पोखराको बाराही मन्दिर कोल्टिएपछि जोखिम बढ्यो

हिमाल प्रेस २५ मंसिर २०७९ १५:११
12
SHARES
पोखराको बाराही मन्दिर कोल्टिएपछि जोखिम बढ्यो

पोखरा– पोखारको बाराही भगवतीको मन्दिरको जग कोल्टिएपछि मन्दिर लढ्ने सम्भावना बढेको छ। मन्दिर कोल्टिएपछि यहाँ आउने भक्तजन तथा पर्यटकप्रति जोखिम बढेको छ।

०७२ सालमा आएको महाभूकम्पले क्षति पुर्‍याएको सो मन्दिर पछिल्लो समय कोल्टिँदै गएको हो। पूजाआजा र भ्रमणका कारण स्वदेशी र विदेशी भक्तजनको दैनिक रूपमा भीड लाग्ने प्रसिद्ध मानिने यस मन्दिर उक्त भूकम्पका कारण ३ इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिए।

फेवातालको बीच भागमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ। जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको उनले जानकारी दिए।

भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ।

०१७ सालमा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए। मन्दिर पुनर्निर्माण गर्न १ करोड ४० लाख रुपैयाँ लाग्ने अध्यक्ष कुँवरले जानकारी दिए।

कालीगढ मगाएर वर्तमान प्यागोडा शैलीमै मन्दिर पुनर्निर्माण गरिने उनले बताए। मन्दिर पुनर्निर्माण गर्न विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने कुँवरको भनाइ छ।

मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले १ करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ।

मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग संकलन गरिने समितिले जनाएको छ।

सबै धर्वावलम्बीहरूले यस मन्दिरमा प्रवेश पाउँछन्। पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने सूचीमा आउँछ। माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ। कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ।

प्रकाशित: २५ मंसिर २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =