अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भन्छन् : विश्वकप जितेको धाक लगाएर खेल्नुको अर्थ छैन

हिमाल प्रेस ९ चैत २०७९ १०:०८
8
SHARES
अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भन्छन् : विश्वकप जितेको धाक लगाएर खेल्नुको अर्थ छैन पानामासँगको मैत्रीपूर्ण खेलअघि अभ्यास गर्दै अर्जेन्टिना।

काठमाडौँ- अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्ना खेलाडीहरूले विश्वकपमा देखाएको लयलाई निरन्तरता दिनुपर्ने बताएका छन्। गत वर्षको उत्तरार्द्धमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकप विजेता बनेको अर्जेन्टिनाले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन दिन नुहने स्कोलोनीको भनाइ थियो।

अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बन्दा प्रशिक्षक रहेका स्कालोनीले आफ्ना खेलाडीले थप सफलता पाउन अझ मेहनत गर्नुपर्ने बताए। ‘हामी विश्वकप विजेता हो। तर यसको मतलब यो होइन कि हामी अरु सफलताको पनि स्वतः हकदार हौँ। त्यसका लागि हामीले मेहनत गर्नुपर्छ। आफूलाई मन लागेको शैलीमा खेलेर हुँदैन। धाक लगाएर हुँदैन। यो तथ्य सबै खेलाडीले बुझ्न जरुरी छ,’ स्कालोनीले पानामासँगको मैत्रीपूर्ण खेलअघि भने।

अर्जेन्टिना मध्यअमेरिकी टिम पानामासँग ब्युनोस आयर्सस्थित स्टाडियो मोनुमेन्टलमा शुक्रबार बिहान भिड्नेछ। अर्जेन्टाइन क्लब रिभर प्लेटको यो रंगशाला दक्षिण अमेरिकाकै सबैभन्दा ठूलो हो।

कोपा अमेरिका र विश्वकप जितेपछि अर्जेन्टिना अब नयाँ चरणमा प्रवेश गरेको स्कालोनीको भनाइ थियो। ‘खेलाडीलाई मैले दिने सन्देश सामान्य छ, नयाँ चरण सुरु भएको छ, त्यसकारण मेहनत गर। अब विश्वकप विजेताको परिचय लिएर मैदान ओलर्नुको केही अर्थ छैन। न त यो परिचयले हामीलाई खेल जित्न नै सहयोग गर्छ। मैदानमा कडा परिश्रम नगरी सुख छैन,’ स्कालोनीले भने।

स्कालोनीले विश्वकप फाइनल खेलेका खेलाडीलाई नै पानामाविरुद्ध उपयोग गर्ने बताए। ‘सबैजना यी खेलाडीले खेलेको हेर्न चाहन्छन्,’ स्कालोनीले थपे।

अर्जेन्टिनाको टिममा कप्तान लियोनल मेस्सी लगायतका महत्त्वपूर्ण सबै खेलाडीलाई समावेश गरिँदा युवा फरवार्ड अलेहान्द्रो गारनाचो र सेभियाका अनभुवी स्ट्राइकर अलेहान्द्रो गोमेज भने अनुपस्थित छन्। यी दुई खेलाडी पूर्णरुपमा फिट नभएकाले अर्जेन्टिना नपुगेका हुन्।

फिफाबाट उत्कृष्ट वर्ष प्रशिक्षकको पुरस्कार पाएका स्कालोनीले अर्जेन्टिनाको इतिहासकै सबैभन्दा बलियो टिमको साथ पाएको बताइन्छ। तर उनी यो तर्कमा ध्यान नदिएको बताउँछन्। ‘मलाई यो विषयमा बहस नै गर्नुछैन। हामीले विश्वकप जितिसकेका छौँ। टिम सर्वाधिक बलियो थियो कि थिएन, हो कि होइन भन्ने कुराले के अर्थ राख्छ र?’ स्कालोनीको प्रश्न थियो।

सन् १९७८ मा घरेलू भूमि र १९८६ मा मेक्सिकोमा विश्वकप जितेको अर्जेन्टिनाको टिम कतारबाट फर्कदा ब्युनोस आयर्समा हजारौँ समर्थक जम्मा भएका थिए। भिड नियन्त्रण गर्न हम्मेहम्मे परेपछि अर्जेन्टाइन टिमले ‘ओपन बस’ मा सहर परिक्रमा गर्न सकेको थिएन। जसकारण समर्थकले आफ्ना खेलाडीसँग खुसीयाली मनाउने मौका पाएनन्। यस्तोमा पानामासँगको खेल समर्थकका लागि खुसीयाली मनाउने मौका हुनेछ।

पानामासँगको खेलपछि अर्जेन्टिना रिभर प्लेटसँग भिड्नेछ। यो खेल अर्जेन्टाइन फुटबल संघ (एएफए) कौ मैदानमा हुनेछ। जहाँ समर्थकका लागि प्रवेश निषेध गरिएको छ। विश्वकप जितेको खुसीयाली मनाउन विभिन्न कार्यक्रम आयोजना हुँदै गर्दा यो खेललाई पनि त्यसै अन्तर्गत राखिएको हो।

स्कालोनीले पानामासँगको खेलमा मौका नपाएका खेलाडीलाई रिभर प्लेटविरुद्ध उपयोग गर्नेछन्। अर्जेन्टिनाका पूर्वराष्ट्रिय खेलाडी मार्टिन डेमिचिलिसको प्रशिक्षणमा रहेको रिभर प्लेटले शनिबार चिलीसँग खेल्दैछ। चिलीसँगको खेलमा बेन्चमा रहने खेलाडीलाई डिमिचिलिसले राष्ट्रिय टिमविरुद्धको खेलमा मौका दिने बताइएको छ।

अर्जेन्टिनाले मार्च २८ मा कुराकाओसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेदरल्यान्ड्सको अधीनमा रहेको कुराकाओ क्यारेबियन क्षेत्रमा रहेको टापू देश हो। त्यसपछि अर्जेन्टिनाको टिम पाराग्वे जानेछ। पाराग्वेको लुक सहरमा रहेको दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) को मुख्यालयमा अर्जेटाइन टिमलाई सम्मान गरिँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =