सांसद रायमाझीलाई पक्राउ पुर्जी : यस्तो छ निलम्बन प्रक्रिया

हिमाल प्रेस २० वैशाख २०८० १५:१९
246
SHARES
सांसद रायमाझीलाई पक्राउ पुर्जी : यस्तो छ निलम्बन प्रक्रिया टोपबहादुर रायमाझी

काठमाडौँ- पक्राउ पुर्जी जारी भएपछि सांसद टोपबहादुर रायमाझीको संसद् पद निलम्बनमा पर्ने भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दाको आरोपमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो। एमाले सचिवसमेत रहेका रायमाझी पूर्व उपप्रधानमन्त्री हुन्।

नेपालको संविधानअनुसार अब उनको सांसद पद निलम्बन प्रक्रिया अघि बढ्नेछ। तर त्यसअघि उनलाई प्रहरीले पक्राउ गर्नुपर्नेछ। प्रहरीले पक्राउ परेको जानकारी सभामुखलाई गराएपछि निलम्बन प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

संविधानको धारा १०३ (६) मा ‘कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’ प्रतिनिधिसभा नियमावलीको २४८ मा १ मा कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्नेछ।

बैठक नचलेको अवस्थामा भने सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछन्। अहिले संघीय संसद्को अधिवेशन नभएकाले पक्राउ परेको जानकारी पाएपछि सभामुखले निलम्बन भएको सूचना टाँस गरी गर्न सक्नेछन्।

यसैगरी फरार रहेमा पनि सांसद रायमाझी निलम्बनमा पर्नेछन्। तर यसका लागि प्रहरीले फरार रहेको पत्र सभामुखलाई दिनुपर्नेछ।

सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसरले उनलाई बुधबार पक्राउ गरेको हो। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।

पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।  यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल सोही प्रकरणमा पक्राउ परिसकेका छन्। उनीहरूकै बयानका आधारमा  राई र पाण्डे प्रक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका सबैविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान जारी रहेको जनाएको छ।

इन्द्रजित राईका छोरा निरज र एमाले नेता रायमाझीका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =