अन्तर्राष्ट्रिय उडान पहिलो पाइला : पर्यटन मन्त्री किराँती

हिमाल प्रेस ६ असार २०८० १३:४२
4
SHARES
अन्तर्राष्ट्रिय उडान पहिलो पाइला : पर्यटन मन्त्री किराँती

पोखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती राईले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आगामी उडानको पहिलो पाइला भएको बताएका छन्। यो उडानले निकै महत्व राख्ने बताउँदै मन्त्री राईले नियमित उडानका लागि सरकारले पहिल गर्ने बताए।

चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सको एयरबस ए–३१९ जहाज बिहान ९ बजेर २ मिनेटमा पोखरामा सफल अवतरण भएको हो। करिब १६० सिटको सो जहाजले करिब ८० जना यात्रु बोकेर आएको हो।

विमान अवतरितपछि आयोजित समारोहमा बोल्दै मन्त्री राईले नेपाल र चीन सम्बन्ध १५ सय वर्ष पहिलोदेखि रहेको भन्दै यसले अझ प्रगाढ बनाउने आशा व्यक्त गरे। नेपालकी छोरी भृकुटी र सङचङ गम्बोबीचको विवाह सम्बन्ध त्यसको एक उदाहरण थियो भने।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीचको सम्बन्ध पुरानो भएको बताए। उनले चीनका विभिन्न सहरबाट यहाँ उडान भर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चार्टर्ड उडानलाई अब नियमित उडानमा परिणत गर्न सकेमा सिंगो गण्डकी प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए। उनले उत्तरी कोरोला नाकाबाट चिनियाँ पर्यटक भित्राउन सकेमा पर्यटकीय गतिविधि अझ बढ्ने विश्वास लिए।

नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले आजको अन्तर्राष्ट्रिय उडानले निकै महत्व राखेको बताए।  विमानस्थल संचालनको ६ महिनासम्म आन्तरिक उडानमै सीमित रहँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो उडानले पोखरेली पनि खुसी भएका छन्।

विमानस्थलका प्रमुख विक्रम गौतमले चीनको छेन्दु–तियान्फु इन्टरनेसनल विमानस्थलबाट उडेको जहाज करिब ३ घण्टाको उडानपछि पोखरा आइपुगेको बताए।

विमानका यात्रुलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती राई, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले भव्य स्वागत गरे। पर्यटन व्यवसायीहरुले यात्रुलाई ढाकाटोपी, खादा र माला लगाइदिएका थिए। अधिकांश यात्रु पोखरामा ८ र ९ गते हुने ड्रागन बोट फेस्टिभलमा भाग लिनेहरु छन्।

गत जेठ २७ मा चीन भ्रमणमा गएको संसदीय टोलीको भ्रमणका सदस्यहरु पनि सो विमानमार्फत सिधैँ पोखरा आएको हो। जसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सांसदहरु पनि थिए।

गत १ जनवरीमा प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए। चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो।

विमानस्थलको ऋण र व्याज भुक्तानीको प्रक्रिया आगामी वर्षदेखि सुरु हुने छ। संयोग नै मान्नुपर्छ चीनले बनाएको विमानस्थलमा चीनले नै पहिलो अन्तर्राष्ट्रिय उडान गरेको छ।

प्रकाशित: ६ असार २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =