युरो छनोट राउन्डअप : जोसिलो फ्रान्स, लुकाकुको ह्याट्रिक र पोल्यान्ड पराजित

हिमाल प्रेस ११ चैत २०७९ १२:१४
12
SHARES
युरो छनोट राउन्डअप : जोसिलो फ्रान्स, लुकाकुको ह्याट्रिक र पोल्यान्ड पराजित

काठमाडौँ- किलियान एम्बाप्पेले कप्तानी गरेको पहिलो खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४-० को जित दर्ता गरेको छ। स्टाडे डे फ्रान्समा युरो २०२४ छनोटको सुरुवात गर्दा एम्बाप्पेले दुई गोल गरे। शुक्रबार रातिको यो खेलमा एम्बाप्पेले एन्टोइन ग्रिजमनलाई गोलका लागि पास उपलब्ध गराए। विश्वकप उपविजेताको अर्को गोल रक्षक डायोट उपमेकानोको नाममा रह्यो।

लामो समयदेखि कप्तान रहेका ह्युगो लोरिसले संन्यास लिएपछि एम्बाप्पेलाई कप्तान बनाइएको हो। पछिल्ला दुई विश्वकपमध्ये एक जितेको फ्रान्स टिम पुनः निर्माणको चरणमा छ। यो अभियानको नेतृत्वकर्ता एम्बाप्पेले गर्ने भएका हुन्। १८ वर्षीय एम्बाप्पेलाई फ्रान्सेली टिममा डेब्यु गराउने प्रशिक्षक डिडिर डेस्चाम्प्सले ग्रिजमन जस्ता अनुभवी खेलाडी हुँदाहुँदै पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्डलाई नयाँ कप्तान बनाएका हुन्।

घरेलु मैदानमा फ्रान्सलाई दोस्रो मिनेटमै अग्रता दिलाउन ग्रिजमनले गोल गरेका थिए। डच टिमको बक्सभित्र एम्बाप्पेले ग्रिजमनलाई पास दिएका थिए। जसलाई ग्रिजमनले वान टच गोलमा परिणत गरे।

विश्वकपमा जस्तै प्लेमेकरको भूमिकामा रहेका ग्रिजमनको प्रिकिक फ्रान्सको दोस्रो गोलको कारण बन्यो। फ्रिकिकबाट आएको बललाई पाुहना टिमका गोलरक्षक यास्पर क्लिसेनले संकलन गर्न सकेनन्। बक्सभित्र रहेका बायर्न म्युनिखबाट खेल्ने उपमेकानोले सो बललाई हुलमुलकै स्थितिमा जाली चुमाए।

फ्रान्सको तेस्रो गोल एम्बाप्पेको नाममा रह्यो। पहिलो हाफको २१ औँ मिनेटमा फ्रान्सको अग्रता तेब्बर बनाउन एम्बाप्पेले अउरेलियन टुचमनीको सहयोगमा गोल गरे।

बल पोसेसनमा नेदरल्यान्ड्सभन्दा कमजोर देखिनुका बाबजुद पहिलो हाफमा लगातार गोल गरेको फ्रान्सले दोस्रो हाफमा एक गोल थप्यो। बल लिएर १८ यार्ड बक्सभित्र छिरेका एम्बाप्पेले गरेको चलाखीपूर्ण प्रहार गोलमा परिणत भयो।

आतिरिक्त समयमा नेदरल्यान्ड्सले गोल अन्तर घटाउने मौका पाएको थियो। उपमेकानोले ह्यान्ड गरेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी दिइयो। तर मेम्फिस डिपेको प्रहार फ्रान्सका गोलरक्षक माइक माइगनले विफल बनाइदिए।

जितपछि एम्बपाप्पेले फ्रान्स मजबुत लय देखाउन प्रतिबद्ध रहेको प्रतिक्रिया दिए। ‘विश्वकपमा फाइनलबाहेक बाँकी खेलमा हाम्रो प्रदर्शन सन्तोषजनक थियो। हामी त्यही लयलाई निरन्तरता दिन चाहन्छौँ। ताकि समर्थकले रमाइलो मानेर खेल हेरुन्,’ एम्बाप्पेले भने।

नेदरल्यान्ड्सविरुद्धको जित सकारात्मक सुरुवात भए पनि एउटा खेलको नतिजाले आफूहरू मात्तिन नहुने उनको भनाइ थियो।

उता नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कुमनले आफ्नो टिमका केही खेलाडी बिरामी परेकाले प्रदर्शनमा असर परेको बताए। ‘हामीले औसत प्रदर्शन ग¥यौँ। यसको कारण केही खेलाडीको अनुपस्थिति हो। यद्यपि म यो कारणलाई अघि सारेर आफू पछि हट्न चाहन्नँ,’ कुमनले भने।

नेदरल्यान्ड्सको टिममा कोडी गाक्पो, माथ्थिस डे लिट, सेभन बुटमन, डेन्जल डमफ्रिज र फ्रान्की डे योङ थिएनन्। विश्वकप फाइनल खेलेको फ्रान्सेली टिममा चार परिवर्तन गरिएको थियो। रक्षापंक्तिमा एसी मिलानका माइगन र लिभरपुलका इब्राहिम कोनाटेलाई मौका दिँदा किंग्स्ले कोमन र रान्डल कोलो मौनीले एम्बाप्पेसँगै अग्रपंक्ति सम्हाले। लोरिससँगै संन्यास लिएका राफाएल भारानलाई स्टाडे डे फ्रान्समा खेल सुरु हुनुअघि बिदाई गरिएको थियो।

युरो छनोटको समूह ‘बी’ मा रहेको फ्रान्सले अब दोस्रो खेलमा आयरल्यान्डको सामना गर्नेछ। यो खेल मंगलबार आयरल्यान्डको मैदानमा हुनेछ। नेदरल्यान्ड्सले भने घरेलु मैदानमा जिब्रलटारसँग प्रतिस्पर्धा गर्नेछ।

उता बेल्जियमले पनि जितसहित छनोटको सुरुवात गरेको छ। स्विडेनमाथि उसकै मैदानमा ३–० को विजय हासिल गर्दा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले ह्याट्रिक गरे।

विश्वकपको समूह चरण पार नगरेको बेल्जियमलाई ताजा सुरुवात दिलाउन लुकाकुले ३५, ४९ र ८२ औँ मिनेटमा गोल गरेका थिए। यो खेल नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोका लागि पहिलो थियो। ‘स्विडेन आएर तीन गोल गर्दै जित्नु सामान्य होइन,’ टेडेस्कोले भने।

केभिन डे ब्रुएनाको कप्तानीमा रहेको बेल्जियमविरुद्ध भेट्रान सेन्ट्रल फरवार्ड ज्लाटन इब्राहिमोभिच दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। तर ४१ वर्षीय इब्राहिमोभिचले कमाल गर्न सकेनन्।

बेल्जियम र स्विडेन रहेको समूह ‘एफ’ मै अस्ट्रियाले अजरबैजानलाई ४–१ ले पन्छायो। राल्फ राग्निकको प्रशिक्षणमा जित दर्ता गर्दा अस्ट्रियाका लागि मार्सल साबिट्जर एक्लैले दुई गोल गरे। अरु दुई गोल माइकल ग्रेगोरिच र क्रिस्टोफ बौमगार्टनरको नाममा रह्यो।

समूह ‘ई’ मा फर्नान्डो सान्तोसले पोल्यान्डलाई पहिलो खेलमा जित दिलाउन सकेनन्। चेक गणतन्त्रले घरेलु मैदानमा मैदानमा पोल्यान्डलाई ३–१ ले निराश बनाउँदा लाडिस्लाभ क्रेज्की, थोमस भानकारा र यान कुच्टाले एक–एक गोल गरे। पोल्यान्डबाट डामियान सिज्मान्स्कीले एक गोल फर्काए।

समूह ‘जी’ मा सर्बियाले डुसान टाडिच र डुसान भ्लाहोभिचको गोलको मद्दतमा लिथुआनियालाई पराजित ग¥यो। उता मोन्टेनेग्रोले बुल्गेरियामाथि १–० को साँघुरो जित हासिल गर्दा निकोला क्रोस्टोभिचले निर्णायक गोल गरे।

छनोटमा युरोपका ५३ टिमलाई १० समूहमा विभाजन गरिएको छ। तीन समूहमा ६–६ टिम छन् भने बाँकीमा पाँच–पाँच टिमलाई राखिएको छ। यी सबै समूहबाट दुई–दुई टिम अर्को वर्षको जुन–जुलाईमा हुने युरोमा स्वतः छानिनेछन्। आयोजकका नाताले जर्मनीको स्थान पहिल्यै सुरक्षित छ। बाँकी तीन स्थान भने २०२२÷२३ यूईएफए नेसन्स लिगका उत्कृष्ट तीन टिमलाई दिइनेछ। जो युरो छनोटमा असफल भएको हुनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =