बघिनी फकाउन यतिसम्म गर्छ बाघले

हिमाल प्रेस ८ पुष २०७९ १६:४७
452
SHARES
बघिनी फकाउन यतिसम्म गर्छ बाघले फाइल तस्बिर- फ्लिकर।

पोखरा– बाघले बघिनी पट्याउन अनेक उपाय गर्छ । मान्छेमा युवा-युवतीबीच हुने प्रेम-वासनाजस्तै बाघ बघिनीबीच पनि प्रेमिल क्रियाकलाप हुने गर्छ। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको दशौं संस्करणको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै जीव जनावर अध्येता ददि सापकोटाले उनीहरूका विविध आनीबानीको प्रसंग निकाले।

जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ। त्यो बासस्थान वरपर हिँडडुल गर्दाका प्रशस्तै पाइला भेटिन्छन्। मान्छेलाई त्यो पाइलामात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटाले सुनाए। ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्गमिटर कभर गरेर राख्छ मेरो घर हो कोही नआउनु भन्छ। उसले मेरो घर होभन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ। अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ।’

पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए। उनका अनुसार एउटा बाघको पाइलाबाट अरू बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन्। ‘हट्टाकट्टा, बलियो, अरूलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ। जति स्वस्थ बलियो बाघसँग सहबास गर्‍यो उसका बच्चा त्यति स्वस्थ हुन्छन्। कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए।

बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ। भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सनाए।

‘हात्ती घरपालुवा हुन सक्दैन’

निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन्। ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन्। तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ? सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन्। जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने उनको भनाइ छ।

‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ। कुखुरा पाल्दा छोरा, नाती भएर १७ औं पटकमा घरपालुवा हुन्छ। त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौंथो पुस्ताका हात्ती छन्। जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ? मान्छे अन्टार्टिकामा राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ? छैन।’

सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ। मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ। ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन। उसले घरको बानी नै परिवर्तन हुनुपर्‍यो। नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस्। अपवादको रूपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन। ऊ जंगलमै रमाउन चाहन्छ। कुनै पनि हात्ती घरपालुवा भएका छैनन्। त्यो हुन पनि सम्भव छैन।’

हात्तीबाट कसरी जोगिने?

सापकोटाकाअनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ। उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन्।

१- हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ।

२- हात्ती हिंड्ने बाटोमा रक्सी नपार्ने। ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ। मान्छेजस्तै ऊ मैमत्त हुन्छ। त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए।

३- हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनीकरण गर्न सकिने सापकोटाले बताए। उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ।

४- प्रायः बासस्थान सर्ने बेला हात्तीले बालीहरू खाने सापकोटाले बताए। ‘हात्ती सधैं हिंड्दैन। बसाइँ सर्छन्। बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ। गर्भणी हात्तीले केराको पात खाँदैनन्। गर्भ तुहिन्छ। हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने।

अमेरिकी र नेपाली भंगेरामा के फरक?

पछिल्ला वर्षमा नेपालमा भंगेराको संख्या घटेको सुनिन्छ। भंगेरा अनुसन्धाता अनुज घिमिरे भंगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन्। तर, उनी भंगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन्। सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए।

‘भंगेराको विषयमा अरू प्रजातिमा जस्तो अध्ययन नै भएको छैन। कतिले भन्नुहुन्छ भंगेरा कम देखिरहेका छौं। तर, यकिन साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ। बेलायतसहित केही देशमा भंगेराको संख्या घटेको देखाउँछ।’

घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गरेका छन्। उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे- अमेरिकी र नेपाली भंगेरामा के फरक छ? आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको घिमिरेले बताए।

घिमिरेका अनुसार युरोपतिर भंगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ। ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ। अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उपप्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ। तर, प्रजातिमा फरक हुँदैन। उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन।’

नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ।

फेस्टिवलमा विचार राख्दै सापकोटा र घिमिरे साथमा भट्टराई। तस्बिर- हिमाल प्रेस
प्रकाशित: ८ पुष २०७९ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =