आत्मज्ञान

मन, मस्तिष्क र मुटु

शान्त खरेल २२ वैशाख २०८१ ६:४८
242
SHARES
मन, मस्तिष्क र मुटु

यी तीन ‘म’ मन, मस्तिष्क र मुटु मानव शरीरमा निकै महत्त्वपूर्ण मानिन्छन्। भौतिकवादीहरूले प्रत्यक्ष रूपमा मनलाई स्वीकार गर्न नखोजे तापनि रहस्यका रूपमा चाहिँ हेर्ने गरेको पाइन्छ। हुन पनि मन तथा शरीर एकापसमा यसरी बाँधिएका छन् कि अन्तिम सत्ता शरीरको हो या मनको हो निर्णय गर्न कठिन छ। सामान्य रूपमा हेर्दा पनि शरीरको सत्ता प्रत्यक्ष अनुभूत हुन्छ र मन कतै शरीरको नै उपज पो हो कि भने झैँ लाग्छ। अति मदिरा सेवनको समयमा एउटै स्थानलाई दुईवटा जस्तो देखिने वा कलेजोलगायतका शरीरका मुख्य अङ्ग खराब हुँदा हुने निराशाको अन्धकारले पनि के सिद्ध हुन्छ भने मन भौतिक परिस्थितिकै उपज पो हो कि?

मनोवैज्ञानिकहरू उल्लिखित विचारको विपरीत मनको प्रभाव शरीरमा पर्ने तर्क गर्छन्। उदाहरणका रूपमा एकाएक चिठ्ठामा एक करोड प्राप्त हुँदा खुसीका कारण मुटुले काम गर्न छोड्न सक्छ, एक्कासि आफ्नो अगाडि बाघ देखा पर्दा भयका कारण मस्तिष्कमा समस्या हुन सक्छ, क्रोधको अवस्थामा अनुहार रातो हुन पुग्छ।

शरीरभन्दा मन अलग नहुँदो हो त यी सब कसरी सम्भव होला र? यस्तो अवस्थामा मनको सत्तालाई स्वीकार गर्ने हो भने साङ्ख्यदर्शनले भने झैँ मन भौतिक हो र यसको सम्बन्ध मस्तिष्क (Brain) सँग रहेको हुनुपर्छ। मनकै दोस्रो नाम मस्तिष्क हो र मस्तिष्क नामक तन्त्रिका तन्त्रले शरीररूपी यन्त्रलाई सञ्चालन गरिरहेको हुन्छ। यस प्रकार शरीरभन्दा भिन्न कुनै तत्त्वलाई अस्वीकार गर्ने हो भने संवेदनवाहक तथा प्रेरणावाहक तन्त्रहरूका माध्यमले मनरूपी मस्तिष्कद्वारा यो शरीररूपी भौतिक यन्त्र सञ्चालन भइरहेको छ।

मस्तिष्क अर्थात् तन्त्रिका तन्त्रलाई मन या चेतनाको आश्रयस्थल मान्न सकिन्छ तर मस्तिष्कलाई मन नै हो भन्दा युक्तिसङ्गत देखिँदैन। मस्तिष्क अर्थात् तन्त्रिका तन्त्र नहुने हो भने मन रहन सक्दैन। जसरी काँटीमा कोट झुन्ड्याइन्छ, काँटी खस्दा कोट पनि खस्न पुग्छ तर काँटी उखेलिँदैमा कोट खस्नुको तात्पर्य यो होइन कि काँटी नै कोट हो र कोट नै काँटी हो। यस प्रकार मस्तिष्क मनरूपी कोटलाई अड्याउने काँटी मात्र हो। मन-मस्तिष्कका सम्बन्धमा गीताको तेस्रो अध्यायको २७औँ श्लोकले पनि शरीरभित्र हुने कर्मलाई यन्त्रवत् हुने सङ्केत गरेको छ जुन भौतिकवादको नजिक मानिए तापनि गीता र साङ्ख्यदर्शनले मनको छुट्टै अस्तित्व स्वीकार गर्छन्।

हृदय, मन र मुटुलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरेको देखिन्छ। कुनै पनि प्रकारका चिन्ताको अवस्थामा मन दुख्यो र खुसी हुँदा मन खुसी भयो भन्ने गरिन्छ। यद्यपि मन कहाँ छ र दुख्यो वा खुसी भयो स्पष्ट छैन। आयुर्वेदशास्त्रअनुसार भौतिक मुटुले रगतलाई शरीरमा पम्प गर्ने कार्य गर्दछ भने भावनात्मक मुटुले खुसी र दुःखको अनुभव गर्छ। सायद मन दुख्यो या खुसी भयो भन्नुको तात्पर्य यही भावनात्मक मुटुको चर्चा गरिएको हुनुपर्छ, जसलाई मनको संज्ञाले परिभाषित गरिएको हो। यसैलाई आधार मानेर नै आयुर्वेदशास्त्रले मनलाई मुटुको नजिकै छ भनेर सङ्केत गरेको हो। यसबाट के स्पष्ट हुन्छ भने मुटुबाट हुने कुनै पनि कार्य दुई स्तरमा हुने गर्दछ – शारीरिक र भावनात्मक।

शारीरिक स्तरमा भन्नुपर्दा शरीरमा रक्तसञ्चार गर्ने काम हो मुटुको। मनलाई मस्तिष्कको प्रमुख कार्यकारी अधिकृत भन्न सकिन्छ। मन केवल सोच्छ मात्र कामचाहिँं अरूद्वारा गराउँछ। राम्रो सोचेमा राम्रो र खराब सोचेमा सबै गडबड हुन्छ। मनमा रिस उत्पन्न हुँदा पूरा शरीरमा नै रक्त प्रवाह बढेर मुटुमा बढी दबाब पर्न जान्छ।

लगातार मन तनावग्रस्त भइरह्यो भने उच्च रक्तचापको समस्या हुन सक्छ। अतः मुटुसम्बन्धी समस्या भएकाहरूलाई तनाव नलिन सल्लाह दिने गरिन्छ। मनमा कुनै डर पैदा भयो भने मुटुको धड्कन बढ्न जान्छ। यसरी मन र मुटुको सम्बन्ध स्पष्ट हुन पुग्छ।

भौतिक विज्ञानका अनुसार फ्रिक्वेन्सी परिवर्तन वा नष्ट हुँदैन। जुन अपरिवर्तनीय हो त्यसलाई सत्य भनिन्छ। त्यसैले फ्रिक्वेन्सीलाई सत्य भनिन्छ। त्यही फ्रिक्वेन्सीमा जुन डिफल्ट हुन्छ त्यो नै मन हो। थर्मोडाइनामिक्सको नियमानुसार ब्रह्माण्डमा अपूर्णता (Entropy) निरन्तर बढिरहेको छ। यही अपूर्णतालाई नै मन भनिन्छ। एउटा सानो डिफल्ट जसले यत्रो हैरानी गरिरहेको छ यो मन नै हो। डिफल्टलाई हटाउन सकियो भने फ्रिक्वेन्सी मात्र बाँकी रहन्छ। त्यसैगरी मनलाई अमन गर्न सकियो भने आफू शक्तिशाली भएको वा पूर्णतामा प्राप्त भएको महसुस हुन्छ। मन एउटा डिफल्ट मात्र हो जसले विचारलाई बढाउँछ। यो डिफल्ट हट्नासाथ परमचेतनामा एकाकार भइन्छ जुन योगको उद्देश्य हो।

मन दिमागको त्यो अवस्था हो जसले सोच्ने काममात्र गर्दछ। बुद्धि निर्णायक हो तर सम्पूर्ण तरङ्गहरू मस्तिष्कमा मात्र पैदा हुन्छन्। मन अन्तकरण हो जबकि मुटु भौतिक अस्तित्व भएको शरीरको एक अङ्ग हो जसले निर्धारित कार्य मात्र गर्दछ। मनमा भावना, विचार, इच्छा आदि हुन्छन्। अतः मन आनन्दित वा दुःखी हुन्छ, मुटु हैन। दिमाग तर्कशील हुन्छ, मनचाहिँ भावपूर्ण। जसरी सुतेको जनावर र मानिसमा कुनै फरक छैन, दुवैमा मन हुन्छ। बेहोसीमा मानिस र अन्य जीवमा फरक हुँदैन। जब मनमा होस हुन्छ त्यो दिमाग वा मस्तिष्क हो। योगाभ्यासले होसमा निख्खारता ल्याउन मद्दत गर्दछ।

(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)

के हो मन?

योग र अध्यात्म

 

प्रकाशित: २२ वैशाख २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =