लुम्बिनी- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दाको आरोपमा सन्दीप रायमाझी पक्राउ परेका छन्। पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका हुन्। रूपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले सन्दीपलाई पक्राउ गरिएको जानकारी दिए। सन्दीपलाई काठमाडौँबाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। उनलाई बिहीबार काठमाडौँ नै पठाइने प्रहरी स्रोतले जानकारी दियो।
प्रहरीले पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार पक्राउ पुर्जी जारी गरेको थियो। नेपालीलार्य भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग सन्दीपको संलग्न रहेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सन्दीपका पिता टोपबहादुरमाथि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितको गिरोहलाई साथ दिएको दाबीसहित पक्राउ पुर्जी जारी भएको छ। सन्दीपका नाममा काटिएको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ।
सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसरले उनलाई बुधबार पक्राउ गरेको हो। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।
पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल सोही प्रकरणमा पक्राउ परिसकेका छन्। उनीहरूकै बयानका आधारमा राई र पाण्डे प्रक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका सबैविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान जारी रहेको जनाएको छ। इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न