एम्बाप्पे र मेस्सी विश्वकप फाइनलमा पुग्दा दंग कतार

हिमाल प्रेस १ पुष २०७९ १३:१४
44
SHARES
एम्बाप्पे र मेस्सी विश्वकप फाइनलमा पुग्दा दंग कतार

आउँदो मंगलबार किलियान एम्बाप्पे २४ वर्ष पुग्दैछन्। जन्मदिन मनाउँदा उनी विश्वकप विजेता भइसकेका पनि हुनसक्छन्। त्यो पनि दोस्रो पटक। किनभने चार वर्षअघि विश्वकप जितेको फ्रान्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। फेरि एकपटक विजेता बन्न उसले आइतबार राति अर्जेन्टिनाको सामना गर्दैछ।

फ्रान्सलाई चुनौती दिने अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भने ३५ वर्षको उमेरमा पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छन्। यो विश्वकप जिते मेस्सीले सम्भवतः सर्वकालिन महान् खेलाडी को ? भन्ने बहसको शीर्षस्थान ओट्नेछन्। उनी असफल हुँदा सफल हुने एम्बाप्पे भने यो बहसको हिस्सा बनिसकेका छैनन्।

एम्बाप्पे र मेस्सी विश्वकप फाइनलमा प्रतिद्वन्द्वी बन्ने भए पनि क्लब फुटबलमा भने मित्र हुन्। उनीहरु दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी)मा छन्। रोचक त के भने, यी दुवैको पीएसजीसँगको भविष्य अन्योलमा छ।पीएसजीमा दोस्रो सिजन बिताइरहेका मेस्सी आउँदो जुनपछि फरक क्लबमा हुनसक्छन्। किनभने जारी सिजनको अन्त्यमा उनको पीएसजीसँगको सम्झौता सकिँदैछ।

उता एम्बाप्पे पनि अर्को सिजन पीएसजीमा हुने वा नहुने ठेगान छैन। पीएसजी चाहन्छ मेस्सीले सम्झौता नवीकरण गरुन्। एम्बाप्पेका मामलामा त पीएसजी झनै गम्भीर छ। तर यी दुवै खेलाडीले विश्वकपपछि मात्र आगामी कदमबारे निर्णय लिने बताएका छन्।

फ्रान्स र अर्जेन्टिना विश्वकप जित्ने लक्ष्यमा रहँदा पीएसजीको ध्यान भने च्याम्पियन्स लिगमा छ। र पीएसजीलाई यो सफलता दिलाउन मेस्सी र एम्बाप्पेको भूमिका महत्त्वपूर्ण हुनेछ। पीएसजीका अर्का स्टार नेयमार भने क्वार्टरफाइनलबाटै घर फर्किइसकेका छन्। उनीसम्मिलित ब्राजिल क्रोएसियासँग पराजित भएको थियो। यी तीनै खेलाडी डिसेम्बर २८ मा सँगै मैदान उत्रनेछन्। त्यस दिन पीएसजीले घरेलु मैदानमा स्ट्रासब्रोको सामना गर्ने तालिका छ।

एक महिनाको विश्रामपछि युरोपियन क्लब फुटबल सुरु हुँदा एम्बाप्पे वा मेस्सीमध्ये एकजना विश्वकपको पदक भिरेर पीएसजी पुग्नेछन्। पार्क डेस प्रिन्सेसमा विश्वकप विजेताका रुपमा एम्बाप्पे वा मेस्सी उपस्थित हुँदा परिस्थिति केही न केही असहज हुने नै छ।

विश्वकप सेमिफाइनलपछि एम्बाप्पे र मोरोक्कोका अचरफ हाकिमीबीचको मित्रताबारे खुबै चर्चा भयो। यस किसिमको मित्रता चर्चा फाइनलपछि हुनेछैन। किनभने एम्बाप्पेका लागि मेस्सी हाकिमी जस्ता नजिकका मित्र होइनन्।

एम्बाप्पे र हाकिमीबीच उमेरको फरक एक महिनाको मात्र छ। यसकारण पनि यी दुई मिल्ने साथी बनेका हुन्। मेस्सी भने एम्बाप्पेभन्दा १२ वर्षले जेठा छन्। बरु मेस्सीका नजिकका साथि नेयमार हुन्। ३० वर्षीय नेयमार र मेस्सीबीचको सम्बन्ध राम्रो हुनुको कारण बार्सिलोना बसाइ पनि हो।

मेस्सीसँग एम्बाप्पेको सम्बन्ध सामान्य भए पनि नेयमारसँग भने न्यानो छैन। कुनै समय असाध्यै मिल्ने यी दुई पछिल्लो समय भने टाढिएको बताइन्छ। गत मेमा सम्झौता नवीकरण गरेपछि पीएसजीमा एम्बाप्पे नेयमारभन्दा बढी हावी हुन थालेको र यसले गर्दा दुई खेलाडीबीच सम्बन्ध चिसिएको हो।

रियल म्याड्रिडतर्फको स्थान्तरण पक्का भइसकेको भनिरहँदा एम्बाप्पेले पीएसजीमै रहने निर्णय गरेका थिए। त्यसपछि उनलाई पीएसजी प्रशासनले पहिलेको भन्दा बढी स्वतन्त्रता र महत्त्व दिन थालेकाले नेयमार आफू ओझेलमा परेको महसुस गर्न थालेका हुन्।

एम्बाप्पेले पीएसजीसँग जुन २०२५ सम्मका लागि सम्झौता गरेका हुन्। यद्यपि उनी अर्को सिजन पीएसजीमा रहने सम्भावना कम छ। उसो त पीएसजी पनि आफ्ना महंगा युवा स्टार खेलाडीलाई उचित मूल्यमा बेच्न तयार रहेको बताइन्छ।

उचित मूल्य भनेको कति? सम्भावित मूल्यबारे पीएसजी स्रोतले टेलिग्राफसँग भनेको छ, ‘आजको बजारमा एम्बाप्पेको मूल्य कति भनेर सोध्दा उनी पीएसजीका लागि कति महत्त्वपूर्ण छन् भनेर सोच्नुपर्छ। रियलले उनलाई पीएसजीले दिइरहेको भन्दा बढी तलब प्रस्ताव गरेको थियो। तर पनि उनी यही बसे। उनी पीएसजीबाट बाहिरिन चाहे उनको स्थान्तरण मूल्य कम्तीमा ३० करोड युरो हुनेछ।’

एम्बाप्पे स्ट्राइकर बनेर खेल्न चाहँदैनन्। उनी क्लब वा राष्ट्रिय टिमबाट खेल्दा विंगरको भूमिकामा देखिन चाहन्छन्। जारी विश्वकपमा ओलिभर जिरुडले अग्रपंक्ति सम्हालिरहँदा एम्बाप्पे विंगमा छन्। के भनिन्छ भने एम्बाप्पेले पछिल्लो पटक पीएसजी छाड्ने निर्णय गर्दा एउटा कारण ‘पोजिसन’ पनि थियो।

एम्बाप्पेले छाडिहाले उनलाई प्रतिस्थापन कसले गर्छ भन्ने स्वाभाविक कौतहुल छ। पीएसजीको नजरमा म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्ड छन्। पीएसजीले यी इंग्लिस फरवार्डसँग केही चरण कुराकानी पनि गरिसकेको छ। युनाइटेडमा रासफोर्डको सम्झौता जुन, २०२३ मा सकिँदैछ। त्यसपछि उनी सित्तैमा जता पनि जान सक्छन्।

तर एरिक टेन हागसँग रासफोर्डलाई थप एक वर्ष राख्ने विकल्प छ। सम्झौतामा उल्लेख भए अनुसार युनाइटेडले रासफोर्डलाई थप एक वर्ष राख्न चाहे पीएसजीसँग भएको एउटै विकल्प हो, युुनाइटेडले मागेजति रकम दिएर अनुबन्ध गर्ने।

उता मेस्सीको मामलामा भने पीएसजी प्रस्ट छ। मेस्सी आफैँ पनि स्पष्ट छन्। पीएसजीले भनेजस्तो सम्झौता प्रस्ताव गर्‍यो भने मेस्सी अर्को एक वर्ष त्यही रहनेछन्। यद्यपि च्याम्पियन्स लिगमा पीएसजीले कस्तो प्रदर्शन गर्छ, त्यसले मेस्सीको मनस्थिति परिवर्तन गर्नसक्छ। मेस्सीले हालका पीएसजी प्रशिक्षक क्रिस्टोफ गाल्टिएरको नेतृत्वमा खेल्न आफूलाई कुनै समस्या नरहेको बताएका छन्। तर च्याम्पियन्स लिग जित्ने चाहना पूरा नभए वा सम्भावना नभए मेस्सीले निर्णय परिवर्तन गर्छन् भन्ने आकलन छ।

उसो त केही समयअघि मेस्सी अमेरिकी लिग एमएलएस जाने चर्चा चलेको थियो। डेभिड बेकहमको क्लब इन्टर मियामी मेस्सीलाई अनुबन्ध गर्न लालयीत रहेको लुकेको छैन।

तर बेकहमले कतारीको चित्त दुखाएर मेस्सीलाई पीएसजीबाट लैजान सक्छन् कि सक्दैनन् भन्न् प्रश्न छ? किनभने बेकहम र पीएसजीको स्वामित्व भएको कतारसँग सम्बन्ध बलियो छ। कतारले उनलाई जारी विश्वकपको दूत पनि बनाएको छ। त्यो पनि करिब १५ करोड पाउन्ड तिरेर।

हालका लागि एम्बाप्पे र मेस्सी हाल विश्वकपमै केन्द्रित छन्। आफैँले आयोजना गरेको विश्वकपको फाइनलमा आफ्नो क्लबका दुई ठूला स्टार पुग्दा कतार त्यसै पनि दंग छ। एम्बाप्पे वा मेस्सी जसले जिते पनि कतार दुःखी हुनेछैन।

किनभने यी दुईले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कतार र कतारी फुटबलको ब्रान्डिङमा सहयोग पुर्‍याएका छन्। तर विश्वकप सकिएपछि भने कतारको टाउको दुखाइ सुरु हुनेछ। किनभने उसलाई आफ्ना ठूला स्टारालाई पीएसजीमा थप समय रहन फकाउनु छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =