प्रमाणित विजेता डिडियर डेस्चाम्प्स

हिमाल प्रेस २ पुष २०७९ १४:१४
8
SHARES
प्रमाणित विजेता डिडियर डेस्चाम्प्स

फ्रान्सले पहिलो पटक विश्वकप सन् १९९८ मा जितेको थियो। दोस्रो पटक विश्व विजेता बन्न भने २० वर्ष लाग्यो। रुसमा विजेता बनेको फ्रान्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। पछिल्ला सात संस्करणमा तीन पटक फाइनल पुग्नुको सन्देश हो, फ्रान्स अन्तर्राष्ट्रिय फुटबलको बलियो शक्ति बनेको छ।

फ्रान्सको यो उदयको केन्द्र हुन्, डिडियर डेस्चाम्प्स। फ्रेन्च समर्थक उनलाई जन्मजात विजेता मान्छन्। यसको कारण हो, फ्रान्सलाई दुई पटक फाइनलमा पुर्‍याउनु। आइतबार हुने उपाधि भिडन्तमा अर्जेन्टिनालाई पराजित गरे, डेस्चाम्प्सले यस्तो कीर्तिमान बराबर गर्नेछन् जसकाे नजिक पुग्‍न सजिलाे छैन।

साँच्चै भन्दा फ्रान्सलाई यो विश्वकपको बलियो दाबेदार मानिएको थिएन। यसका केही कारण थिए। जस्तै, युरो २०२० को प्रिक्वार्टरफाइनलबाटै बाहिरिनु। कतारमा चम्किने आश गरिएका अनुभवी स्ट्राइकर करिम बेन्जेमा घाइते हुनु। तर यी सबै अप्ठ्यारालाई डेस्चाम्प्सले पन्छाउन सकेका छन्।

यो विश्वकपमा डेस्चाम्प्सको रणनीतिले काम गरेको छ। स्ट्राइकर एन्टोइन ग्रिजमनलाई मिडफिल्डमा खेलाउने निर्णय सही साबित भएको छ। पउल पोग्बा र एन्गोलो कान्टेको अनुपस्थितिका कारण युवा मिडफिल्डरद्वय आड्रियान राबियोट र टुचमनीलाई मौका दिएका छन्। यी दुईलाई डोर्‍याउने काम ग्रिजमनको हो।

‘मेरो अन्तर्राष्ट्रिय करियर डेस्चाम्प्सकै कारणले सफल भएको हो। फ्रेन्च जर्सी र उनका लागि लागि म जे पनि गर्न तयार छु। म प्रत्येक खेल यसरी खेल्न चाहन्छु कि उनी खुसी बनुन्। उनले लाउने गरेको सात नम्बरको जर्सीका् इज्जत राख्न चाहन्छु,’ हाल फ्रेन्च टिममा सात नम्बरको जर्सी लगाउने ग्रिजमनले आफ्ना गुरुबारे भनेका छन्।

डेस्चाम्प्स सर्वप्रिय प्रशिक्षक होइनन्। फ्रान्ससँग पर्याप्त आक्रामक खेलाडी भए पनि डेस्चाम्प्स सुन्दर फुटबल खेलाउँदैनन्, यो धेरै फ्रेन्च समर्थकले लगाउँदै आरोप हो। तर ग्रिजमनको अभिव्यक्तिले भने त्यस्ता आरोपलाई छायामा पारिदिन्छ। अनि डेस्चाम्प्स राणनीतिक मात्र होइन, खेलाडी व्यवस्थापनका मामलामा पनि अब्बल प्रशिक्षक हुन् भन्ने प्रमाणित गर्छ।

‘उनी आफ्ना खेलाडीसँग बात मार्न मन पराउँछन्। उनी खेलाडीलाई निर्देशन मात्र दिँदैनन्, उनीहरुलाई के कस्तो छ भनेर पनि जान्ने प्रयास गर्छन्,’ ग्रिजमन भन्छन्। डेस्चाम्प्स मिजासिलो भएकैले खेलाडी उनलाई मन पराउँछन्। खेलाडी हुँदा पाएको सफलताका कारण पनि डेस्चाम्प्सप्रति थिए फ्रेन्च टिम नतमस्तक छ।

२३ वर्षको छँदा डेस्चाम्प्सले आफ्नो कप्तानीमा मार्सेलाई सन् १९९३ मा च्याम्पियन्स लिग जिताएका थिए। डिफेन्सिभ मिडफिल्डरको भूमिकामा देखिने डेस्चाम्प्सले तीन वर्षपछि युभेन्टसबाट पनि च्याम्पियन्स लिग जिते। त्यही क्लबमा छँदा सन् १९९७ र ९८ को च्याम्पियन्स लिग फाइनल खेले।

डेस्चाम्प्सकै कप्तानीमा फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो। अनि सन् २००० मा युरो। ३२ वर्षको उमेरमा संन्यास लिएका उनले आफ्नो करियरमा तीन पटक इटालियन सिरी ए र दुई पटक फ्रेन्च लिग जित्न भ्याए।

सन् १९९८ मा विश्वकप र दुई वर्षपछि युरो जितको फ्रान्स त्यसपछिको समयमा भने संघर्षरत थियो। तर डेस्चाम्प्सको नेतृत्वमा फ्रान्सको पुनः उदय भएको छ। डेस्चाम्प्सको प्रशिक्षण यात्रा जुलाई, २००१ बाट सुरु भएको थियो।

उनले मोनाकोलाई फ्रेन्च लिग जिताउन नसके पनि च्याम्पियन्स लिगको भने फाइनलमा पुर्‍याए। प्रशिक्षकका रुपमा उनले पहिलो लिग उपाधि सन् २०१० मा जिते। मार्सेलाई च्याम्पियन बनाएपछि भने उनले राष्ट्रिय टिमको जिम्मेवारी पाएका हुन्।

लाउरेन्ट ब्लान्कलाई हटाएर डेस्चाम्प्सलाई फ्रान्सको प्रशिक्षक बनाइएको थियो। ब्लान्कको नेतृत्वमा फ्रान्स सन् २०१२ को युरोमा क्वार्टरफाइनलसम्म पुगेको थियो। दुई वर्षअघिको विश्वकपमा त झन् फ्रान्स समूह चरण नै कट्न सकेन। त्यसबेला प्रशिक्षक रेयमन्ड डोमेनेक थिए।

उपाधि जित्न त परै जाओस्, दाबेदारको परिचय समेत बनाउन नसकिरहेको फ्रान्सलाई डेस्चाम्प्सले युरो २०१६ को फाइनलमा पु¥याए। गत वर्ष यूईएफए नेसन्स लिग जिताए। अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले कसरी यस्तो जादु देखाउन सकिरहेका छन्? उनको जवाफ छ, ‘मानसिक रुपमा बलिया र प्रतिबद्ध खेलाडीको उपलब्धता।’

डेस्चाम्प्सको बुझाइमा सबैभन्दा कठिन प्रतियोगिता विश्वकप नै हो। ‘विश्वकप एकपल्ट नै जित्न गाह्रो छ। दोस्रो पटक जित्न कति गाह्रो छ भनेर भनिराख्नै पर्दैन। विश्वकप जित्न स्तरीय टिम चाहिन्छ। तर त्यत्तिले मात्र पुग्दैन,’ डेस्चाम्प्सले भनेका छन्।

इटालीले सन् १९३४ र १९३८ मा लगातार विश्वकप जितेको थियो। त्यसपछि सरासर दुई पटक विश्वकप जित्ने टिम ब्राजिल बन्यो। सन् १९५८ र १९६२ मा सफल भएको ब्राजिल सन् १९९८ मा फाइनलमा पुगेको थियो। त्यसबेला डेस्चाम्प्स सम्मिलित फ्रान्ससँग पराजित भएको ब्राजिल दुई वर्षपछि फेरि फाइनलमा पुग्यो र विजेता बन्यो।

अब फ्रान्ससँग इटाली र ब्राजिलले राखेको कीर्तिमान बराबरी गर्ने मौका छ। सन् १९९८ यता लगातार दोस्रो पटक फाइनलमा पुग्ने पहिलो टिम बनेको फ्रान्स अर्जेन्टिनालाई हराए ६० वर्षमा उपाधि रक्षा पहिलो टिम हुनेछ।

खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति हुन् डेस्चाम्प्स। उनीअघि तत्कालिन पश्चिम जर्मनीका फ्रान्ज बेकनबावर र ब्राजिलका मारियो जागालोले मात्र यस्तो सफलताको स्वाद चाख्न पाएका थिए। अब उनी दोस्रो विश्वयुद्धपछि लगातार दुई पटक विश्वकप जित्ने पहिला प्रशिक्षक बन्ने बाटोमा छन्।

यो विश्वकपपछि डेस्चाम्प्सको फ्रान्ससँगको सम्झौता सकिँदैछ। विजेता नबने पनि उनीसँग फेरि एकपल्ट फ्रान्सको प्रशिक्षक बन्ने विकल्प खुला छ। युरो २०२४ मा उनले नै फ्रान्सको नेतृत्व गरुन् भने इच्छा राख्नेको कमी छैन। उनले यसो गर्ने सम्भावना बलियो रहेको बताइन्छ। तर उनी विश्राम लिने निर्णयमा पुगे, जिनेदिन जिदान नयाँ प्रशिक्षक बन्नेछन्। यो सजिलो अनुमान हो।

डेस्चाम्प्सलाई मोरोक्कोसँगको सेमिफाइनलपछि राष्ट्रिय टिमसँगको भविष्यबारे सोधिएको थियो। ‘म यहाँ सबैभन्दा महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण फ्रेन्च टिम हो। हालका लागि हामी सबैको उद्देश्य विश्वकप जित्ने हो। जुन देशका लागि सर्वाधिक गर्वको विषय हुनेछ,’ डेस्चाम्प्सले भनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =