फिफामाथि आप्रवासी श्रमिकको बलिदान नभुल्न दबाब

हिमाल प्रेस २९ मंसिर २०७९ १०:३३
12
SHARES
फिफामाथि आप्रवासी श्रमिकको बलिदान नभुल्न दबाब

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तिमतिर पुगेको छ। विश्वकप सफल रूपमा सम्पन्न हुँदै गर्दा मानव अधिकारका दृष्टिमा भने आयोजक कतार र विश्व फुटबल महासंघ फिफाको निकै आलोचना भइरहेको छ।

खास गरी आप्रवासी श्रमिकका अधिकारमा उल्लंघन गरेको भन्दै पश्चिममा सञ्चारजगत्ले कतार र फिफाको चर्को आलोचना गरेका छन्। नेपालमा पनि श्रमिकको अधिकारमा ध्यान नदिएको भन्दै कतार र फिफाको आलोचना हुँदै आएको छ। सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणलगायत कतारका विभिन्न क्षेत्रमा नेपालका करिब चार लाख श्रमिक कार्यरत छन्।

विश्वकप आयोजनाका लागि संरचना तयार पार्न खटिएका ती श्रमिकलाई पर्याप्त बिदा, पारिश्रमिक र मापदण्डअनुसारको तलबसुविधा नदिएको आरोप कतार र फिफामाथि छ।

जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने भएका कारण  श्रमिकले ज्यान गुमाएका छन्।  उनीहरूको मृत्युको बारेमा अनुसन्धान भएको पाइँदैन। सन् २००९ देखि २०१७ को बीचमा निर्माण क्षेत्रमा काम गर्ने कम्तीमा दुई सय नेपाली श्रमिकको मृत्युलाई रोक्न सकिने एमनेस्टीले जनाएको छ।

‘विश्वकपको अन्तिम सिट्टी बज्दै गर्दा यति धेरै आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन र उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने एउटा ठूलो खतरा छ,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको छ। तर पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भएका छन्।

सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघसंस्था, ट्रेड युनियन र फुटबलप्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुर्व्यवहार रोक्नका लागि फिफा र कतारलाई उपचारात्मक कार्यक्रम स्थापना गर्न आह्वान गरेको छ। यस आह्वानलाई १२ वटा फुटबल संघ र चारवटा फिफा प्रायोजकहरूले समर्थन गरेका छन्। फिफाले भने श्रमिकहरूलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ।

यसैबीच नेपालका तीन दर्जन नागरिक संघसंस्थाले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई श्रमिकहरूको पीडालाई ‘बेवास्ता गर्ने कार्य बन्द गर्न’ आग्रह गरेका छन्। कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला ती संघसंस्थाले इन्फान्टिनोका नाममा खुला पत्र प्रकाशित गरेका हुन्।

‘श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुर्व्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एक साथ आएका छौँ’, प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोमप्रसाद लामिछानेले भने।

कतारमा धेरै श्रमिकहरूले दुर्व्यवहार सामना गरिरहेको मानवअधिकारवादी संस्थाहरूको आरोप छ। यसबाट उनीहरूको परिवार गरिबीको चपेटामा परेका छन् भने बालबालिका विद्यालयबाट निकालिएका छन्। लामिछानेले भने, ‘फिफाले यस वास्तविकताको अनदेखा गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक कार्य गर्नुपर्छ।’

प्रकाशित: २९ मंसिर २०७९ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =