मेस्सी र एम्बाप्पेलाई बाँकी खेलाडीले भेट्न नसकेको विश्वकप

हिमाल प्रेस ४ पुष २०७९ २२:०४
24
SHARES
मेस्सी र एम्बाप्पेलाई बाँकी खेलाडीले भेट्न नसकेको विश्वकप

काठमाडौँ- यसपालिको विश्वकपमा लियोनल मेस्सी र किलियान एम्बाप्पेले बाँकी खेलाडीको भन्दा उम्दा प्रदर्शन गरे। मेस्सीले त उपाधि नै जिते। त्यो पनि एम्बाप्पेसम्मिलित फ्रान्सलाई उपाधि भिडन्तमा पाखा लगाएर।

यी दुईको नाममा विभिन्न कीर्तिमान पनि दर्ज भए। जस्तै, मेस्सी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बने। अनि एम्बाप्पे चाहिँ सन् १९६६ पछि विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी दरिए। विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी इंग्ल्यान्डका जियोफ हस्‍रट हुन्।

विश्वकपमा मेस्सीले गरेको गोलको संख्या १३ पुगेको छ। यसपालि मात्र उनले सात गोल गर्न भ्याए। कतारी भूमिमा गरेका गोल जोड्दा उनी अर्जेन्टिनाको जर्सीमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। समग्र सूचीमा भने उनी चौथो स्थानमा छन्।

यही मंगलबार २४ वर्ष पुग्न लागेका एम्बाप्पेसँग मेस्सीलाई विश्वकप गोल संख्यामा उछिन्ने पर्याप्त समय छ। अहिले नै उनको गोल संख्या १२ पुगिसकेको छ। कतारमा उनले आठ गोल गरेका थिए।

नम्बर १० जर्सी लगाउने यी दुई खेलाडीले विश्वकपमा कस्तो प्रदर्शन गरे भनेर उनीहरुले पाएका पुरस्कार हेरे पुग्छ। मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। उनले गोल्डन बल पाए। उता एम्बाप्पेले गोल्डन बुट जिते। गोल्डन बुटको दौडमा मेस्सी दोस्रो स्थानमा रहे। एम्बाप्पेले चाहिँ सिल्भर बल दिइयो।

सन् १९७० को विश्वकपमा गर्ड मुलर र जायरजिन्होले सात–सात गोल गरेका थिए। यी दुईपछि एउटै विश्वकपमा सात–सात वा बढी गोल गर्ने खेलाडी एम्बाप्पे र मेस्सी बने। सर्वाधिक गोल गर्ने सूचीमा रहेका ओेलिभर जिरुड र जुलियान अल्भारेजले चार–चार गोल गरे।

विश्वकपमा सर्वाधिक पटक विपक्षीको पोस्टमा प्रहार गर्ने मामलामा मेस्सी अगाडि रहे। उनी एन्टोइन ग्रिजमन, ब्रुनो फर्नान्डेज, ह्यारी केन र इभान पेरिसिकसँगै सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा रहे। यी दुवै पक्षमा एम्बाप्पे मेस्सीभन्दा पछि परे।

सर्वाधिक पटक बल अगाडि बढाउने, विपक्षीको क्षेत्रमा बल रिसिभ गर्ने र वान भर्सेस वानमा विपक्षी खेलाडीलाई छक्याउने मामलामा भने एम्बाप्पेले मेस्सीलाई पछाडि छाडे।

आआफ्ना टिमका मुख्य खेलाडी रहेका मेस्सी र एम्बाप्पेको प्रदर्शन फाइनलमा पनि हेर्नलायकको रह्यो। मेस्सीले पहिलो हाफमा गोल गर्दै आफ्नो टिमलाई अघि बढाएका थिए। अर्जेन्टिनाले गरेको दोस्रो गोलको मुभमा पनि उनी संलग्न रहे। तर एम्बाप्पेले दोस्रो हाफको उत्तराद्र्धमा फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले ८० र ८१ औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि आतिरिक्त समयमा फ्रान्सका लागि फेरि एकपटक बराबरी गोल गरे। यही गोलसँगै उनले ह्याट्रिक गरेका थिए।

त्यसअघि मेस्सीकै गोलका कारण अर्जेन्टिनाले आतिरिक्त समयमा अग्रता पुनःस्थापित गरेको थियो। तर एम्बाप्पेको तेस्रो गोलका कारण खेल पेनाल्टीमा धकेलियो। जहाँ मेस्सी र एम्बाप्पे आआफ्नो टिमको पहिलो पेनाल्टी प्रहारकर्ता बने। र दुवै गोल गर्न सफल भए। तर फ्रान्सका किंग्स्ले कोम्यान र आउरिलियन टुचमनी पेनाल्टीमा असफल भएपछि फ्रान्स लगातार दोस्रो पटक विश्वकप बन्नबाट चुक्यो।

प्रकाशित: ४ पुष २०७९ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =