युरो २०२४ मा छनोट भयो इंग्ल्यान्ड, इटाली फेरि अप्ठ्यारोमा; नजिकै पुगे हंगेरी र डेनमार्क

हिमाल प्रेस १ कार्तिक २०८० ७:१०
14
SHARES
युरो २०२४ मा छनोट भयो इंग्ल्यान्ड, इटाली फेरि अप्ठ्यारोमा; नजिकै पुगे हंगेरी र डेनमार्क

काठमाडौँ- ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले मंगलबार राति युरो छनोटमा इटालीलाई ३-१ ले पराजित गरेको छ। यो जितले इंग्ल्यान्डको सन् २०२४ मा हुने युरोमा स्थान पक्का बनाएको हो।

समूह ‘सी’ मा रहेको इंग्ल्यान्डलाई छनोटका लागि एक अंक भए पुग्ने थियो। तर वेम्बली रंगशालामा इंग्ल्यान्डको सुरुवात भने सोचेजस्तो भएन। पहिलो हाफको १५ औँ मिनेटमा स्ट्राइकर जियानलुका सामाकाले गत युरोको च्याम्पियन इटालीलाई अग्रता दिलाए।

सोही युरोको फाइनलमा पराजित इंग्ल्यान्डले पहिलो हाफमै बराबरी गोल फर्कायो। कप्तान केनले ३२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। ७७ औँ मिनेटमा उनै केनले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसअघि मार्कस रासफोर्डले इंग्ल्यान्डको अग्रता दोब्बर बनाएका थिए।

इंग्ल्यान्डको पुनरागमनमा ज्युड बेलिङहम महत्त्वपूर्ण साबित भए। उनकै कारण घरेलु टिमले पेनाल्टी पाएको थियो भने रासफोर्डको गोल उनकै पासमा भएको थियो।

समूहमा दुई खेल बाँकी छँदै इंग्ल्यान्डले अर्को वर्ष जर्मनीमा हुने युरोमा स्थान सुरक्षित गरेको हो। पछिल्ला ६ मध्ये पाँच खेल जितेको इंग्ल्यान्ड समूहको शीर्षस्थानमा छ। इंग्ल्यान्डसँग १६ अंक छ भने दोस्रो स्थानको युक्रेनले १३ र तेस्रो स्थानको इटालीले १३ अंक बटुलेका छन्। युक्रेनले युरो छनोटको सम्भावना बलियो बनाउन मंगलबार राति नै माल्टालाई ३-१ ले हरायो।

समूहका शीर्ष दुई टिम युरोका लागि छानिनेछन्। तेस्रो स्थानको टिमले भने प्लेअफ खेल्नुपर्नेछ। इटालीले घरेलु मैदानमा उत्तरी म्यासिडोनियाको सामना गर्नेछ। अन्तिम खेल भने युक्रेन गएर खेल्नेछ। गत विश्वकपमा इटाली छानिन सकेको थिएन। महादेशीय प्रतियोगितामा स्वतः छानिन इटालीले अब छनोटका दुवै खेल जित्नुपर्नेछ।

उता इंग्ल्यान्डले भने विश्वकप र युरो छनोटका ६३ खेलमध्ये एकमा मात्र पराजय भोगेको छ। सन् १९६६ को विश्वकपपछि उपाधिविहीन रहेको इंग्ल्यान्ड अन्तर्राष्ट्रिय प्रतियोगितामा सजिलै छनोट हुँदै आएको छ। इंग्ल्यान्ड गत युरोको फाइनलमा पुगेको थियो। तर घरेलु मैदानमा इटालीसँग १-० ले हारेको थियो।

वेम्बलीमै भएको युरो फाइनल खेलेको त्यो टिमभन्दा इंग्ल्यान्ड अहिले अझ बलियो भएको प्रशिक्षक ग्यारेथ साउथगेटको भनाइ छ। बायर्न म्युनिखका स्ट्राइकर केन र रियल म्याड्रिडका मिडफिल्डर बेलिङहम उत्कृष्ट लयमा रहेका कारण इंग्ल्यान्डलाई युरो २०२४ को दाबेदार मानिँदैछ।

वेम्बलीमा इटालीलाई अग्रता दिलाउन सामाकाले डे लोरेन्जेको क्रसमा गोल गरेका थिए। ह्यारी मग्वायरलाई छक्याउँदै पोस्टनजिक पुगेको बललाई सामाकाले सजिलै गोलमा परिणत गरे। उनले राष्ट्रिय टिमका लागि १३ औँ खेल खेल्दा पहिलो गोल गरेका हुन्।

आधा घण्टा कटेपछि इंग्ल्यान्डले बराबरी गोल गर्ने अवसर पाएको थियो। बल लिएर तीव्र गतिमा अघि बढेका बेलिङहमलाई जियोभानी डे लोरेन्जेले लडाएका थिए। यद्यपि रेफ्रीले इंग्ल्यान्डलाई सजिलै पेनाल्टी दिएको होइन। भीएआरले धेरैबेर जाँच गरेपछि मात्र पेनाल्टी पक्का भएको थियो। जसमा केनले राष्ट्रिय टिमका लागि ६० औँ गोल गरे।

इंग्ल्यान्डको दोस्रो गोल रासफोर्डले ५७ औँ मिनेटमा गरे। मिडफिल्डबाट बल लिएर अघि बढेका बेलिङहमले रासफोर्डका लागि पास निकालिदिएका थिए। जसलाई रासफोर्ड सुन्दर ढंगमा ‘फिनिसिङ’ गरे।

खेल उत्तरार्धमा अघि बढ्दै गर्दा केनले इंग्ल्यान्डको अन्तिम गोल गरेका थिए। एक्लै बल लिएर इटालीको क्षेत्रमा पुगेका उनले जियोरजियो स्काल्भिनीलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

युरो २०२४ को छनोट चरण पार गर्ने हुने इंग्ल्यान्ड आठौँ टिम हो। गत शुक्रबार बेल्जियम, फ्रान्स र पोर्चुगलले युरोपेली प्रतियोगितामा स्थान पक्का गरेका थिए। त्यसको दुई दिनपछि स्कटल्यान्ड, स्पेन, टर्की र अस्ट्रिया पनि छनोट भएका थिए। जर्मनी भने आयोजकका नाताले पहिल्यै छनोट भइसकेको छ।

युरोमा कुल २४ टिम सहभागी हुनेछन्। जसमध्ये २० टिम छनोट चरण पार गरेर त्यहाँ पुग्नेछन्। बाँकी चारमध्ये तीन स्थानका लागि प्लेअफ हुनेछ।

इंग्ल्यान्डको समूहमा रहेको युक्रेनले माल्टामाथि ३-१ को जित हासिल गर्दा चेल्सीका मिखाइलो मुड्रिकले एक गोल गरे। पहिलो हाफको १२ औँ मिनेटमा पछि परेको युक्रेन रायल कामेनजुलीको आत्मघाती गोलले ३८ औँ मिनेटमा खेलमा फर्किएको थियो। त्यसको पाँच मिनेटपछि युक्रेनले अग्रता बनायो। यसपालि आर्टेम डोभिकले पेनाल्टीमा गोल गरे। मुड्रिकले ८५ औँ मिनेटमा युक्रेनको तेस्रो गोल गरेका थिए।

उता हंगेरी मंगलबार राति नै छनोट हुने थियो, लिथुआनियालाई हराएको भए। लिथुआनियाविरुद्धका पछिल्ला ६ खेलमध्ये पाँचमा जित हात पारेको हंगेरी यसपल्ट २-२ को बराबरीमा रोकियो।

लिथुआनियाको मैदानमा हंगेरीले पहिलो हाफमै दुई गोल खाएको थियो। फेडोर चेर्निखले २० र पिजु सिर्भिसले ३६ औँ मिनेटमा गोल गरेका थिए। तर दोस्रो हाफमा हंगेरीले लगातार दुई गोल फर्कायो। कप्तान डोमिनिक सोबोजलाईले ६७ र बर्नाबास भार्गाले ८२ औँ मिनेटमा गोल गरे।

समूह ‘जी’ मा हालसम्म एक खेल मात्र जितेको लिथुआनियाविरुद्ध हंगेरीले निर्णायक गोल गर्ने हरसम्भव प्रयास गरेको थियो। तर सफल भएन। समूहको शीर्षस्थानमा रहेको हंगेरीले छनोट हुन अब कम्तीमा एक महिना पर्खनुपर्ने भएको छ। हंगेरीले नोभेम्बर १७ मा बुल्गेरियाको सामना गर्नेछ। यसमा जित हात पारे हंगेरी युरोमा छनोट हुनेछ।

समूहमा हाल दोस्रो रहेको सर्बियाले मोन्टेनेग्रोलाई ३-१ ले हरायो। जितमा अलेक्जान्डर मिट्रोभिचले दुई तथा डुुसान टाडिचले एक गोल गरे। छिमेकीसँग भोगेको पराजयमा मोन्टेनेग्रोका स्टिभन योभेटिचले एक गोल फर्काए। जितपछि सर्बियाको सात खेलबाट १३ अंक भएको छ। एक खेल कम खेलेको हंगेरीसँग १४ अंक छ। मोन्टेनेग्रो ६ खेलबाट आठ अंक बटुलेर तेस्रो स्थानमा छ।

युरो छनोटका अन्य खेलमा डेनमार्कले सान मारिनोमाथि २-१ को साँघुरो जित दर्ता गर्यो। युरोपेली फुटबलमा कमजोर मानिने टिममध्येको एक सान मारिनोले डेनमार्कविरुद्ध ६१ औँ मिनेटमा बराबरी गोल गरेको थियो। रास्मस होइलुन्डको गोलले ४२ औँ मिनेटमा अघि बढेको डेनमार्कलाई अलेसान्द्रो गोलिनुचीले बराबरी गोल गर्दै स्तब्ध बनाएका थिए। तर युसुफ पौउल्सनले ७० औँ मिनेटमा गोल गरेपछि डेनमार्कको जित पक्का भएको थियो।

संघर्षपूर्ण जितपछि डेनमार्क समूह ‘एच’ को दोस्रो स्थानमा छ। पहिलो स्थान भने स्लोभिनियाले कब्जा गरेको छ। दुवै टिमसँग १९-१९ अंक भए पनि स्लोभिनिया गोल भिन्नतामा पहिलो स्थानमा रहेको हो। तेस्रो स्थानमा काजाकस्तान छ।

मंगलबार रातिकै खेलमा स्लोभिनियाले आयरल्यान्डलाई उसकै मैदानमा १-० ले पराजित गरेको हो। उता काजाकस्तानले फिनल्यान्डमाथि २-१ को रोमाञ्चक जित हात पार्‍यो।

युरो २०२४ मा छनोट भइसकेका टिम : जर्मनी (आयोजक), अस्ट्रिया, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, इंग्ल्यान्ड र टर्की।

प्रकाशित: १ कार्तिक २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =