कीर्तिमानको संघारमा पीएसजी

हिमाल प्रेस ९ वैशाख २०८० ९:१५
6
SHARES
कीर्तिमानको संघारमा पीएसजी

काठमाडौँ- किलियान एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शुक्रबार राति एन्गर्समाथि २-१ को जित दर्ता गरेको छ। अंक तालिकाको पुछारमा रहेको एन्गर्समाथिको यो जितले पीएसजीलाई फ्रान्सेली लिग वान उपाधिको थप नजिक पुर्‍याएको छ।

फ्रान्सका कप्तान एम्बाप्पेले नवौँ मिनेटमा गोलको खाता खोलेका थिए। एन्गर्सको मैदानमा एम्बाप्पेले २६ औँ मिनेटमा अग्रता दोब्बर बनाए। एम्बाप्पेका लागि जारी सिजनको यो २२ औँ लिग गोल थियो। फराकिलो अन्तरको जित हात पार्ने अपेक्षा गरिए पनि पीएसजीले त्यसपछि गोल थप्न सकेन। बरु ८७ औँ मिनेटमा घरेलु टिमका लागि सादा थिउबले गोल फर्काए।

लिग वानमा ३२ खेल खेलेको पीएसजी ७५ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानको मार्सेले एक खेल कम खेल्दै ६४ अंक जम्मा गरेको छ। तेस्रो र चौथो स्थानका लेन्स र मोनाकोले क्रमशः ६३ र ६१ अंक बटुलेका छन्।

लिगमा ६ खेल खेल्न बाँकी छँदा शीर्षस्थानमा ११ अंकको अग्रता कायम गरेको पीएसजी उपाधिनजिक त पुगेको छ नै, फ्रान्सेली फुटबलमा कीर्तिमान रच्ने संघारमा पनि छ। त्यो हो, सर्वाधिक पटक लिग विजेता। अहिलेसम्म पीएसजीसँगै मार्से र सेन्ट एटिएनले १०–१० पटक लिग जितेका छन्।

कतारी स्वामित्वमा गएसँगै पीएसजीले नौ पटक लिग वान जितेको छ। सन् २०१२ देखि २०२२ सम्म पीएसजी आठ पटक च्याम्पियन बन्न सक्यो। उपाधि रक्षातर्फ लम्किरहेको भए पनि पीएसजी प्रशिक्षक क्रिस्टोफ गाल्टियर आफ्ना टिमको प्रदर्शनमा पूर्ण रुपमा सन्तुष्ट छैनन्। उसो त उनी आफैँ पनि दबाबमा छन्।

‘पहिलो हाफमा हाम्रो प्रदर्शन ठिक थियो। गोल गर्न हामी प्रतिबद्ध देखियौँ। तर दोस्रो हाफमा स्थिति ठ्याक्कै उल्टो देखियो। हामीले मेहनत नै गरेनौँ,’ सन् २०२०/२१ सिजनमा लिललाई फ्रान्सेली च्याम्पियन बनाएका गाल्टियरले भने।

दुई गोल गरेपछि आफ्ना खेलाडीले लय बिर्सिएकाे गाल्टियरको भनाइ थियो। ‘गोल थप्नतिर खेलाडी अग्रसर भएनन्। यसले प्रशिक्षकका रुपमा निराश बनायो। हो, हामी शीर्षस्थानमा छौँ। तर पीएसजी जत्तिको टिमले एउटा हाफमा मात्र गतिलो खेल्ने होइन,’ गाल्टियरले आक्रोश पोखे।

दुई सिजनअघि लिलले पीएसजीलाई एक अंकले पछि पार्दै लिग जितेको थियो। कम अनुभवी खेलाडीको भएको लिललाई च्याम्पियन बनाएपछि गाल्टियरको स्वाभाविक रुपमा उदाए। फलतः युरोपका ठूला–ठूला क्लबको नजरमा उनी परे। तर मौका भने पीएसजीले दियो। माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि पीएसजीले गाल्टियरलाई प्रशिक्षक बनाएको हो।

गाल्टियरको प्रशिक्षणमा पीएसजीले नयाँ सिजनको सुरुवात मजबुत ढंगमा गरेको थियो। तर जब सन् २०२३ लाग्यो, तब पीएसजीको प्रदर्शनमा ह्रास आयो। जनवरीमा खेलेका चार खेलमध्ये एकमा मात्र विजयी भएको थियो, पीएसजी।

लिगमा अप्रत्याशित हार, च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखसँगको पराजय र घरेलु कपबाट समेत बाहिरिँदा पीएसजी समर्थक गाल्टिययरको आलोचनमा उत्रिएका थिए। लिगमा पीएसजी सम्हालिँदै गर्दा गाल्टियर एकपल्ट फेरि अप्ठ्यारोमा परे। यसको कारण भने, उनी आफैँ थिए।

अप्रिल ८ मा निससँगको खेल दौरान गाल्टियरले निस समर्थकलक्षित रंगभेदी व्यवहार गरेको आरोप लागेको छ। निसका पूर्वनिर्देशक युलियान फौरनियर र दुई फ्रान्सेली पत्रकारले गाल्टियरमाथि यस्तो आरोप लगाएका हुन्। गाल्टियरले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। आरोप लगाउनेविरुद्ध अदालत जाने पनि गाल्टियरको भनाइ छ।

‘म अहिले टिमको प्रदर्शनमा केन्द्रित छु। हालका लागि पीएसजीलाई लिग जिताउनु मेरो मुख्य लक्ष्य हो। यसकारण मैदानबाहिरका कुरामा ध्यान दिइरहेको छैन,’ गाल्टियरले भनेका छन्।

एन्गर्सविरुद्ध गोल थप्न नसके पनि पीएसजी अप्ठ्यारोमा भने परेन। सुरुवातमै एम्बाप्पेले गोल गरेपछि पीएसजीले खेललाई आफ्नो नियन्त्रणमा राख्न सक्यो। जुवान बेर्नाटको क्रसमा पहिलो गोल गरेका एम्बाप्पेलाई दोस्रो गोलका लागि लियोनल मेस्सीले सहयोग गरेका थिए।

एम्बाप्पेले यो सिजन सबैखाले प्रतियोगितामा गरी कुल ३४ गोल गरिसकेका छन्। उनी अब लिग वानको उच्च गोलकर्ताको सूचीको चौथो स्थानमा उक्लिएका छन्। मोनाको र पीएसजीबाट उनले गरेको गोल संख्या १५७ पुगेको छ। यो सूचीको पहिलो स्थानमा अजेन्टिनाका डेलियो ओन्निस छन्। उनले ४३१ खेलमा २८९ गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =