आउँदो विश्वकप खेल्ने वा नखेल्ने निर्णय मेस्सी स्वयंले गर्नेछन् : स्कालोनी

हिमाल प्रेस ६ पुष २०७९ १०:११
10
SHARES
आउँदो विश्वकप खेल्ने वा नखेल्ने निर्णय मेस्सी स्वयंले गर्नेछन् : स्कालोनी

काठमाडौँ- अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्ना टिम कप्तान लियोनल मेस्सीले अर्को विश्वकप खेल्ने वा नखेल्ने निर्णय उनी आफैँले मात्र गर्नसक्ने बताएका छन्। कतारमा अर्जेन्टिनालाई विश्वकप विजेता बनाउन कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई सर्वोत्कृष्ट खेलाडी चुनिएको थियो।

३५ वर्ष पुगिसकेका मेस्सीले अझ केही समय अन्तर्राष्ट्रिय फुटबलमा रहने बताएका छन्। तर उमेरका हिसाबले उनले सन् २०२६ को विश्वकप खेल्ने सम्भावना न्यून छ। यस्तोमा स्कालोनीले मेस्सीको भविष्य उनमै निर्भर हुने बताएका हुन्।

आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पन्छाएको अर्जेन्टाइन टिम आफ्नो देश पुगिसकेको छ। जहाँ यो टिमको राजधानी ब्युनोस आयर्समा भव्य स्वागत गरियो। हजारौँ समर्थकको भिड देखर भावुक बनेका स्कालोनीले आफ्ना खेलाडीलाई धन्यवाद दिए। पहिलो पटक राष्ट्रिय टिम सम्हालेका स्कालोनीलाई गत वर्ष कोपा अमेरिका जिताएका थिए भने यसपालि विश्वकप विजेता बनाए। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो।

अर्जेन्टाइन पत्रकारहरुले फ्रान्सविद्धको उपाधि भिडन्तमा दुई गोल गरेका मेस्सीबारे स्कालोनीलाई प्रश्न गरेका थिए। ‘यदि उनी राष्ट्रिय टिमसँग रहिरहन चाहन्छन् भने उनको निर्णयलाई स्वागत गरिनेछ। अर्जेन्टिनाबाट खेल्ने वा नखेल्ने निर्णय उनी आफैँले गर्ने हो। उनी टिमका लागि महत्त्वपूर्ण खेलाडी हुन्। उनी र उनका साथीहरुलाई प्रशिक्षण दिन पाउनु मेरो अहोभाग्य हो,’ स्कालोनीले भने।

विश्वकप उपाधि हात पारेपछि मेस्सीले आफू करियरको उत्तरार्द्धमा रहेको भए पनि अझ केही समय अझै अन्तर्राष्ट्रिय फुटबल खेल्न चाहेको बताएका थिए। ‘मेरो करियर लगभग सकिन लागेको छ। तर विश्व विजेताका रुपमा म अरु केही खेलको अनुभव बटुल्न चाहन्छु,’ पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यसपालि च्याम्पियन्स लिग जिताउने लक्ष्य बोकेका मेस्सीको भनाइ थियो।

सन् २०१८ मा अर्जेन्टिनाको प्रशिक्षक बनेका स्कालोनीले आफ्ना खेलाडीलाई लडाकुसँग दाँजेका छन्। डिफेन्डिङ च्याम्पियनविरुद्ध अन्तिम क्षणसम्म लड्न सक्ने खुबी सबै टिमसँग नहुने उनको भनाइ थियो। ‘मेरो खेलाडीले देश र समर्थकलाई सम्झिएर खेले। पहिलो दिनबाटै सबै खेलाडी टिमको लक्ष्यमा एकबद्ध थिए। आफ्नो देशलाई गौरवान्वित बनाउन फ्रान्स जस्तो बलियो टिमविरुद्ध अन्तिमसम्मै लडे,’ स्कालोनीले भने।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि विश्वकप फाइनल आतिरिक्त समयमा धकेलिएको थियो। आतिरिक्त समयमा दुवै टिमले एक–एक गोल थपेका थिए। आतिरिक्त समय सुरु हुनुअघि आफूले खेलाडीहरुलाई धैर्यवान् भएर खेल्न भनेको स्कालोनीले खुलाए।

‘फ्रान्सले राम्रो खेलिरहेको थियो। तर मलाई के थाहा थियो भने मेरा खेलाडी गोलका अवसर सिर्जना गर्न सक्छन्। आतिरिक्त समय र पेनाल्टीमा धैर्य हुनुबाहेकको विकल्प हामीसँग थिएन,’ स्कालोनीले भने।

स्कालोनीले आफ्ना गोलरक्षक इमिलियानो मार्टिनेजको पनि खुलेर तारिफ गरेका छन्। ‘पेनाल्टीअघि उनी सकारात्मक थिए। आफ्ना साथीहरूलाई विपक्षी टिमका केही पेनाल्टी बचाउँछु भन्दै थिए। आखिरमा उनी त्यस लक्ष्यमा सफल भए। फेरि पेनाल्टी प्रहार गर्न तयार हुने खेलाडी धेरै भएकाले पनि टिमको मनोबल उच्च थियो,’ स्कालोनीले भने।

अर्जेन्टिनाले यसअघि सन् १९८६ मा विश्वकप जितेको थियो। त्यसबेला कप्तान म्याराडोनाले नेतृत्वदायी प्रदर्शन गरेका थिए। अर्जेन्टाइन फुटबलमा सर्वकालिन महान् खेलाडीको दर्जा पाएका म्यारोडोनाको दुई वर्षअघि निधन भएको थियो। अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता बनेपछि विश्वरभर म्यराडोनालाई सम्झिइँदैछ।

स्कालोनीलाई पनि म्याराडोनाबारे सोधिएको थियो। ‘उनीबारे प्रश्न गरिँदा म झसंग हुन्छु। त्यसबेला महसुस हुन्छ, हामीसँग उनी छैनन् भनेर। अरुबेला त उनी यतै हामीसँगै छन् जस्तो लाग्छ,’ स्कालोनीले भने, ‘अर्जेन्टिना फुटबलका लागि मरिहत्ते गर्ने देश हो। सबैजना फुटबललाई प्रेम गर्छन्। यदि म्याराडोना आज बाँचिरहेका हुन्थे भने फ्रान्सविरुद्धको फाइनल जितेपछि मैदानमा पुग्ने पहिलो व्यक्ति उनै हुन्थे।’

एएफपीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =