क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन सकारात्मक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

हिमाल प्रेस १ पुष २०७९ १४:४०
4
SHARES
क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन सकारात्मक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य तस्बिरः रासस

काठमाडौँ- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य भएको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए। प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआईटी) मा प्रकाशन गरिनेछ।

प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्न सक्ने जनाइएको छ।

एरोथाई कम्पनीको जहाजले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो। यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षणका लागि गरिन्छ।

यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ।

यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गर्न पाइन्छ। क्यानले पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ। नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुध्द एयरले आवश्यक तयारी गरिरहेको छ। कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ।

पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको हो। विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ।

विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ उडान तथा अवतरण गर्ने क्यानको तयारी छ। विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता छ।

प्रकाशित: १ पुष २०७९ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =