कर्णालीमा बढ्यो मानव अधिकार उल्लंघनका घटना

हिमाल प्रेस २३ मंसिर २०८० १५:२७
कर्णालीमा बढ्यो मानव अधिकार उल्लंघनका घटना

सुर्खेत- कर्णाली प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले शनिबार आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशमा दैनिक मानव अधिकार उल्लंघनका घटना हुने गरेको जनाइएको हो।

सन् २०२३ को जनवरीदेखि हालसम्म करिब एक वर्षको अवधिमा ३६५ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन्।

कर्णालीको मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सन् २०२३ को जनवरीदेखि शुक्रबार (मंसिर २२ गते) सम्म ३६५ वटा मानव अधिकार उल्लंघनका घटनामा ३९१ जना पीडित भएको जानकारी दिए।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, दैलेख र सल्यानमा बढी मानव अधिकार उल्लंघनका घटना भएको उनको भनाइ छ।

सुर्खेतमा ९१ जना, दैलेखमा एकजना र सल्यानमा सातजना पीडित छन्। यस्तै महिला अधिकार हनन् घटना २१४ वटा, बाल अधिकार हनन् घटना ६५ वटा, परिवारबाट हत्याको घटना २८ वटा र कुटपिटका घटना ३९ वटा पाइएको जानकारी पनि संयोजक सुवेदीले दिए।

यस्तै कर्णालीमा शिक्षा, खाद्य, आवास, स्वास्थ्यको अधिकार हनन् घटना पनि बढी हुने गरेको छ। जातीय विभेद तथा छुवाछुत, बालविवाह, बहुविवाह, बलात्कार पनि बढी हुने गरेको छ।

गत कात्तिक १७ गते जाजरकोट भूकम्पबाट सुत्केरी, अपांगता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक तथा महिला बढी पीडित भएकोले उनीहरूको अधिकार हनन् घटना पनि बढेको कार्यक्रममा सुवेदीले बताए।

विगतको तुलनामा कर्णालीको मानव अधिकारको अवस्थामा खासै सुधार आउन नसकेको हुँदा प्रदेश तथा स्थानीय सरकारका साथै सरोकारवाला पक्ष अझ संवेदनशील हुनुपर्ने सुवेदीले बताए।

 कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले आफ्ना प्रदेशवासीको मानव अधिकार रक्षा र संरक्षणका लागि सधैँ प्रयत्नशील रहेको बताए।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारको संरक्षणमा सबै पक्ष सँगसँगै बढ्नुपर्ने सुझाव दिए।

प्रकाशित: २३ मंसिर २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =