मेस्सीकाे नाममा अर्जेन्टाइन राष्ट्रिय टिमको अभ्यासस्थल

हिमाल प्रेस १२ चैत २०७९ १८:५३
6
SHARES
मेस्सीकाे नाममा अर्जेन्टाइन राष्ट्रिय टिमको अभ्यासस्थल

काठमाडौँ- अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको अभ्यासस्थलको नाम कप्तान लियोनल मेस्सी राखिएको छ। अर्जेन्टाइन फुटबलमा मेस्सीले पु¥याएको योगदानको आधारमा अर्जेन्टिना फुटबल संघ (एएफए) ले ट्रेनिङ कम्प्लेक्सको नाम ‘लियोनल आन्द्रेस मेस्सी’ राखिएको जनाएको हो।

‘कासा डे इजेइजालाई अब लियोनल मेस्सी भनेर चिनिनेछ। विश्व फुटबलमा सर्वोत्कृष्ट खेलाडीलाई यो हाम्रो सम्मान हो,’ एएफएका अध्यक्ष क्लाउडियो टापियाले शनिबार ट्विटरमा लेखेका छन्।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप २०२२ जितेको थियो। डिएगो म्याराडोनापछि अर्जेन्टिनालाई विश्वकपमा सफलता दिलाउने मेस्सी दोस्रो कप्तान हुन्।

‘एएफएले मलाई दिएको यो सम्मानलाई लिएर निकै खुसी छु। यो अभ्यासस्थलको नाम लियोनल मेस्सी राखिनु मेरा लागि सुन्दर क्षण हो,’ ३५ वर्षीय मेस्सीले भनेका छन्।

गत वर्ष कतारी भूमिमा विश्वकप जितेपछि मेस्सीको खेल करियर पूर्ण भएको बताइँदैछ। राष्ट्रिय टिमका लागि कोपा अमेरिका र क्लब फुटबलमा चार च्याम्पियन्स लिगसहित ११ लिग उपाधि जितेको मेस्सी विश्वकपको फाइनलमा पुगे पनि विजेता भने बन्न सकेका थिएनन्।

सात पटक बालोन डोर जितेका मेस्सीले बिहीबार मात्र करियरको ८ सयौँ गोल गरेका थिए। उनको गोलसँगै अर्जेन्टिनाले ब्युनोस आयर्समा पानामालाई २–० ले पराजित गरेको थियो।

प्रकाशित: १२ चैत २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =