भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

हिमाल प्रेस १४ वैशाख २०८१ ९:०४
भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर- खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ।

महानगरपालिकाले उक्त संस्थालाई चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो। विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए।

‘अपांगता भएकाहरूको जीवन सहज बनाउन नसके हामीले भनेको ललितपुर महानगर ‘स्मार्ट’ सहर बन्दैन, त्यसैले हामी उहाँहरूसँगै छौँ। यो सुन्दरढोका साथीसेवाले अपांगताको क्षेत्रमा उदाहरणीय काम गरेको छ। यस्तो संस्थासँग सहकार्य गर्दै अपांगता भएकाहरूको मुहारमा खुसी ल्याउन हामी प्रतिबद्ध छौँ’, नगरप्रमुख महर्जनले भने।

उनले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी अपांगता भएकाहरूका लागि ‘ह्वीलचियर’ खरिदमा खर्च गरिएको जानकारी दिए।

सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले प्राकृतिक खुट्टाविहीनलाई सहयोग गरेकामा कृतज्ञता व्यक्त गरे। कृत्रिम खुट्टाका निम्ति सिफारिस भएका निशा बुढा र मोहन रोकाले प्राप्त सहयोगबाट आफूहरूलाई जीवन यापनमा सहज हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १४ वैशाख २०८१ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =