संन्यास नलिने मनस्थितिमा कप्तान मोड्रिच, नजर अब नेसन्स लिगमा

हिमाल प्रेस ३ पुष २०७९ ९:१३
12
SHARES
संन्यास नलिने मनस्थितिमा कप्तान मोड्रिच, नजर अब नेसन्स लिगमा

काठमाडौँ- क्रोएसियाका कप्तान लुका मोड्रिचले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यास नलिने बताएका छन्। शनिबार क्रोएसियालाई विश्वकपको तेस्रो स्थान प्राप्त गर्न सघाएका मोड्रिचकाे नजर युईएफए नेसन्स लिगमाथि छ।

क्रोएसियाले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा मोरोक्कोमाथि २–१ को जित हासिल गरेको हो। चार वर्षअघि विश्वकपको फाइनलमा पुगेको क्रोएसिया यसपालि भने सेमिफाइनलमै सीमित भयो। क्रोएसियाले अब आउँदो जुनमा फेरि एकपटक उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

क्रोएसियाले नेसन्स लिग २०२३ को सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। जहाँ उसले आयोजक नेदरल्यान्ड्स, इटाली र स्पेनमध्ये एक टिमको सामना गर्नुपर्नेछ।

३७ वर्षका मोड्रिच मोरोक्कोविरुद्ध मैदान उत्रिएसँगै क्रोएसियाका लागि उनले खेलेको खेलको संख्या एक सय ६२ पुगेको छ। क्रोएसियाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका मोड्रिचले विश्वकपपछि संन्यास लिने अनुमान थियो। तर उनले अझ एक वर्ष खेल्ने बताएका हुन्।

‘नेसन्स लिग खेल्ने योजना छ। नेसन्स लिगअघि नै संन्यास लिनु सही निर्णय हुँदैन। नेसन्स लिगपछि के हुन्छ, त्यसबारे अहिल्यै भन्न सक्दिनँ,’ मोड्रिचले भनेका छन्।

यसपालिको सेमिफाइनलमा क्रोएसिया लियोनल मेस्सीसम्मिलित अर्जेन्टिनासँग पराजित भएको थियो। यो पराजयका बाबजुद क्रोएसिया अब विश्व फुटलबको बलिया टिमको सूचीमा दर्ज भएको मोड्रिचको भनाइ छ।

‘हामी फाइनलमा पुग्न चाहन्थ्यौँ। उपाधि लिएर घर फर्कने इच्छा थियो। हामी आफ्नो लक्ष्यमा खासै टाढा पनि थिएनौँ। तर रित्तो हात लिएर फर्कन नपर्दा खुसी छाैँ,’ मोड्रिचले क्रोएसियाली सञ्चारमाध्यम एचआरटीसँग भनेका छन्, ‘क्रोएसिया प्रत्येक २० वर्षमा उदाउने टिम होइन। बरु विश्व फुटबलमा रहिरहने शक्ति हो। र यो कुरा हामीले प्रमाणित गरिसकेका छौँ।’

मोड्रिचले अन्तर्राष्ट्रिय करियरलाई निरन्तरता दिने इच्छा व्यक्त गरिरहँदा क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने आफ्ना टिमका सिनियर खेलाडीसँग अब धेरै समय बाँकी नरहेको बताएका छन्।

‘यो क्रोएसियाली टिमले एउटा चक्र पूरा गरेको छ। कतिपय खेलाडीका लागि यो अन्तिम विश्वकप हो,’ डालिचले भने, ‘अनुभवी खेलाडी बाहिरिए पनि टिम सम्हाल्न प्रतिभावान् युवा खेलाडी छन्। हामीलाई जोसिप स्टानिसिच, मिसालाभ ओर्सिच लगायतमा विश्वास छ। यसपालि बेन्चमा रहे पनि भविष्यमा टिम अघि बढाउने उनीहरुले नै हो।’

क्रोएसिया तेस्रो भएपछि राजधानी जाग्रेब र अन्य साना ठूला सहरमा आतिसबाजी गरिएको छ। सन् १९९१ मा स्वतन्त्र देश बनेको क्रोएसियाको जनसंख्या ४० लाखभन्दा कम छ। यति सानो जनसंख्याले यो देशलाई विश्वकपमा सफल हुनबाट रोक्न सकेको छैन।

क्रोएसिया विश्वकप १९९८ मा तेस्रो बनेको थियो। चार वर्षअघि त ऊ फाइनल नै पुग्यो। अनि यसपालि फेरि तेस्रो। योसँगै क्रोएसियाले विश्वकपमा तीन पदक हात पारिसकेको छ।

विश्वकपमा क्रोएसियालाई तेस्राे स्थान दिलाएपछि डालिचले मिरोस्लाभ सिरो ब्लाजेभिचलाई सम्झिए। ‘बोस यो सफलता तपाईंमा समर्पित गर्न चाहन्छु। मैले आफ्नो प्रशिक्षण करियरमा पाँचवटै पदक जिते पनि तपाईंको हैसियतमा पुग्न सक्दिनँ। तपाईं प्रशिक्षकहरुको प्रशिक्षक हो,’ डालिचले ८७ वर्षीय ब्लाजेभिचलाई सम्झिँदै भने। ब्लाजेभिच विश्वकपमा क्रोएसियालाई पहिलो पटक तेस्रो बनाउने प्रशिक्षक हुन्।

आउँदो शनिबार कतारबाट फर्कने क्रोएसियाली टिमलाई भव्य स्वागत गरिनेछ। जाग्रेबको मुख्य चोकमा हुने समारोहमा हजारौँ समर्थक सहभागी हुो अपेक्षा गरिएको छ। सन् २०१८ मा करिब ५५ हजार क्रोएसियाली टिम परेडमा सहभागी भएका थिए।

स्वतन्त्रता प्राप्त गरेपछि जाग्रेबले दोस्रो पटक त्यत्तिको भिड देखेको थियो। सन् १९९४ मा पोप जोन पउल दोस्रोले जाग्रेबको भ्रमण गर्दा हजारौँ मानिस भेला भएका थिए।

प्रकाशित: ३ पुष २०७९ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =