मेस्सीसँगै रामोसले पनि पीएसजी छाड्ने

हिमाल प्रेस २० जेठ २०८० ९:५६
6
SHARES
मेस्सीसँगै रामोसले पनि पीएसजी छाड्ने

काठमाडौँ- सर्जियो रामोसले पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन्। पीएसजीले शुक्रबार राति रियल म्याड्रिडका पूर्वकप्तानको बर्हिगमनबारे जानकारी दिएको हो। गत बिहीबार मात्रै लियोनल मेस्सीले फ्रेन्च च्याम्पियनबाट बिदा लिने बताइएको थियो।

रामोस १६ वर्षे रियल बसाइ अन्त्य गरेर जुलाई, २०२१ मा पीएसजीसँग आबद्ध भएका थिए। ‘दुई वर्ष हाम्रो क्लबबाट खेलेकोमा सर्जियो रामोसप्रति आाभारी छौँ। नेतृत्वदायी भूमिका, टिमका अरु खेलाडीसँगको व्यवहार र व्यावसायिकतासँगै अनुभवका कारण रामोस साँच्चै लेजेन्ड खेलाडी हुन्। उनी पेरिस आउनु हाम्रा लागि गर्वको कुरा हो,’ पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फ्रेन्च लिग वानमा आफ्नो अन्तिम खेल खेल्न २४ घण्टा बाँकी रहँदा पीएसजीले रामोसले क्लब छाड्न लागेको बताएको हो। रामोस पनि मेस्सी जस्तै फ्रि एजेन्ट बन्न लागेका हुन्। ३७ वर्षीय रक्षकलाई कुनै पनि क्लबले स्थान्तरण रकम नतिरी अनुबन्ध गर्न पाउनेछन्।

‘भोलि मेरा लागि विशेष दिन हुनेछ। किनभने मैले आफ्नो करियरको अर्को एक खुड्किलो पार गरेको छु। पीएसजीसँग बिदा लिनेछु। मलाई थाहा छैन, कति ठाउँमा म घरको जस्तो वातावर महसुस गर्नसक्छु। तर पीएसजी चाहिँ मेरो लागि घर नै बन्यो,’ रामोसले भनेका छन्।

रियलमा पाँच ला लिगा, चार च्याम्पियन्स लिगसहित कुल २२ उपाधि जितेर पीएसजी पुगेका रामोस पेरिसमा दुई पटक फ्रेन्च लिग जित्न सफल भए। गत सिजन अधिकांश खेल चोटको कारण गुमाएका रोमोसले यो सिजन भने लिगमा ३२ र च्याम्पियन्स लिगमा आठ खेल खेल्न पाए। उनको यही जुन ३० मा पीएसजीसँगको सम्झौता सकिँदैछ।

सन् २०१० मा स्पेनसँग विश्वकप जितेका रामोस मेस्सीसँगै पीएसजी पुगेका थिए। यी दुुईको अनुभव पीएसजीलाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण साबित हुने अपेक्षा गरिएको थियो। तर पीएसजी लगातार दोस्रो सिजन अन्तिम १६ बाटै बाहिरियो।

रामोसको अबको यात्रा कता मोडिन्छ, टुंगो छैन। मेस्सी भने अमेरिकी क्लब इन्टर मायामी र साउदी अरबको सर्वाधिक सफल क्लब अल हिलालसँग जोडिएका छन्। उनी बार्सिलोना फर्कने अनुमान पनि भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =