पेले र बेक्हमपछि मेस्सी : बढ्ला अमेरिकी फुटबलको परिधि?

हिमाल प्रेस २७ जेठ २०८० १५:४९
40
SHARES
पेले र बेक्हमपछि मेस्सी : बढ्ला अमेरिकी फुटबलको परिधि?

अमेरिकी लिग एमएलएसमा हाल २९ टिम छन्। इन्टर मायामी चाहिँ २५ औँ टिम हो। जसलाई जनवरी, २०१८ मा एमएलएसमा प्रवेश दिइएको हो। जब डेभिड बेक्हम र उनका साझेदारहरूलाई इन्टर मायामी फ्रेन्चाइज दिइयो, लियोनल मेस्सीले समेत बधाई सन्देश पठाए।

मेस्सीको भिडियो सन्देशले बेक्हम फुरूक्क नहुने कुरै भएनन्। मेस्सीको कुरै फुरूक्क बनाउने थियो। ‘के थाहा, केही वर्षपछि इन्टर मायामीबाट मलाई पनि प्रस्ताव आउँछ कि?’ बेक्हमलाई नयाँ क्लब दर्ताको शुभकामना दिँदा मेस्सीले यसो पनि भनेका थिए।

त्यस्तो भिडियो सन्देश पठाएको ६ वर्षपछि मेस्सी इन्टर मायामी पुग्ने भएका छन्। युरोपेली क्लब फुटबलमा नाम कहलिएका खेलाडी धमाधम साउदी अरबतिर गइरहेका बेला मेस्सीले भने अमेरिका रोजेका हुन्। जबकि उनीसँग बार्सिलोना फर्कने विकल्प पनि थियो।

के बेक्हमसँगको दोस्तीका कारण मात्रै मेस्सीले एमएलएस रोजेका हुन्? यो मात्र कारण होइन। विश्वकप २०२२ पछि नै इन्टर मायामी र एमएलएस मेस्सीलाई फकाइरहेका थिए। विश्व फुटबलकै सर्वकालिन् महान् खेलाडी भनेर दाबी गरिने मेस्सीलाई फकाइँदा विभिन्न आर्थिक प्याकेजको पनि लोभ देखाइयो।

फलतः मेस्सीले एप्पल र एमएलएसबीच भएको प्रशारण अधिकार बिक्री सम्झौताको केही हिस्सा पाउनेछन्। एडिडाससँगको सम्झौता त छँदैछ। एडिडास एमएलएसको सबैभन्दा पुरानो प्रायोजक हो। के भनिन्छ भने, एडिडास पनि मेस्सीलाई अमेरिकी फुटबलसँग जोड्न आफ्नो ठाउँबाट महेनत गरिरहेको थियो। जे होेस्, सबैको मेहनत काम लाग्यो। अब मेस्सी एमएलएस इतिहासमै सर्वाधिक तलब पाउने खेलाडी बन्नेछन्।

मेस्सीको एमएलएस स्थान्तरण सजिलै भएको भने होइन। खासमा मेस्सी इन्टर मायामी जाने टुंगो नै थिएन। हरेक खेलाडीलाई आगामी स्थान्तरणबारे निर्णय लिइहाल्न सजिलो हुँदैन। उनी त मेस्सी हुन्। फेरि यहाँ भुल्न नहुने तथ्य के छ भने, मेस्सीसँग इन्टर मायामी ६ वर्षअघि नै जाेडिएकाे थियो।

‘डेभिड र म मेस्सीलाई एमएलएस ल्याउन प्रयासरत छौँ। यदि उनी इन्टर मायामीसँग जोडिए, यो क्लका लागि मात्र होइन समग्र लिगकै लागि सुखद् हुनेछ,’ सन् २०२१ मा इन्टर मायामीका सह–संस्थापक जोर्ग मासले भनेका थिए।

इन्टर मायामी मात्र होइन एमएलएस पनि मेस्सीको सम्भावित स्थान्तरणका कारण लोभिएको थियो। गत मार्चमा लिगका कमिस्न डन गार्बरले मेस्सीलाई अमेरिका लान पाए देशको फुटबल परिवर्तन हुने अभिव्यक्ति दिएका थिए। मेस्सीलाई आफ्नो खेलाडी बनाउन को लोभिदैन र?

बाहिर जे जे हल्ला आए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि मेस्सीलाई पेरिसमै राख्न चाहन्थ्यो। बार्सिलोनाले पनि मेस्सी फकाउन खोजेकै हो। एमएलएसका लागि सबैभन्दा बलियो प्रतिस्पर्धी त साउदीको अल हिलाल थियो। जसले मेस्सीलाई वार्षिक ४० करोड अमेरिकी डलर तलबको प्रस्तवा पठाएको थियो। तर आखिरमा मेस्सीले एमएलएस नै रोजे।

मेस्सी इन्टर मायामी पुग्नु, अमेरिकी फुटबललाई परिवर्तन गर्ने पुरानो अभियानकै हिस्सा हो। यो अभियान सन् १९७० को दशकमै सुरू भएको थियो। त्यसबेला परिवर्तनको संवाहक पेलेलाई बनाइएको थियो। सन् २००० को दशकमा बेक्हम नयाँ दूत बने। अहिले मेस्सीको पालो आएको छ।

पेले अमेरिकी मैदानमा ओर्लिन साथ दर्शकको संख्या हवात्तै बढेको थियो। सन् १९७५ मा न्युयोर्क कस्मसको खेल हेर्न औसतमा ३५ सय दर्शक रंगशाला पुग्थे। सन् १९७७ मा यो संख्या ४५ हजारसम्म पुग्यो। जयान्ट्स रंगशालामा त तीन पटक ७० हजार दर्शक भेला भएका थिए।

अमेरिकी पुरूष फुटबलको इतिहासमा पेलेको जति प्रभाव अरूको छैन। पेले सन् १९७५ मा न्युयोर्क कस्मससँग आबद्ध भएका थिए। त्यसबेला अमेरिकी लिग ‘नर्थ अमेरिकन सकर लिग’ को स्वरूपमा थियो। न्युयोर्क कस्मसमा वार्नर कम्युनिकेसन्सको लगानी थियो। जो अमेरिकमा फुटबल विस्तार गर्न साँच्चै गम्भीर थियो। फुटबललाई जराबाटै बलियो बनाउनु पर्छ भनेर लागेको न्युयोर्क कस्मस सुरूमा सफल पनि भएको हो।

पेले अमेरिकी मैदानमा ओर्लिन साथ दर्शकको संख्या हवात्तै बढेको थियो। सन् १९७५ मा न्युयोर्क कस्मसको खेल हेर्न औसतमा ३५ सय दर्शक रंगशाला पुग्थे। सन् १९७७ मा यो संख्या ४५ हजारसम्म पुग्यो। जयान्ट्स रंगशालामा त तीन पटक ७० हजार दर्शक भेला भएका थिए।

पेलेकै प्रभाव मान्नुपर्छ, त्यसबेलाका अन्य ठूला स्टार पनि अमेरिकी लिग खेल्न गए। जस्तै, जर्ज बेस्ट, योहान क्रूफ, फ्रान्ज बेकनबाउर, गर्ड मुलर आदि। पेलेले अमेरिकामा लिग एनएएसएलको लोकप्रियता त बढाए, तर यसलाई बचाउन भने सकेनन्। कारण ? आर्थक सङ्कट।

अमेरिका एनएसएलमय भएपछि क्लबहरूले खेलाडी अनुबन्धनमा असाध्यै धेरै खर्च गर्न थालेका थिए। तर खर्च बढी, प्रतिफल कम हुन थालेपछि अन्ततः एनएएसएल सन् १९८४ मा बन्द भयो।

एनएएसएल त बन्द भयो, तर पेलेले अमेरिकी फुटबलमा ल्याएको प्रभाव भने सुरक्षित रह्यो। अमेरिकी फुटबलले पेलेलाई कति महत्त्व दिएको थियो? यो जान्न न्युयोर्क कस्मसका तत्कालिन अध्यक्ष क्लाइभ टोयेले पेलेलाई कसरी फकाएका थिए, त्यसबारे थाहा पाए पुग्छ। ‘तपाईंले धेरै खेल खेल्नु भयाे। उपाधि जित्नु भयो। अब तपाईंसँग पूरै अमेरिकालाई जित्ने मौका छ। फुटबल दूत बन्ने अवसर छ,’ टोयेले पेलेलाई भनेका थिए।

टोयेले जे भने, त्यो सत्य थियो। पेले अमेरिकामा तीन वर्ष बसे। त्यसबीचमा उनलाई देखेर छक्क पर्ने फुच्चे खेलाडीहरू अमेरिकी राष्ट्रिय टिमको सदस्य बने। सन् १९९० को विश्वकपमा छनोट हुने त्यो टिम साँच्चै ऐतिहासिक थियो। चार वर्षपछि आफ्नै भूमिमा भएको विश्वकप पनि यिनै खेलाडीहरूले खेले।

एनएएसएल बन्द हुनु दुःखद थियो। तर त्यही लिगमा क्लब चलाउनेहरूकै अग्रसरतामा एमएलएसको स्थापना भयो। एमएलएसले एनएएसलको बाटो समातेन। अनावश्यक खर्च गर्दा के हुन्छ, सबैले थाहा पाइसकेका थिए। यसकारण आर्थिक रूपमा दिगो हुने बाटो खोजियो। जसकारण आज एमएलएसको अस्तित्व संकटमा परेको छैन।

पेले अमेरिकामा तीन वर्ष बसे। त्यसबीचमा उनलाई देखेर छक्क पर्ने फुच्चे खेलाडीहरू अमेरिकी राष्ट्रिय टिमको सदस्य बने। सन् १९९० को विश्वकपमा छनोट हुने त्यो टिम साँच्चै ऐतिहासिक थियो। चार वर्षपछि आफ्नै भूमिमा भएको विश्वकप पनि यिनै खेलाडीहरूले खेले।

उसो त एमएलएसले स्टार खेलाडी नभित्र्याएको चाहिँ होइन। सन् २००७ मा बेक्हम नै त्यहाँ पुगेका हुन्। तर त्यसबेलासम्म एमएलएस बेक्हम जस्ता अन्तर्राष्ट्रिय स्टारलाई थेग्नसक्ने भइसकेको थियो। बेक्हम एलए ग्यालेक्सीसँग आबद्ध हुँदा एमएलएसमा १३ क्लब थिए। सन् १९९६ मा सुरू भएको एमएलएसको कान्छो सदस्य टोरोन्टो एफसी बनेको थियो। जसलाई एक करोड अमेरिकी डलर फ्रेन्चाइज फी तिराइएको थियो। लिग हेर्न रंगशाला पुग्ने दर्शकको संख्या बढिरहेकाले टोरोन्टोलाई त्यति शुल्क तिर्न ग्राहो थिए।

सन् २०२३ मा एमएलएस खेल्ने क्लब २९ पुगेको छ। सेन्ट लुई सिटी एससी लिगको कान्छो सदस्य हो। चाँडै नै क्लबको संख्या ३० पुग्ने बताइएको छ। सबैभन्दा पछिल्लो क्लब क्यालिफोर्नियाको सान डिएगोबाट हुनेछ।

एमएलएसको यो विस्तारका कारण धेरै छन्। तर बलियो कारण चाहिँ बेक्हम नै भएकोमा शंका छैन। एमएलएसका कमिस्नर डन गाब्ररले सन् २००७ मै बेक्हमको प्रभाव स्वीकार गरेका थिए। ‘बेक्हमले गर्दा आज एमएलएस विश्वभर चिनिएको छ। एलए ग्यालेक्सीको जर्सी सन् २००६ मा भन्दा सात सय गुणा बढी जर्सी २००७ मा बिकेको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री नभएको टेलिभिजन प्रशारण अधिकार एक सय देशमा किनिएको छ। यो सबै भएको बेक्हमकै कारण हो,’ गार्बरले न्युयोर्क टाइम्ससँगको अन्तरवार्तामा भनेका थिए।

एमएलएसमा बेक्हमले जुनस्तरको प्रभाव पारेका थिए, त्यस्तै प्रभाव मेस्सीले पार्ने अनुमान गरिएको छ। अर्जेन्टिनाका कप्तानको आगमनले एमएलएस हेर्ने दर्शकको संख्या, जर्सी बिक्री र अन्तर्राष्ट्रिय बजारमा एमएलएसको ब्रान्ड भ्यालु बढ्ने लगायतका अपेक्षा गरिनु स्वाभाविक हो।

एमएलएसका खेल हुने अधिकांश रंगशालामा १८ देखि ३० हजार दर्शक अट्छन्। तर मेस्सीको खेल हेर्न पुग्ने सबै दर्शक अब यी रंगशालामा अट्ने छैनन्। किनभने बार्सिलोना सन् २०१७ को प्रि–सिजनमा अमेरिकामा रहँदा मेस्सीको खेल हेर्न ६० देखि ८० हजार दर्शक न्युुयोर्क, वासिङ्टन डीसी र मायामीको रंगशाला पुगेका थिए।

इन्टर मायामी डीआरभी पीएनके रंगशालामा खेल्ने गर्छ। जसको दर्शक क्षमता १८ हजार छ। अधिकांश क्लबका रंगशाला यस्तै साना भएकाले इन्टर मायामीसँगको खेल भने ठूला रंगशालामा खेल्ने योजना बन्न सक्छन्। ताकि धेरैभन्दा धेरै दर्शकले मेस्सीसम्मिलित इन्टर मायामीको खेल हेर्न सकून्। यसले सबै क्लबलाई आर्थिक फाइदा हुुनेछ।

तर के आर्थिक फाइदाका लागि क्लबहरूले घरेलु रंगशालाबाहिर खेल्न मन गर्लान्? यसको जवाफ तत्काल पाउन गाह्रो छ। तर अहिले हालका लागि थाहा पाउनै पर्ने जानकारी हो, ‘सेकेन्डरी मार्केट’मा एमएलएसको टिकट मूल्य बढ्दो छ।

क्लबहरूले टिकटको बढ्दो मागलाई व्यवस्थापन गर्न मूल्य बढाउन पनि सक्छन्। जे होस्, मेस्सीका कारण एमएलएसलाई ठूलो आर्थिक फाइदा हुनेवाला छ। सबैभन्दा धेरै फाइदा चाहिँ इन्टर मायामीले लिनेछ, यो पक्का हो।

पीएसजीमा मेस्सीको प्रभाव जर्सी बिक्रीमा मात्र सीमित रहेन। उनकै कारण सामाजिक सञ्जालमा समेत पीएसजीको उपस्थिति बलियो बन्यो। मेस्सी अनुबन्धित भएको घोषणा गरेको साता पीएसजीको सामाजिक सञ्जालमा ५६ लाख फलोवर्स् थपिएका थिए। त्यसपछिका दिनमा पनि नयाँ फलोवर्स्को संख्या बढिरह्यो। एक करोड ५० लाखसम्म पुग्यो। कतिसम्म भने पीएसजी इन्स्टाग्राममा सर्वाधिक फलोवर्स् भएको फ्रान्सेली कम्पनी नै बन्यो।

मेस्सीको प्रभाव पीएसजीमा पनि देखिएको थियो। स्पेनी अखबार मार्काका अनुसार मेस्सीलाई अनुबन्धन गरेको एक वर्षभित्रै पीएसजीले ७० करोड युरो आम्दानी गरेको थियो। अर्जेन्टिनाको अखबार एल इकोनोमिस्टाको दाबी पत्याउने हो भने, मेस्सीलाई अुबन्धन गरेपछि पीएजीमा १० नयाँ प्रायोजक भित्रिएका थिए। ती प्रत्येकबाट पीएसजीले ३० देखि ८० लाख युरोसम्म पाएको थियो। फोटो अधिकार र टिकट बिक्रीबाट पनि पीएसजीले मनग्यै आम्दानी गर्‍यो। मेस्सीको जर्सीको माग त सधैँ भइरह्यो। जुलाई, २०२१ मा अर्जेन्टिनाको डिआरियो ओलेले गरेको दाबी अनुसार, रियल म्याड्रिडपछि सर्वाधिक जर्सी बेच्ने क्लब पीएसजी थियो। पीएसजीले बिक्री गरेका जर्सीमध्ये ६० प्रतिशत मेस्सीकै थिए।

पीएसजीमा मेस्सीको प्रभाव जर्सी बिक्रीमा मात्र सीमित रहेन। उनकै कारण सामाजिक सञ्जालमा समेत पीएसजीको उपस्थिति बलियो बन्यो। मेस्सी अनुबन्धित भएको घोषणा गरेको साता पीएसजीको सामाजिक सञ्जालमा ५६ लाख फलोवर्स् थपिएका थिए। त्यसपछिका दिनमा पनि नयाँ फलोवर्स्को संख्या बढिरह्यो। एक करोड ५० लाखसम्म पुग्यो। कतिसम्म भने पीएसजी इन्स्टाग्राममा सर्वाधिक फलोवर्स् भएको फ्रान्सेली कम्पनी नै बन्यो।

मेस्सीको आगमनले जस्तो प्रभाव पार्‍यो, त्यस्तै प्रभाव बहिर्गमनले पनि पार्‍यो। मेस्सीको सम्झौता नवीकरण नहुने खबर आउन साथ पीएसजीले इन्स्टाग्राममा २० लाख फलोवर्स् गुमायो।

मेस्सी फुटबल बजारको सबैभन्दा अमूल्य गहना हुन्। उनले इन्टर मायामी र एमएलएसको मात्र ब्रान्ड भ्याल्यु बढाउने छैनन्, व्यक्तिगत आम्दानी पनि गर्नेछन्। त्यसै पनि अहिले उत्तर अमेरिकी फुटबल बजारमा अथाह लगानी भइरहेको छ। कारण हो, विश्वकप २०२६। यो विश्वकप आयोजना तयारीमा अमेरिकासँगै क्यानडा र मेक्सिको जुटेका छन्।

आगामी विश्वकपमा ४८ टिम हुनेछन्। यो विश्वकपबाट फिफाले एक अर्ब ४० करोड अमेरिकी डलर कमाउने बताइन्छ। जबकि अमेरिकाले नै सन् १९९४ मा विश्वकप आयोजना गर्दा फिफाको कमाइ २३ करोड ५० लाख अमेरिकी डलर मात्र थियो।

विश्वकप हुन केही वर्ष बाँकी छँदा अमेरिका पुगेको मेस्सी त्यहाँ प्रयोजकहरूको नजरमा पर्ने नै छन्। कतिसम्म अनुमान गरिन थालिएको छ भने, कुनैदिन एमएलएसमा मेस्सीको आफ्नै क्लब हुनेछ। जब मेस्सीले संन्यास लिनेछन्, तब उनलाई एमएलएसको कुनै क्लबमा सेयर दिइनेछ। यो वाचा इन्टर मायामीसँगको सम्झौताको हिस्सा हो।

यही वर्ष एमएलएसले एपल्लसँग १० वर्षे प्रशारण अधिकार सम्बन्धी सम्झौता गरेको छ। एमएलएसका प्रत्येक खेल अब ‘एमएलएस सिजन पास’ मा देखाइनेछ। यो नयाँ स्ट्रिमिङ एप्लिकेसन हो, जुन एप्पल टीभी प्लससँगको साझेदारीमा बनाइएको हो। यो सम्झौताले एमएलएसको बजार विस्तार हुने र आम्दानी बढ्ने विश्वास छ। एप्पलसँगको सम्झौताका कारण उत्साहित बनेको एमएलएस मेस्सीको आगमनले झनै फुर्किएको छ।

मेस्सीले अमेरिकामा कति आर्थिक आम्दानी गर्छन्, त्यसको अहिल्यै लेखाजोखा गर्न सम्भव छैन। उनले त्यहाँ अथाह पैसा कमाउने नै छन्। तर फेरि मैदानमै फर्कने हो भने, मेस्सी निराश हुने सम्भावना पनि छ।

एप्पलसँगको सम्झौता साढे दुई अर्ब अमेरिकी डलर बराबरको हो। ‘एमएलएस सिजन पास’ थपिने नयाँ प्रयोगकर्ताले जति शुल्क तिर्छन्, त्यसको केही प्रतिशत हिस्सा मेस्सीले पनि पाउनेछन्। मेस्सीका कारण नयाँ प्रयोगकर्ता बढ्ने विश्वास गरिएको छ। लामो समय सानो अमेरिकी फुटबल बजारमा सीमित एमएलएस तन्किने अपेक्षा छ।

मेस्सीले अमेरिकामा कति आर्थिक आम्दानी गर्छन्, त्यसको अहिल्यै लेखाजोखा गर्न सम्भव छैन। उनले त्यहाँ अथाह पैसा कमाउने नै छन्। तर फेरि मैदानमै फर्कने हो भने, मेस्सी निराश हुने सम्भावना पनि छ।

किनभने एमएलएस ला लिगा वा फ्रेन्च लिग जस्तो ठूलो लिग होइन। न त उनले पीएसजी वा राष्ट्रिय टिमबाट खेल्दा जस्तो प्रतिभाशाली साथी खेलाडीको साथ पाउनेछन्। इन्टर मायामी फुटबल क्लबभन्दा बढी ब्रान्ड बन्ने प्रयासमा छ। लिगमै पनि इन्टर मायामीको प्रदर्शन असाध्यै खराब छ। अंक तालिकाको पुछारमा रहेको इन्टर मायामीले गत साता मात्र प्रशिक्षक फिल नेभिललाई बर्खास्त गरेको थियो। इन्टर मायामी हाल टाटा मार्टिनोसँग छलफलमा छ। जो बार्सिलोनाका पूर्वप्रशिक्षक हुन्।

मार्टिनो बार्सिलोनापछि अर्जेन्टिनाका प्रशिक्षक बनेका थिए। एमएलएसमा एटलान्ट युनाइटेडलाई प्रशिक्षण दिएका मार्टिनो किन इन्टर मायामीको छनोटमा परे? मेस्सीलाई सजिलो होस् भने। यस्तो पनि हल्ला छ।

हाल पाराग्वेका प्रशिक्षक रहेका बारोस स्लेटोले केही वर्षअघि नै अनुमान गरिसकेका थिए, मेस्सीले एमएलएसमा कस्तो क्लब रोज्छन् भनेर। ‘उनले लस एन्जलस वा मायामीको क्लब रोज्न सक्छन्। वा अर्जेन्टाइनहरूको प्रभाव भएको क्लबमा जान सक्छन्। जे होस् उनलाई यस्तो क्लब चाहिन्छ जहाँ उनीसँग चिनजान भएका प्रशिक्षक वा कार्यकारी निर्देशक हुन्,’ मेस्सीसँग नजिक रहेका स्लेटोले भनेका थिए।

स्लेटोले गरेको अनुमान मिलेको छ। तर के मेस्सीले इन्टर मायामीलाई तत्काल कुनै उपाधि जिताउन सक्छन्? जस्तै एमएलएस कप? सिधा उत्तर हो, छैन। सन् २०२४ अघि इन्टर मायामी कुनै उपाधिको दाबेदार बन्नसक्ने स्थिति छैन। सन् २०२१ मा एमएलएसले गरेको कारबाही अन्त्य भएपछि मात्र इन्टर मायामी प्रशस्त नयाँ खेलाडी खरिद बलियो बन्नसक्छ। वित्तीय अनुशासन पालना नगरेको भन्दै इन्टर मायामीलाई कारबाही गरिएको थियो।

एमएलएसमा क्लबहरूले तोकिएको सीमाभन्दा बढी खर्च खेलाडी अनुबन्धन वा तलबमा गर्न पाउँदैनन्। तोकिएको सीमालाई ‘एलोकेसन मनी’ भनिन्छ। तर अपवाद भने छ। तीन जनासम्म खेलाडीलाई तोकिएको सीमाभन्दा बाहिर गएर अनुबन्ध गर्न पाइन्छ। यसरी अनुबन्ध गरिने खेलाडीलाई ‘डेजिग्नेटेड प्लेयर’ भनिन्छ। इन्टर मायामीले अगस्ट, २०२० मा ब्लेइस माटौडी र आन्द्रेस रेयेसलाई अनुबन्ध गर्दा ‘डेजिग्नेटेड प्लेयर’ बनाउनु पर्नेमा ‘एलोकेसन मनी’ को प्रयोग गरेको आरोप छ। त्यसपछि गरिएको कारबाही सन् २०२४ मा मात्र फुकुवा हुनेछ।

मेस्सीलाई उपाधि जित्नका लागि मात्र अमेरिका लगिएको होइन। मैदानबाहिरको प्रभावका लागि पनि लगिएको हो। र, उनको उपस्थितिमा अमेरिकी फुटबल बजारको परिधि फराकिलो हुनेछ भन्ने अनुमान गर्न ग्राहो छैन

यो अप्ठ्यारो त आफ्नो ठाउँमा छँदैछ। फेरि एमएलएसमा एक खेलाडीले आफ्नो बलमा क्लबलाई उपाधिनजिक सजिलै पुर्‍याएको उदाहरण छैन। बेक्हमले नै एलएस ग्यालेक्सीलाई एमएलएस कप जिताउन पाँच सिजन लगाएका थिए। थिएरी अन्रीले त न्युयोर्क रेडबुल्सलाई फाइनलसम्म पनि डोर्‍याउन सकेनन्। ज्लाटन इब्राहिमाभिच पनि असफल भए।

एमएलएसमा सजिलै सफल हुन सकिँदै भन्ने उदाहरण लोरेन्जो इन्सिन्या पनि हुन्। उनलाई गत वर्ष टोरोन्टो एफसीले लिगकै सर्वाधिक महँगो खेलाडी बनाएको थियो। नापोली छाडेर टोरोन्टो पुगेका उनको तलब एक करोड ४० लाख अमेरिकी डलर (प्रति सिजन) छ।

युरो २०२० जितेका इन्सिन्यासँगै फेडेरिको बेरनारडेस्ची र डोमेनिको क्रिसिटो पनि टोरोन्टोसँग आबद्ध भएका थिए। तर अमेरिकी राष्ट्रिय टिमका पूर्वप्रशिक्षक बब ब्राड्ली नेतृत्वको टोरोन्टो गत सिजन २८ क्लबमध्ये २७ औँ भयो। यो सिजन टोरोन्टो २२ औँ स्थानमा छ।

यसकारण प्रतिभाशाली खेलाडी अनुबन्ध गर्दैमा सफल हुन सकिँदैन। तर मेस्सीलाई उपाधि जित्नका लागि मात्र अमेरिका लगिएको होइन। मैदानबाहिरको प्रभावका लागि पनि लगिएको हो। र, उनको उपस्थितिमा अमेरिकी फुटबल बजारको परिधि फराकिलो हुनेछ भन्ने अनुमान गर्न ग्राहो छैन।

द एथ्लेटिकको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =