गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न

हिमाल प्रेस २० वैशाख २०८० २०:१६
1.0k
SHARES
गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जस्तोसुकै अपराधमा मुछिएका  दोषीहरूलाई पनि उन्मुक्ति नदिने बताएका छन्। कसैको धम्की र प्रभावबाट कत्ति पनि विचलित नभई काम गर्ने उनले बताए। भुटानी शरणार्थीको नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रकरण मात्र होइन मिटरब्याजी र मानव तस्करी संयन्त्रलाई कारबाहीमा ल्याउने  प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।

‘जस्तो सुकै ‘हाइ प्रोफाइल’ भए पनि गलत गर्नेलाई छोड्ने कुनै आधार छैन। म पनि गलत नगर्ने र गलत गरेकालाई उम्कन नदिने गरी काम अघि बढाएको छु। म सक्दो मुहान सफा गर्नेछु,’ मन्त्री श्रेष्ठले हिमाल प्रेससँगको कुराकानीमा भने, ‘बाहिर चिटिक्क परेर हिँड्ने भित्र नचाहिँदा काम गर्नेहरूको जमात बढ्दै जाँदा समस्या आएको हो।’

उनले मानिसमा जसरी पनि धेरै पैसा कमाउने महत्त्वाकांक्षा बढ्दा भ्रष्टाचार चुलिएको बताए। ‘सबैलाई छिटो धनी हुनुपरेको छ। कसैमा पनि अनुशासनको हेक्का रहेन। मैले प्रहरी प्रशासनसँग पनि कुरा गरिरहेको छु,’ उनले भने, ‘भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैन। सबैलाई कारबाही हुनेछ।  कसैले फोन-म्यासेज गरेर धम्क्यायो, प्रभाव देखायो भने तत्काल मलाई फोन गरेर जानकारी दिन सबैलाई आग्रह गर्दछु।’

दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न प्रहरीलाई निर्देशन दिएको जानकारी श्रेष्ठले दिएका छन्। कोही पनि नउम्किउन् भनेर निर्देशन दिएको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘निर्दोष कोही पनि नमुछिऊन् र उनीहरूको प्रतिष्ठामा आँच आउने काम पनि नहोस्। निर्दोषलाई दु:ख दिने काम हुने छैन। तर दोषीलाई छोड्ने वाला छैन।’

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थीको प्रकरणमात्र नभई अन्य मानव तस्करको जालो पनि आफूले फुस्काउने बताए। उनले भने, ‘कुनै शक्तिको दबाब, माथिको दबाब वा छिमेकको प्रभाव केहीले काम गर्ने वाला छैन। दोषी उम्कन सक्ने छैन।’

कुनै बेला राम्रा प्रशासक भनेर चिनिएकाहरू निच कार्यमा लागेको भन्दै उनले कर्मचारीतन्त्रमा सुधारको खाँचो देखिएको बताए। यस विषयमा राजनीतिज्ञ चनाखो हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। राजनीतिज्ञलाई ब्युरोक्रेसीले घुमाउने गरेको विषयलाई सीधा ढंगले नभने पनि उनले ब्युरोक्रेसीको एक समूह काम नगर्ने र नचाहिँदा काम गरेर कमाउने धन्दामा लागेको आरोप लगाए। उनले भने, ‘त्यसतर्फ सबै राजनीतिज्ञले आँखा लगाएर सुधारको पाटोमा ल्याउनुपर्नेछ।’

उनले गृहमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेकै दिन सुराकीका नाममा लिने रकम रद्द गराएका थिए। उनले राज्यका अन्य संयन्त्रमार्फत सूचना लिन पनि सकिने बताएका छन्।

नक्कली शरणार्थी प्रकरण अनुसन्धानका लागि बुधबार प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। त्यहीँबाट लहरो तानिँदै जाने पनि उनले बताए। जिल्ला अदालत काठमाडौँले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। रायमाझीका छोरा सन्दीप पनि शरणार्थी प्रकरणमा पक्राउ परेका छन्।

त्यस्तै पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरिसकेको छ।

एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

प्रकाशित: २० वैशाख २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =