अर्जेन्टिनालाई विश्वकप जिताउन विचित्रका अन्धविश्वास पछ्याउँदै अर्जेन्टाइन

हिमाल प्रेस ३ पुष २०७९ १३:२३
178
SHARES
अर्जेन्टिनालाई विश्वकप जिताउन विचित्रका अन्धविश्वास पछ्याउँदै अर्जेन्टाइन

एउटै कपडाले शरीर ढाक्ने। डिएगो म्याराडोनाका तस्बिर लिएर उभिने। आफू बस्ने कुर्सी परिवर्तन नगर्ने। जारी विश्वकपमा अर्जेन्टिनाका खेल हेर्दा समर्थक यसै गरिरहेका छन्। कारण हो, अन्धविश्वास। वा यसो गर्दा अर्जेन्टिना हार्दैन भन्ने विश्वास।

अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्ने अभियानमा छ। आइतबार राति फ्रान्सलाई हराए लियोनल मेस्सी र उनका साथी यो अभियानमा सफल हुनेछन्। अर्जेन्टिनालाई विजेता बनाउन खेलाडी जति गम्भीर छन्, त्यति नै गम्भीर छन् समर्थक।

‘साउदी अरबसँगको खेलमा मैले निलो र सेतो रंगको नम्बर १० लेखेलको जर्सी लगाएको थिएँ। मेक्सिकोविरुद्धको खेलमा मैले पछाडिको भाग अगाडि ल्याएर लगाएँ, खेल अर्जेन्टिनाले जित्यो,’ ब्युनोस आयर्सका जुलियो ट्रेस्टोले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँग भनेका छन्।

समूह चरणको पहिलो खेलमा साउदीसँग २–१ ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका खेलमा भने सुधारिएको प्रदर्शन गर्नसक्यो। लगातार पाँच खेल जितेर फाइनलमा स्थान पक्का गर्‍यो। ‘मैले जर्सीको पछाडिको भाग अगाडि पारेपछि अर्जेन्टिना अपराजित छ। जब केही गर्दा खेल जितिन्छ, यसलाई परिवर्तन गर्नु हुँदैन। यसलाई अन्धविश्वास भन्न सकिन्छ। तर फुटबल यही हो,’ ५५ वर्षीय ट्रेस्टोले भने।

फाइनलमा पनि जर्सी त्यसरी नै लगाउने ट्रेस्टोको भनाइ छ। उसो त अर्जेन्टिनामा आफ्नै खालको संस्कार भएका समर्थक ट्रेस्टो एक्लो होइनन्। ब्युनोस आयर्स सहरमै डिजाइनरको काम गर्ने ग्रासिएला क्यास्ट्रो पनि फरक किसिमको रीति पछ्याउँछिन्। ‘प्रत्येक खेलमा उही ट्राउज र सर्ट लगाउँछु। खेल नसकी शौचालय पनि जादिनँ,’ क्यास्ट्रोले भनिन्।

१५ वर्षीय अल्मा माउरी विश्वकपरभर एउटै जर्सी लगाउने बताउँछिन्। उनी त्यो जर्सी नधोई लगाउँछिन्। गुइलेर्मो मार्टिनेज चाहिँ पहिलो र दोस्रो हाफ हेर्दा फरक फरक शैलीमा बस्छन्। उनी श्रीमती मोनिका गोमेज भने खेल हेर्दा धर्मगुरु, छोरी र म्याराडोनाको फोटो आफूसँगै राख्छिन्।

सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप जित्दा टिम सदस्य रहेका डानियल भ्यालेन्सियाले कतार जाने निम्तो नै अस्वीकार गरे। फिफा र आयोजक कतारको निम्तो अस्वीकार गर्नुको एउटै कारण हो, आफू त्यहाँ गएर विश्वकप हेर्दा अर्जेन्टिना हार्ला भन्ने अन्धविश्वास।

‘म कतार नजाने निर्णय गर्दा मेरो छोरो मसँग औधी रिसायो। मैले दिएको कारण उसलाई चित्त बुझेन,’ भ्यालेन्सियाले स्थानीय रेडियो एएम ७५० सँगको अन्तरवार्तामा भनेका छन्, ‘मैले आफैँले आफैँलाई सम्झाए, जे गर्दै आएको छु त्यो त्याग्नु हुँदैन। खेल हेर्दा हामी सबैजना सधैँ एकै ठाउँमा बस्छौँ। म आफ्नो भित्रीवस्त्र पनि उल्टो पारेर लगाउँछु।’

क्रिस्टियन ओबेरोस्लर र लुकरेसिया आइराल्डीले सम्बन्ध विच्छेद गरिसकेका छन्। तर विश्वकप भने यी दुई सँगै हेर्छन्। ५० वर्षीय पहिलो खेल हालका श्रीमान्सँग हेरेकी थिइन्। तर बाँकी खेल भने उनले आफ्ना पूर्वश्रीमान् र छोरीसँग एउटै बारमा हेरेकी छन्। अब फाइनल पनि सँगै हेर्ने योजना बनाएकी छन्।

विश्वविद्यालयमा अध्ययन गर्ने २४ वर्षीय इग्नासियो फारोनको घरमा ६४ वर्षीया हजुरआमा क्लारा विश्वकप हेर्न सधैँ एउटै कुर्सीमा बस्छिन्। त्यो पनि म्याराडोनाको फोटो बोकेर।

एएफपीबाट

प्रकाशित: ३ पुष २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =