आत्मज्ञान

के हो मन?

शान्त खरेल ८ वैशाख २०८१ ११:२६
174
SHARES
के हो मन?

मन शरीरको त्यस्तो अंग हो जसबाट अनुभव, संकल्प, विकल्प, इच्छा, चिन्तन, स्मरण, भाव, एकाग्रता आदि उत्पन्न हुन्छ। न्यायदर्शनको मतानुसार मन एउटा त्यस्तो द्रव्य हो जो जीव र आत्माभन्दा फरक छ। योगशास्त्रमा मनलाई इन्दियहरूको मालिकका रूपमा परिभाषित गरिएको पाइन्छ। जब अन्तःकरण चिन्तन प्रक्रियामा प्रवृत्त हुन्छ त्यसबेला त्यो मन हुन्छ। मनको स्थानका सम्बन्धमा पनि फरकफरक धारणा पाइन्छ। मन भावनात्मक विषय भएकाले यसलाई निश्चित स्थान प्रदान गर्न कठिन छ। सामान्यतया मन हृदयभन्दा माथि रहन्छ भन्न सकिन्छ। मनका बारेमा भौतिक र आध्यात्मिक दुवै कोणबाट चर्चा गरेको पाइन्छ।

भौतिकवादी दृष्टिकोण

भौतिकवाद वर्तमान युगमा उत्पन्न भएको दृष्टिकोण होइन। आँखा नभएकाले हात्ती छामेझैँ केही व्यक्तिहरू भौतिकवादलाई वर्तमानको उपज ठान्दछन्। चार्वाकलगायतका ऋषिहरू ऋषिपरम्पराका श्रेष्ठ दार्शनिकभित्र पर्दछन्, जसलाई भौतिकवादका प्रणेता भन्न सकिन्छ। भौतिकवादको मान्यतानुसार शरीर एक स्वचालित यन्त्र हो। यसभित्र त्यस्तो कुनै पदार्थ बसेको छैन जसले यो शरीरलाई चलायमान बनाएको होस्। इन्द्रियहरूको अगाडि विषयवस्तु देखापर्नासाथ आफैँ प्रतिक्रिया देखा पर्दछ।

शरीर एउटा यस्तो अद्भूत यन्त्र हो जुन आफैँ आवश्यकतानुसार चल्न सुरु गरिहाल्छ। यसभित्र मन नाम गरेको त्यस्तो कुनै अभौतिक तत्त्व छैन। भौतिक तथा रसायनशास्त्रका नियमहरूद्वारा शरीरभित्रको मस्तिष्क, तन्त्रिका तन्त्र आदि स्वचालित हुन्छन् र क्रियाप्रतिक्रिया प्रारम्भ हुन्छ। विश्व रचनाका सन्दर्भमा पनि कुनै मानसिक तत्त्वको प्रभाव देखिँदैन। विकासवादको सिद्धान्तले भने झैँ मानिस अमिबाबाट प्रकृतिको आफ्नो स्वभावले बिस्तारै परिवर्तित भएर बनेको हो। यसैगरी ब्रह्माण्डको विकास पनि प्राकृतिक शक्तिद्वारा स्वभावअनुसार आफैँ भएको हो। भूविज्ञान, खगोलशास्त्र आदिका आधारमा के भन्न सकिन्छ भने सृष्टि विकसित हुन सुरु भएको अर्बौँ वर्ष भइसक्यो। फलस्वरूप अमिबाबाट मानिस तथा नेबुलाबाट सूर्य-पृथ्वी, चन्द्र आदि ग्रहउपग्रहहरू बन्दै गएका हुन्। अतः उद्दीपक अनुक्रिया (Stimulus Response) को सिद्धान्तअनुसार यो संसार चलायमान भइरहेको छ।

अध्यात्मवादी दृष्टिकोण

मन र चेतनाको गहिरो सम्बन्ध छ। चेतन मन बिना यो यन्त्रवत् शरीरले काम गर्नै सक्दैन। यन्त्रमा उद्दीपक (Stimulus) हुनासाथ एक निश्चित अनुक्रिया हुन्छ तर मानवमा त्यस्तो हुँदैन।

यसलाई एउटा उदाहरणबाट अझ प्रस्ट पार्न सकिन्छ। कुनै मानिस पहाडबाट खस्दै गर्दा एउटा रूखको हाँगा समातेर झुण्डियो र त्यति नै बेला एउटा अरिंगालले उसको हातमा टोक्न खोज्यो। त्यो बेला पनि अनुक्रिया त हुन्छ कि एउटा हातले त्यो अरिंगाललाई धपाऊँ तर रूखको हाँगा समातेको हात हटाएर धपाउन खोज्दा त लडिहालिन्छ। त्यसैले हाँगो समाति नै राख्छ। यो अवस्थामा हाँगो समातेको हात छोडूँ कि नछोडूँ। यसको निर्णय कसले गर्छ ? मेसिनले यस्तो खालको अवस्थामा निर्णय दिन सक्दैन। यसका लागि चेतन मन वा चेतना आवश्यक पर्दछ।

मानिसमा पुराना घटनाहरूको स्मरण रहन्छ। काम, क्रोध, लोभ, मोह आदिको प्रभाव पर्दछ। के मेसिनमा यस्तो सम्भव छ? एकजना मानिसलाई एक करोडको चिठ्ठा परेको चिठी आयो। चिठी कालो अक्षरमा लेखिएको छ। यदि ती अक्षर पढ्न सकिएन भने त्यसको कुनै प्रभाव पर्दैन र पढ्न सकियो भने यिनै काला अक्षरहरूले जीवन रूपान्तरित हुन्छ। यी यस्ता खालका तमाम विषयहरूलाई मेसिनले अनुभव गर्न सक्दैन।

अतः भौतिकले भौतिकको सञ्चालन र उपयोग गर्न सक्दैन। त्यसैले चेतन मन शरीरभन्दा भिन्न छ र शरीरभित्र नै स्थिर छ। जुन अभौतिक हो। सांख्यदर्शनले मनलाई भौतिकको स्थानमा राखेको छ। जब मस्तिष्कका लागि मन शब्दको प्रयोग हुन्छ त्यसबेला मनलाई भौतिक मान्न सकिन्छ। चेतनाको अर्थमा प्रयोग गर्दा मन अभौतिक हुन्छ।

(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)

योग र अध्यात्म

प्रकाशित: ८ वैशाख २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =