साउथगेटले आफ्ना खेलाडीलाई चुनौती दिएका छन्। इंग्ल्यान्डले सन् १९६१ यता इटालीलाई उसको मैदानमा हराउन सकेको छैन। इंग्ल्यान्डले इटालीविरुद्धको खेल नै नजितेको ११ वर्ष भइसककेको छ।

इंग्लिस टिमले इटालीलाई अन्तिम पटक हराएको सन् २०१२ को मैत्रीपूर्ण खेलमा हो। त्यसबेला स्विटजरल्यान्डमा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले जिताउन फिल जागिएल्का र जर्माइन डेफोले गोल गरेका थिए।

‘यो किसिमको खेल हामीले जित्न सुरु गर्नुपर्छ। हामीले केही समययता ठूला टिमसँग बलियो प्रदर्शन गरिरहेको त छौँ। तर हाम्रो प्रदर्शनमा स्थिरता छैन,’ साउथगेटले बुधबार भने।

साउथगेटले इटालीविरुद्धको खराब इतिहास भत्काउन जरुरी रहेको पनि बताए। ‘हामीले त्यहाँ नजितेको वर्षौ भइसक्यो। सन् १९६१ पछि नजित्नु आफैँमा इतिहास हो। यसलाई भत्काउनु पर्छ,’ साउथगेटले थपे।

विश्वकपमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि साउगेट इंग्ल्यान्डको प्रशिक्षक पदबाट बाहिरिने चर्चा चलेको थियो। तर अहिले आएर उनी आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने मनस्थितिमा देखिन्छन्।

युरो २०२० को फाइनलमा इटालीसँग पराजित भएको इंग्ल्यान्डले सन् १९६६ यता कुनै अन्तर्राष्ट्रिय उपाधि जितेको छैन। टिममा लगातार प्रतिभावान् खेलाडीको आगमन भइरहे पनि विश्वकप र युरो जस्ता महत्त्वपूर्ण उपाधि इंग्ल्यान्डले आफ्नो पोल्टोमा पार्न असफल भइरहेको छ।

यस्तोमा युरो २०२४ माथि इंग्ल्यान्डको स्वाभाविक नजर छ। र छनोट प्रतियोगितालाई ताजा सुरुवात मान्नुपर्ने साउथगेटको भनाइ छ। ‘विगतमा जे जे भए, तिनको अब अर्थ छैन। हामीले फेरि नयाँ आभियान सुरुवात गर्नुछ। र इटालीसँगको यो खेल त्यसकै हिस्सा हो,’ साउगथेटले भने।

इटालीसँगको भिडन्त इंग्ल्यान्डका कप्तान ह्यारी केनका लागि ऐतिहासिक बन्नसक्छ। किनभने घरेलु टिमविरुद्ध कम्तीमा एक गोल गरे उनी इंग्ल्यान्डको उच्च गोलकर्ता बन्नेछन्। हाल उनको र वायन रुनीको नाममा ५३–५३ गोल छ। विश्वकपमा फ्रान्सविरुद्ध पेनाल्टी खेर नफालेको भए उनले इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाइसक्थे।

‘कीर्तिमान राख्नेगरि खेल्न उनी तयार छन्। यो उनका लागि प्रेरणको स्रोत पनि बनेको छ। मलाई थाहा छ, उनी इंग्ल्यान्डको जर्सीमा फेरि एकपटक आफूलाई प्रमाणित गर्न उत्सुक छन्,’ साउथगेटले आफ्ना कप्तानबारे भने।

इंग्ल्यान्डले मार्कस रासफोर्डलाई टिममा समावेश नगरेका कारण पनि केन अझ महत्त्वपूर्ण साबित हुन सक्छन्। म्यानचेस्टर युनाइटेडका फरवार्ड रासफोर्ड हाल घाइते छन्।

इंग्ल्यान्डसँगको खेल सुरु हनुअघि इटालीले जियानलुका भियाल्लीलाई सम्झिनेछ। प्रशिक्षक रोबर्टो मान्सिनीका सहायक रहेका भियाल्लीको गत जनवरीमा ५८ वर्षको उमेरमा निधन भएको थियो। उनी क्यान्सरबाट पीडित थिए।

‘उनको सम्झनाले हामी सबैलाई भावुक बनाउँछ। उनको निधनपछि हामी पहिलो खेल खेल्दैछौँ। यसकारण यो खेल भावनात्मक रुपमा हाम्रा लागि सजिलो हुनेछैन। उनीसँग मैले सँगै खेले। सँगै यो टिमलाई प्रशिक्षण गराइयो। उनी हाम्रो स्मृतिमा छन्। मलाई लाग्छ उनी हाम्रै वरपर छन्,’ मान्सिनीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =