पूरा भएरै छाड्यो म्याराडोना, मेसी र प्रशंसकको दीर्घ सपना

अजय अलौकिक १६ पुष २०७९ १७:१५
40
SHARES
पूरा भएरै छाड्यो म्याराडोना, मेसी र प्रशंसकको दीर्घ सपना विश्वकप सुरु हुनुअघि अर्जेन्टिनाको ब्युनस आयर्सस्थित सडकको भित्तामा कोरिएको फुटबलर लियोनल मेस्सी र डियगो म्याराडोनाको चित्र। तस्बिर : एपी

हाम्रो घरआँगनमा फेरि पनि नयाँ वर्ष आएको छ। हो, तपाईँसँग सहमत छु। यो ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष हो। हाम्रो वैशाख १ गते हो। यद्यपि अहिले ‘वैश्विक गाउँ’ को अवधारणा तथा आफ्नै थातथलो र संस्कृतिअनुसार हामीले वर्षमा कम्तीमा चारपाँचपटक नयाँ वर्ष मनाउने गरेका छौँ। भर्खरै तमु ल्होसार मनाएका छौँ। यी नयाँ वर्षले हामीमाझ रमाइलो र खुसीसहित ऊर्जा थप्ने काम गर्दछ।

साथै नयाँ वर्षसँगै नयाँ लक्ष्य, नयाँ सपना बोकेर हिँड्छौँ। यद्यपि यो आलेखमा नयाँ वर्ष र नयाँ सपना नभएर एउटा पीडादायक पुरानो सपनाको चर्चा गरिएको छ। जुन सपना पूरा हुन मानिसको आधा उमेर खर्च भएको छ।

सपना निजी हुन्छ। मेरो, तिम्रो, तपाईँको सबैका सपना छन्। हजार सपना छन्। हामी सबैले सपना देख्छौँ। त्यति मात्रै होइन हामी सबैले सपना देखेका पनि हुन्छौँ र देख्नु पनि पर्छ। साथै सपना सगोल र पारिवारिक तथा सामूहिक पनि हुन सक्छ। विश्वकै साझा सपना पनि छ।

सपनाले मानिसलाई पखेटा दिन्छ। असफल सपनाले मानसिक तनाव थपिदिन्छ। यद्यपि कतिपय असफल सपना बिर्सिसकेका पनि हुन्छौँ। कतिपय अधूरा अपूरा सपना अझै मनमस्तिष्क वरपरै छन्। कुनै दिन पूरा गर्ने अठोट या कुनै दिन पूरा हुनेछ भन्ने आश लगाएर पनि बसेका छौँ।

जे होस्, सपना देख्नु कुनै अपराध होइन। तापनि कतिपय सपना सडकमा हिँड्दाहिँड्दै या गुड्दागुड्दै अरूका कारणले पनि अपूरा, अधूरा रहन्छन्। गाउँघरमा सपना देखिरहेकाहरूलाई बगाएर या पुरेर पनि उनीहरूका सपनालाई अधुरो अपुरो बनाएका छन्।

कुनै सपना विदेशबाट बाकसमा अधुरो फर्कने गरेको छ। कतै प्रकृतिसँग रमाउँदै गर्दा सपनाले अन्तिम सास फेरेको दृश्य पनि देखेका छौँ। तर यो सपनामा न प्रकृतिबीच गएर साहसिक खेल खेलेको छ। न त कुनै निजी सपना बोकेर जिजीविषामा छ।

यो सपना नितान्त निजी भएर पनि आफ्नो परिवार, सन्तति, देश र माटोका लागि भने होइन। के त्यसो भन्न मिल्छ र महाशय? त्यो मेरो इच्छा हो, चाहना हो र सपना हो। त्यो पूरा हुँदा म धेरै खुसी हुने छु जसले म, मलाई, मेरो र मेरा सबैलाई सकारात्मक ऊर्जा दिनेछ। भावनातिर होइन, मुख्य विषयमा प्रवेश गरौँ। प्रसंग हो फिफा विश्वकप र अर्जेन्टिनाको।

हालै लिओनल मेस्सीको नेतृत्वको अर्जेन्टिना फुटबल टोलीले इतिहास रचेको छ। फुटबलका ‘गड’ र ‘गोट’ (ग्रेटेस्ट अफ अल टाइम) मानिएका मेसीले विश्वकप उचालेको कुरा कालान्तरमा स्वाभाविक लाग्न सक्छ। तर मेसीलगायतका अर्जेन्टाइन खेलाडी र प्रशंसकलाई यो सपना साकार गर्न १२ वर्ष लागेको छ।

सन् १९९० मा फाइनलमा पराजित भएपछिको त्यो पीडा, म्याराडोनासँगै घुलेको प्रशंसकको आँसु र छिट्टै च्याम्पियन हुने लक्ष्य र सपना पूरा हुन ३२ वर्ष लागेको छ।

सन् २०१४ मा फाइनलमा पराजित भएपछि बल्झेको प्रशंसकको पीडामा यसपटक स्वाट्टै निको हुने मलम मिलेको छ। यो मलमले आठ वर्षअघिको पीडा मात्रै होइन, ३२ वर्षअघिदेखिको दीर्घरोगलाई समेत ‘छु मन्तर’ गरिदिएको छ। सन् १९८६ मा महान् खेलाडी म्याराडोनाले विश्वकप उचालेपछिको त्यो उत्साह र खुसीलाई फेरि पनि दोहोर्याउने सपना ३६ वर्षपछि पूरा भएको छ।

सन् १९९० मा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा गरेको थियो। सन् १९९० मा फाइनलमा पराजित भएपछिको त्यो पीडा, म्याराडोनासँगै घुलेको प्रशंसकको आँसु र छिट्टै च्याम्पियन हुने लक्ष्य र सपना पूरा हुन ३२ वर्ष लागेको छ। सन् १९९४ मा पनि म्याराडोना सहभागी भए पनि सो कपमा अर्को व्यथा थपिएको थियो। यसरी सपना अधुरो अपुरो रहँदै गर्दा नयाँ विश्व च्याम्पियन अनि पुरानाले पनि आफ्नो जर्सीमा तारा थप्दै गएको अवस्था आउँदा सपना सघन उपचार कक्षमा भएको लाग्थ्यो, प्रशंसकलाई।

हुन त कुनै बेला फाइनल पुगेका स्विडेन, निदरल्यान्डस्, क्रोएसियाका पनि विश्व च्याम्पियन बन्ने चाहना र सपना छ नै। साथै उरूग्वे, इंगल्यान्डको पनि सो प्रतिष्ठा फेरि आर्जन गर्ने चाहना र सपना छ। त्यही विश्वकप उचाल्ने सपना हो अर्जेन्टिना, म्याराडोना, मेसी अनि प्रशंसक र समर्थकको पनि।

दुःख, पीडा त सबैको बराबर हो कि अर्जेन्टाइन प्रशंसकको पीडा एक तहमाथि हो। हरेक चार वर्षमा पीडा बल्झिने र थप्दै जानुबाहेक केही थिएन। चार वर्षको हाराहारीमा कोमामा रहेर एकाएक ब्युँझिने सपना र फेरि अक्सिजन दिनुपर्ने र सघन कक्ष मै पुग्ने खैलाबैलाको अवस्था थियो।

सन् १९९८ पछिका केही विश्वकपमा अर्जेन्टाइन टोलीका कतिपय खेलाडी त म्याराडोनाजस्तै देखिन्थे पनि तर राम्रा, उत्कृष्ट खेलाडी मानिए तापनि रङ भने जमाउन सकेनन्।

हुन त फुटबल सामूहिक खेल हो तापनि एउटै उत्कृष्ट खेलाडीले बाजी मारेको दृष्टान्त धेरै छन्। यद्यपि खेलाडीखेलाडी बीचमा तालमेल भएन भने जस्तै उत्कृष्ट खेलाडीको पनि जादु चल्दैन। अर्जेन्टाइन टोलीमा म्याराडोनाको अवसानपछि यही टड्कारो समस्या थियो। त्यस बखतदेखि हरेक पोजिसनमा खेल्ने उत्कृष्ट खेलाडीको शीर्ष दस सूचीमा नाम परेकै हुन्थ्यो। तर सामूहिक रूपमा उत्रँदा फितलो प्रदर्शन गर्दै आएको थियो।

सन् २०१० मा म्याराडोना कोच बनेर वर्तमान समय र फुटबलकै महान् खेलाडी म्याराडोना समानको प्रसिद्धि र लोकप्रयता कमाएका मेसी त्यस बेला उदीयमान खेलाडीका रूपमा चर्चा बटुलिरहेका थिए। उनीमाथि सारा प्रशंसकले ठूलो आशा गरेका थिए। त्यो बेला पनि ‘गएल भैँस पानीमे’ भनेजस्तै भएको थियो। यसपछि घाउमा नुन थप्ने काम सन् २०१४, २०१५ र १६ मा भएको थियो।

सबैभन्दा धेरैपटक अमेरिकी कप जितेको रेकर्ड बनाएको अर्जेन्टिनाले सन् १९९३ पछि सो अमेरिकी कप जित्न सकेको थिएन। सन् २०१५ र २०१६ मा दुई पटक फाइनलमा टाइब्रेकरमा पराजित हुनुपरेको थियो। सन् २०१४ को पीडा भुलाउन नसकिरहेको अवस्थामा पीडामाथि पीडा थपिरहेको अवस्था थियो।

सन् २०१४ मा अतिरिक्त समयमा जर्मनीले गरेको निर्णायक गोलबाट अर्जेन्टिना विश्व च्याम्पियन हुनबाट वञ्चित भयो। चौबीस वर्षपछि छाउन लागेको खुसी क गोलले उडाइदिएको थियो। लाग्थ्यो, अब अर्जेन्टिनाले कहिले फाइनल जित्ने छैन। म्याराडोना, मेसी मात्रै किन विश्वका अरू चर्चित खेलाडी या त्यस्तै कुशल खेलाडी अर्जेन्टिना टोलीमा सामेल भए पनि फाइनल पुग्दैन या त फाइनल जित्दैन भन्ने नै लागिरह्यो। तर सन् २०२१ को अमेरिकी कपमा अर्जेन्टिना सानदार प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो।

यति धेरै वर्षपछि अर्जेन्टिनाले पाएको यो सफलतामा प्रशंसक ज्यादै खुसी भए। तर यति लामो समयपछि पाएको खुसी हेर्ने अवसर छोटो मानव जीवनका कतिपय कुर्दाकुर्दै अस्ताए। यसरी अपुरो र अधुरो सपनाको साथमा यो दुनिया छोडेर जानेमध्ये एक थिए, म्याराडोना।

अब तीन ताराको जर्सीमा मेसीसँगै लाउतारो, इन्जो, म्याक्लिस्टर, अल्भारेज, लिजान्द्रो, फोयथजस्ता खेलाडीलाई समर्थन गरिन्छ। के थाहा अब लगातार दुईपटक विश्वकप उचाल्ने मौका अर्जेन्टिना र मेसीले नै पाउने हुन् कि? सपना देख्न पाइन्छ।

विश्व फुटबलका अर्का महान् खेलाडी पेलेको निधनको समाचारले स्तब्ध बनाएको छ। हार्दिक श्रद्धाञ्जली। सायद, पेलेले म्याराडोनालाई उनको सपना पूरा भएको सुनाउनेछन्। अनि भन्नेछन्, तिमी र म बीच सधैँ विवाद रह्यो, अब मेसी हामीभन्दा अघि छन्, मेसी नै एकमात्र ‘गोट’ हुन्।

सन् १९८६ को विश्वकपमा म्याराडोनाको जादु प्रत्यक्ष हेर्ने अवसर दुनियाले पाएको थियो। सन् १९८६ मा म्याराडोनाको प्रत्यक्ष जादु हेरेर नै उनको प्रशंसक र अर्जेन्टिना फुटबल टोलीको समर्थक भएका हौँ हामी। जसरी अहिलेका भुरा फ्रान्सका समर्थक छन्, अनि पुराना भुरा ब्राजिल र पेले अनि जर्मनीका खेलका भिडियो हेरेर समर्थक बने। यस्तै, सिरी ए र प्रिमियर लिगले इटाली र इङल्यान्डका प्रशंसक पनि बढाएको थियो।

यद्यपि, यसपटक अर्जेन्टिना च्याम्पियन भएको हेर्ने सपना अर्जेन्टाइन, म्याराडोनाका प्रशंसक, अर्जेन्टिनाको फुटबल समर्थक र मेसीसहित विश्व विख्यात अर्जेन्टाइन खेलाडी र प्रशंसकको मात्र थिएन। अन्तर्राष्ट्रिय खेलाडीले समेत खुलेर अर्जेन्टिना च्याम्पियन भएको हेर्न चाहेका थिए। साथै नेपालजस्तो विश्वकप छनोटमा मात्र सहभागी हुने टोली नभई विश्वकप फाइनल्समा सहभागी हुने विभिन्न देशहरूले समेत मेसीको जादुमयी खेलका कारण मेसीले विश्वकप उचालेका हेर्न चाहेका थिए। त्यही भएर नै मेसीले विश्वकप उचाल्ने सपना आफ्नो मात्र नभई संसारभरका प्रशंसकको पनि भएकोमा खुसी व्यक्त गर्दै सो प्राप्तिका लागि दिलोज्यान दिएर खेल्न प्रेरणा मिलेको व्यक्त गरेका थिए।

सन् १९८६ को त्यो हर्षोल्लासको वातावरण फर्काउन ३६ वर्ष कुर्नुपरेको छ। यस अवधिमा नयाँ देश विश्व च्याम्पियन बने भने पुराना देशले पनि यस्तो अवसर पाए। सही हो, सपना बुन्नुपर्छ, त्याग्नु हुँदैन भन्ने चरितार्थ भएको छ। तापनि म्याराडोना, अर्जेन्टिना र मेसीको प्रशंसक र समर्थक बन्दा धेरै असह्य हुँदोरैछ। तर केरु समर्थन नगर्ने तरु सबलै उठ्दैन।

अब तीन ताराको जर्सीमा मेसीसँगै लाउतारो, इन्जो, म्याक्लिस्टर, अल्भारेज, लिजान्द्रो, फोयथजस्ता खेलाडीलाई समर्थन गरिन्छ। के थाहा अब लगातार दुईपटक विश्वकप उचाल्ने मौका अर्जेन्टिना र मेसीले नै पाउने हुन् कि? सपना देख्न पाइन्छ। फेरि अर्को सपना!!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =