पोखरा अवतरित जहाजमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पनि, चीन भ्रमणबारे गराए जानकारी

हिमाल प्रेस ६ असार २०८० १०:३५
8
SHARES
पोखरा अवतरित जहाजमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पनि, चीन भ्रमणबारे गराए जानकारी

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना चीन भ्रमण सकेर बुधबार नेपाल फर्किएका छन्। बुधबार पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजमा उनीसहित नेपालका राजनीतिक दलका नेताहरू स्वदेश फर्किएका हुन्।

पोखरा अवतरणपछि उनले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा चीन भ्रमणबारे जानकारी गराएका छन्।

चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा १० दिने औपचारिक भ्रमण गरेका उनी चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमानमार्फत बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण भएका हुन्।

अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भएको भेटवार्ताका क्रममा चीन-पोखरा सिधा उडानको विषय उठान भएपछि चीनले उडान गरेको हो।

अध्यक्ष तिमिल्सिनाले काठमाडौँसहित पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामासमेत चीनका विभिन्न सहरबाट सिधा उडान गर्न आग्रह गरेको उनले जनाए।

भ्रमणका क्रममा बेइजिङमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग नेपाल-चीनबीच आपसी हितका विषयमा छलफल गरेको पनि उनले जानकारी दिए।

उनले तिब्बतमा चीनियाँ कम्युनिष्ट पार्टी तिब्बतका पार्टी महासचिव वाङ चेङजुङ र सांघाईमा चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेको उनको भनाइ छ।

नाकामा सहजीकरण, सिधा उडान, भौतिक पुर्वाधार निर्माण सहित द्विपक्षीय सहयोग र सहकार्यका बिभिन्न पक्षमा छलफल भएको उनले उल्लेख गरे।

भ्रमणका क्रममा उनले तिब्बतमा जुन १६ र १७ मा आयोजना भएको पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गरेको उनले जानकारी दिए।

बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र मानसरोवरलगायत स्थलहरूको भ्रमण टोलीले अवलोकन गरेको उनले बताए।

प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर राणा, प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्यहरू उदय बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापासहितको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायतले विमानस्थलमा स्वागत गरे।

चीनको सहुलीयतपुर्ण ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलायन्सले पहिलो उडान गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =