युरो छनोट : इंग्ल्यान्डको दोस्रो जित, गोल लयमा रोनाल्डो र काजाकस्तानसँग डेनमार्क स्तब्ध

हिमाल प्रेस १३ चैत २०७९ १२:५३
6
SHARES
युरो छनोट : इंग्ल्यान्डको दोस्रो जित, गोल लयमा रोनाल्डो र काजाकस्तानसँग डेनमार्क स्तब्ध युरो छनोटमा लक्जम्बर्गविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै क्रिस्टियानो रोनाल्डो।

काठमाडौँ- ह्यारी केनले गोल लयलाई निरन्तरता दिँदा इंग्ल्यान्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार वेम्बलीमा युक्रेनलाई २-० ले पराजित गर्दा इंग्ल्यान्डका लागि केनबाहेक बुकायो साकाले एक गोल गरे। आइतबार नै पोर्चुगलले कमजोर लक्जमबर्गमाथि ६-० को विजय हासिल गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।

गत साता इंग्ल्यान्डको उच्च गोलकर्ता बनेका केनले साकोको क्रसमा ३७ औँ मिनेटमा गोल गरेका थिए। आर्सनलका साकाले तीन मिनेटपद्धि आफैँ गोल गरे। लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै साकाले घरेलु टिमको अग्रता दोब्बर बनाएका थियो। राष्ट्रिय टिमका लागि साकाको यो आठौँ गोल हो।

हेन्डरसन र डेक्लान राइससँगै इंग्ल्यान्डको सेन्ट्रल मिडफिल्डमा खेलेका ज्युड बेलिङहमले दुई खेलमा दुई जित दर्ता गरेर आफूहरूले आफ्नो क्षमता प्रमाणित गरेको बताए। ‘यस्तो सकारात्मक सुरुवातको लक्ष्यमा थियौँ, सफल भयौँ। यसरी लक्ष्यमा सफल हुँदा सन्तुष्ट छौँ,’ बेलिङहमले भने

इटालीलाई २-१ ले पराजित गर्दै युरो छनोटको सुरुवात गरेको इंग्ल्यान्ड समूह सी मा ६ अंकका साथ पहिलो स्थानमा छ। सन् १९६१ यता पहिलो पटक इंग्ल्यान्डसँग घरेलु मैदानमा हारेको इटाली दोस्रो स्थानमा छ। इटालीले आइतबार राति माल्टालाई २-० ले पन्छायो।

इटालीको जितमा माटियोे रेटेगुई र माटियो पेसिनाले एक–एक गोल गरे। इंग्ल्यान्डविरुद्ध डेब्यु खेलमै गोल गरेका रेटेगुईले लगातार दोस्रो गोल गर्न सान्द्रो टोनालीको कर्नरबाट आएको बललाई उपयोग गरे। टोनालीकै कारण इटालीको दोस्रो गोल पनि सम्भव भएको थियो। उनले दायाँ विंगबाट माल्टाको बक्सतिर निकालिदिएको पासलाई पेसिनाले गोलमा परिणत गरेका थिए।

युक्रेनविरुद्धको खेलमा इंग्ल्यान्डका ह्यारी केन।

युक्रेनका अन्तरिम प्रशिक्षक रुस्लान रोटानले वेम्बलीको वातावरणले आफूहरूलाई बाँकी खेलमा कठोर मेहनत गर्न प्रेरणा दिएको प्रतिक्रिया दिए। इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीमा झन्डै ८४ हजार समर्थक उपस्थित थिए। तीमध्ये हजारौँ समर्थक युद्धग्रस्त युक्रेनका थिए।

‘युक्रेनी समर्थकलाई धन्यवाद दिन चाहन्छु। उनीहरूको समर्थन हामीले प्रत्येक क्षणमा महसुस गर्‍यौँ। इंग्ल्यान्डका समर्थक पनि धन्यवादका पात्र हुन्। उनीहरूले पनि हामीप्रति प्रेम दर्शाए। अन्तर्राष्ट्रिय खेलमा यो किसिमको वातावरण कमै सिर्जना हुन्छ। यो वातावरणले हामीले आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्न हौसला दिएको छ,’ रोटानले भने।

युद्धका कारण युक्रेनमा युरो छनोटका खेल आयोजना गर्न तत्कालका लागि सम्भव छैन। यसकारण युक्रेनका घरेलु मैदानमा हुनुपर्ने खेल तटस्थ मैदानमा हुने सम्भावना छ। ‘यसरी खेल्दा हामीलाई अप्ठ्यारो भइरहेको छ। एक ठाउँमा अभ्यास गर, अर्को ठाउँमा गएर खेल, यसो गर्न सजिलो छैन। तर पनि हामी खेलिरहेका छौँ, खेल्न पाइरहेका छौँ, यसमा सन्तुष्ट हुनुपर्छ,’ रोटानको भनाइ थियो।

युक्रेन सेप्टेम्बरपछि पहिलो पटक मैदानमा उत्रिएको हो। युक्रेनले आफ्नो पछिल्लो खेलमा नेसन्स लिगमा स्कटल्यान्डको सामना गरेको थियो।

रोनाल्डोको बलियो लय
गएको साता पोर्चुगलले लिक्चेन्टस्टाइनलाई ४-० ले हराउँदा कीर्तमानी १९७ औँ खेल खेलेका रोनाल्डोले दुई गोल गरेका थिए। उनले यो लयलाई दोस्रो खेलमा पनि जारी राखे।

लक्जम्बर्गविरुद्ध नवौँ मिनेटमा गोलको खाता खोल्दा रोनाल्डोले नुनो मेन्डेजको हेडर पासको उपयोग गरे। त्यसपछि जोआओ फेलिक्स र बर्नादो सिल्भाले एक–एक गोल गरेपछि पोर्चुगल १८ औँ मिनेटभित्र ३-० को स्थितिमा पुगेको थियो। रोनाल्डोले ३१ औँ मिनेटमा गोल थपे। लक्जम्बर्गविरुद्ध रोनाल्डोको यो ११ औँ गोल थियो।

दोस्रो हाफमा ओटाभियो र राफाएल लिआओले एक–एक गोल गरे। ८९ औँ मिनेटमा पोर्चुगलको अन्तिम गोल गर्नु पाँच मिनेटअघि लिआओले पेनाल्टी खेर फालेका थिए।

विश्वकप २०२२ मा पोर्चुगिज टिममा मूख्य फरवार्ड रहन नसकेका रोनाल्डोलेलाई पहिलो एघारमा फिर्ता ल्याएका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टिममा अझै तालमेल मिल्न नसकिरहेको प्रतिक्रिया दिए। ‘सबै खेलाडीले एक भएर खेल्नुपर्छ। दुई खेलमध्यै दुवै जितेका छौँ। तर हामीले सुधार गर्नुपर्ने पक्ष धेरै छन्,’ बेल्जियमबाट पोर्चुगल सरेका मार्टिनेजले भने।

लिक्चेन्टस्टाइनविरुद्धकाे खेलमा पाेर्चुगलका खेलाडी

लगातार दोस्रो खेल जितेको पोर्चुगल समूह ‘जे’ को शीर्षस्थानमा छ। दोस्रो स्थान स्लोभेकियाले आगटेको छ। पहिलो खेलमा लक्जम्बर्गसँग गोलरहित बराबरीमा रोकिएको स्लोभाकियाले आइतबार रातिको खेलमा बोस्निया एन्ड हर्जगोभिनामाथि २-० को जित दर्ता गर्‍यो।

समूह ‘जे’ कै अर्को खेलमा आइसल्यान्डले लिक्चेन्टस्टाइनमाथि ७-० को फराकिलो जित दर्ता गर्‍यो। गत साता पहिलो खेलमा बोस्नियासँग ३-० ले पराजित भएको आइसल्यान्डको जितमा रक्षक आरोन गुनारसनले ह्याट्रिक गरे। बाँकी गोल डेभिड क्रिस्टान ओलाफसन, हाकोन आर्नार हाराल्डसन, आन्ड्री गुडजोन्सन र माइकल एगिल एल्सर्टसनले एक-एक गोल थपे।

स्तब्ध बन्यो डेनमार्क
फिनल्यान्डलाई ३-१ ले पराजित गरेर युरो छनोटको सुरुवात गरेको डेनमार्कले दोस्रो खेलमा कजाकस्तानसँग ३-२ को अप्रत्याशित पराजय भोग्यो। फिफा वरीयतामा ११५ औँ स्थानमा रहेको कजाकस्तानले १८ औँ स्थानको डेनमार्कलाई हराउन दोस्रो हाफमा लगातार तीन गोल गरेको थियो।

रास्मस होलन्डले पहिलो हाफमा दुई गोल गरेपछि डेनमार्क सहज ढंगमा असघ बढेको थियो। फिनल्यान्डविरुद्ध ह्याट्रिक गरेका इटालेली क्लब एटलान्टाका होलन्डले २१ र ३६ औँ मिनेटमा गोल गरेका थिए।

हालसम्म युरोमा छनोट हुन नसकेको काजाकस्तानका लागि बाक्टियोर जायनुट्डिनोभले ७३, अस्खात टागीबेर्गान र अबाट ऐमबेटोभले ८९ औँ मिनेटमा गोल गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =